अफगानी महिलाहरू आप्mनो आधारभूत अधिकारबाट वञ्चित रहँदा संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूले अफगानिस्तानमा तालिबान शासनले निम्त्याएको महिलाहरूको अवस्थाबारे चिन्ता व्यक्त गरेका छन्।
न्यूयोर्कमा भएको ‘महिला, युवाबाट शान्ति निर्माण प्रयासमा बढी सहभागिता’ शीर्षकको बैठकमा संयुक्त राष्ट्रसङ्घले अफगानी महिला, विशेषगरी किशोरीहरूको शिक्षाको अधिकार हनन भएकोमा चिन्ता व्यक्त गरेको छ।
संयुक्त राष्ट्रसङ्घको राजनीतिक तथा शान्ति निर्माण मामिलाकी उपमहासचिव रोजमेरी डिकार्लोले अफगानिस्तानमा महिलाको अस्तित्व हराएको बताएकी छन्। “सरकारको सरल पहलमा महिलाहरूको पूर्ण योगदानलाई अस्वीकार गर्ने अवरोधहरू पार गर्न सकिन्छ”–डिकार्लोले बैठकमा भनिन्।
लैङ्गिक समानता र महिला सशक्तीकरणका लागि संयुक्त राष्ट्र निकाय (युएन–महिला)की कार्यकारी निर्देशक सीमा बाहुसले तथ्याङ्कमा जोड दिंदै भनिन्–“अफगानिस्तानमा सन् २०२१ को प्रतिबन्धपछि ११ लाख किशोरी विद्यालय शिक्षाबाट वञ्चित छन्।”
अढाई वर्षभन्दा बढी समय बितिसक्दा पनि तालिबान सरकारले केटीहरूका लागि विद्यालय पुनः खोल्ने सम्बन्धमा कुनै नयाँ सूचना दिएको छैन। तालिबानले अफगानिस्तानमा आप्mनो नियन्त्रण बलियो बनाउँदै जाँदा देशमा मानवीय सङ्कट झन् झाँगिदै गएको छ।
संयुक्त राष्ट्रसङ्घका महासचिवका प्रवक्ता स्टेफन डुजारिकले अफगानिस्तानमा ‘महिला र केटीहरूको अधिकार सुनिश्चित गर्ने’ आवश्यकतामा जोड दिए र यसका लागि अफगानी अधिकारीहरूसँग समन्वय गर्न आवश्यक रहेको बताए।
यद्यपि अन्तर्राष्ट्रिय आक्रोशका बावजूद तालिबानले देशमा किशोरीहरूका लागि विद्यालय कहिले खोल्ने कुनै ठोस निर्णय गरेको छैन।
अफगानिस्तानमा महिलाहरूको अधिकार इस्लामिक कानूनको ढाँचाभित्र सुनिश्चित गरिएको कुरा तालिबानले बारम्बार दोहो–याएको छ।
अफगानी सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले भने–“अफगानिस्तानमा इस्लामिक कानूनद्वारा समर्थित पुरुष र महिलाहरूको अधिकार प्रदान गर्न तालिबान सरकार प्रतिबद्ध छ। इस्लामिक इमिरेट्सले देशका सबै नागरिकको अधिकार सम्बोधन गर्न प्रयास गर्छ।”
यसैबीच, संयुक्त राष्ट्रसङ्घ मानव अधिकार परिषद्मा अफगानिस्तानका प्रतिनिधिले लैङ्गिक समानता हासिल गर्न राष्ट्रको प्रयासमाथि प्रकाश पार्दै महिला र किशोरीहरूको अधिकारमा प्रतिबन्धित सीमाहरू हटाउन माग गरे।
तालिबानको कब्जापछि अफगानिस्तानमा गरीबी र असमानताको चक्र कायम राख्दै शिक्षाबाट वञ्चित किशोरी पुस्ताको सङ्ख्या बढिरहेको छ। मानवीय संस्थाहरूले विभिन्न चुनौतीबीच सहायता प्रदान गर्ने प्रयास गरिरहेका छन्। रासस