श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपालको रोजगार परिदृश्यको विशेष आवश्यकतालाई सम्बोधन गर्न रणनीतिकरूपमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्न लागेको छ।
नागरिकको श्रम यात्रा र रोजगारका बहुआयामिक आवश्यकतालाई एकद्वार प्रणालीद्वारा सम्बोधन गर्ने उद्देश्यले सातै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्न लागिएको हो।
मधेस प्रदेशमा यही जेठ १९ र २० गते हुने मेलाको बारेमा जानकारी दिने उद्देश्यले बिहीवार जनकपुरधाम उद्योग वाणिज्य सङ्घमा आयोजित पत्रकार सम्मेलनमा मधेस प्रदेशमा मेलाको आयोजना श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, श्रम तथा यातायात मन्त्रालय मधेस प्रदेश, जनकपुरधाम उपमहानगरपालिका र सहआयोजक नेपाल उद्योग परिसङ्घ रहेको जानकारी दिइएको थियो।
पत्रकार सम्मेलनमा श्रम मन्त्रालयका उपसचिव एवं मेलाका मधेस प्रदेश संयोजक दीपेन्द्र पौडेलले मेलाले श्रमिक र रोजगारदातालाई जोड्ने बताए। उनले मेलाले रोजगार खोज्नेहरू, रोजगारदाताहरू र विभिन्न क्षेत्रका सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याएर नेटवर्किङ र रोजगारको लागि अनुकूल वातावरण सिर्जना गर्ने बताए।
“मेलाले नेपालको रोजगार परिदृश्यमा सकारात्मक परिवर्तन ल्याउनेछ। यसले राष्ट्रलाई थप समृद्धि र सफलतातर्फ लैजान लचिलो र समावेशी जनशक्ति निर्माण गर्न सहज गर्छ,” उनले भने।
मेलामा बेरोजगार युवाहरूको ज्ञान, सीप, क्षमताका आधारमा मागहरू सङ्कलन गरिने पनि उनले उल्लेख गरे।
पत्रकार सम्मेलनमा सबै सरोकारवालालाई सक्रिय सहभागिताका लागि आग्रह गरिएको थियो। श्रम तथा यातायात कार्यालय जनकपुरधामका प्रमुख धर्मराज रोकायाले यस मेलाले रोजगारदाता र श्रमिकहरूमा उत्साह थप्ने बताए।
मेलामा ३५ वटा स्टल रहने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो। ३० भन्दा बढी स्टल बुकिङ भइसकेको जानकारी गराइएको थियो। मेला भव्य र सफल बनाउन सबै सरोकारवालालाई पत्रकार सम्मेलनमा आह्वान गरिएको थियो।
नेपाल उद्योग परिसङ्घका मधेस प्रदेश संयोजक प्रमोद साहले मेलाको उद्देश्य देशमैं रोजगार उपलब्ध गराउने रहेको बताए। “हाम्रा युवाहरू अन्तर्राष्ट्रिय विमानस्थलमा लाइन लागेर बस्नुपरेको छ। त्यो भीडभाडलाई कम गर्न मेला फलदायी हुन्छ। आज नेपालका उद्योग, कलकारखाना, कृषि क्षेत्रमा अवसर बढ्दैछन्। हामी अब नेपालमंै रोजगारको अवसर खोज्न सक्छौं। हामी उद्योगीहरूले पनि राम्रो तलब दिन सक्छौं। तर समस्या भनेको आवश्यक ज्ञान र सीपको अभाव हो,” उनले जिकिर गरे।
श्रम बजारको आवश्यकता अनुसार दक्ष जनशक्ति नभएको औंल्याउँदै यो मेलाले आवश्यकता अनुसार जनशक्ति उपलब्ध गराउन भूमिका खेल्ने उनले बताए। मेला बिहीवार जेठ १७ गते कोशी प्रदेशको विराटनगरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेसँगै शुरू भइसकेको छ। यो मेला जेठ ३० गतेसम्म सातै प्रदेशमा सञ्चालन हुनेछ। मेला हरेक प्रदेशमा दुई दिन चल्नेछ। यो मेलाले रोजगार खोज्नेहरू र रोजगारदाताहरूबीच मध्यस्थताको काम गर्नेछ।
श्रमिकका सबै खाले समस्या समाधानका लागि सञ्चालन गरिएको मेलामा श्रमाधान योजना, सामाजिक सुरक्षा कोष, वैदेशिक रोजगार बोर्डलगायत विभिन्न खालका तालीम प्रदायक संस्थाहरूको पनि सहभागिता रहनेछ। मेलामा सबै तहका श्रमिकको आवश्यकता र रोजगारदाताको आवश्यकताको विषयमा छलफल हुनेछ।
मेलामा सामी परियोजना, रेमी योजना, उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्श, नेपाल तालीम तथा रोजगार व्यवसायी महासङ्घ, होटल व्यवसायी महासङ्घलगायत सरोकारवालाहरूको स्टल रहनेछ।
मेला कोशी प्रदेशको विराटनगरमा आज र भोलिसम्म चल्नेछ। मधेस प्रदेशको जनकपुरधाममा १९ र २०, गण्डकी प्रदेशको पोखरामा जेठ २१ र २२, लुम्बिनी प्रदेशको बुटवलमा २३ र २४, कर्णाली प्रदेशको सुर्खेतमा जेठ २५ र २६, सुदूरपश्चिम प्रदेशको धनगढीमा जेठ २७ र २८ गते र बाग्मती प्रदेशको ललितपुरमा जेठ २९ र ३० गते सञ्चालन हुनेछ।