जीतलाल श्रेष्ठ, निजगढ, १ पुस/
बहुचर्चित राष्ट्रिय गौरवको आयोजना बाराको निजगढमा बन्न थालेको अन्तर्राष्ट्रिय विमानस्थलको तटबन्धको कार्यमा चोरीको अवैध ढुङ्गा पनि प्रयोग भइरहेको पाइएको छ।
निजगढ बकैया खोलाको पुल दक्षिण–पश्चिमतर्फ तारजाली भरेर तटबन्ध निर्माण भइरहेको सो कार्यमा निजगढ नपा–३ भरतगंजसिगौलस्थित बगर खोलाबाट ट्याक्टरमा चोरी गरी ल्याएको ढुङ्गासमेत प्रयोग भइरहेको छ।
पक्राउ पर्नेमा ना.७त ५६४८ नम्बरको ट्याक्टरसहित निजगढ–१ का २९ वर्षीय चालक पञ्चलाल गुरो, ना.अ च ९२३ सहित चालक निजगढ–१ का १९ वर्षीय निसल कुमर, प्रदेश २–०३–००१ त ५३० सहित चालक निजगढ–१ का २७ वर्षीय प्रेमकुमार कछडिया, ना.४त ७६५० सहित चालक रौतहट भसेडवा–३ का २७ वर्षीय वाल्मीकि महतोलाई स्थानीयको सहयोगमा वन कर्मचारीले नियन्त्रणमा लिएको हो।
चालकहरूले निजगढ–३ स्थित भरतगंजसिगौलको बगर खोलाबाट ढुङ्गा ल्याएको स्वीकारेका छन्। चोरीको ढुङ्गासहित ट्याक्टर पक्राउ परेको जानकारी पाउना साथ ट्याक्टरधनीले निजगढ नपाले अमानतमा राजस्व उठाएको स्थानमा गई ढुङ्गाको रसीद काट्न पटक–पटक आग्रह गरेका थिए।
ट्याक्टर र चालक पक्राउ पर्नुअघि ढुङ्गा चोरी गरी राजस्व छल्दै सो तटबन्ध निर्माण कार्यमा पु–याउँदै आइरहेका थिए। निजगढभित्रका बकैया र धन्सार खोलाबाहेक अन्य नदीनाला, खोला, खहरेको वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृत भएको छैन। प्रतिवेदन स्वीकृत नभएका खोलानाला, बगरबाट ढुङ्गा चोरी तस्करी गर्नेहरूलाई कानूनी कारबाहीको दायरामा ल्याउनुपर्ने देखिन्छ। तर यसतर्फ स्थानीय तह निकम्मा साबित हुँदै आएको छ।
चोरीको अवैध ढुङ्गा फेला परेपछि हिजो मङ्गलवार चारवटा ढुङ्गा लोड ट्याक्टरसहित त्यसका चालक चारजनालाई बेलुकी सबडिभिजन वन कार्यालय तामागढीले नियन्त्रणमा लिएको छ। चालकलाई अनुसन्धानका लागि डिभिजन वन कार्यालय, सिमरामा हिजो लगिएको सहायक वन अधिकृत हरिशङ्कर साहले जानकारी दिए।
आयोजनाको नाउँमा चोरीको अवैध ढुङ्गा प्रयोगले विकास कार्यको उपहास हुँदासमेत स्थानीय तह, प्रहरी प्रशासन मौन छन्।
सो स्थानमा जालीमा ढुङ्गा भरी तटबन्ध गर्न खानी भुवनेश्वरी जोशी जेभीले रु १८ करोड ६७ लाख ३७ हजार ३७ मा ४० हजार ८५ घनमिटरको कार्य गर्न ठेक्का सकार गरेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यालय सिमराले जनाएको छ।
“हामीले ठेकेदारले कबोल गरेको रकम उपलब्ध गराएका छौं। जसका लागि चोरी वा अवैध ढुङ्गा वा यस्ता कुनै सामग्रीको प्रयोग गरिएको पाइए अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाउँछौं,” दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यालय सिमराका निमित्त प्रमुख विजय यादवले बताए।
मुलुककै बहुचर्चित राष्ट्रिय गौरवको आयोजना भएकोले पनि सबैले आआफ्नो क्षेत्रबाट इमानदारी र सहयोगी भूमिका खेल्नुपर्नेमा चोरी वा अवैध ढुङ्गाको प्रयोग गरिएको विषय गम्भीर भएकोले ठेकेदार पक्षसँग सोधपूछ गर्ने उनले बताए।
खानी भुवनेश्वरी जोशी जेभीले स्थानीय ठेकेदारहरूको प्रयोग गर्दै अवैध ढुङ्गाको प्रयोग गरिरहेकोले स्थानीय तह राजस्वबाट वञ्चित भइरहेको छ। निजगढ नपाले धन्सार र बकैया खोला बगर किनारका ढुङ्गा जफत गरी लीलाम बिक्री गरिसके पनि चोरीका ढुङ्गाको सो तटबन्धमा व्यापक प्रयोग भइरहेको छ। “लीलाम गरिएका ढुङ्गा पनि तटबन्धमा प्रयोग भइरहेको छ। अवैध ढुङ्गा पनि प्रयोग भइरहेको छ। कसलाई के भन्ने ?” ढुङ्गा लीलाम सकार्ने स्थानीय नरेश घिमिरेले भने। चोरीको ढुङ्गा नरोक्दा नपाले लीलाम गरेको ढुङ्गा बिक्री गर्न समस्या भइरहेको उनले बताए। विकास निर्माण कार्य भइरहेकोले आफूहरूले कुनै ठूलो अपराध नगरेको खानी भुवनेश्वरी जोशी जेभीको प्रतिनिधि बताउने त्रिविक्रम पाण्डेले प्रतिक्रिया दिए।
यता विकासको काम भन्दै अवैध ढुङ्गा प्रयोग गर्ने, गराउने वा संरक्षण गर्ने जोकोहीलाई पनि कानूनी दायरामा ल्याउनुपर्ने स्थानीयको माग छ। राज्यसँग काम गरेबापत रकम लिने, तर सो काममा चोरीको सामान प्रयोग गर्ने अवैध धन्दा बन्द हुनुपर्ने स्थानीयको माग छ।