वीरगंजमा जारी जिल्ला लिग फूटबल प्रतियोगिता अन्तर्गत आइतवार सम्पन्न दोस्रो दिनको खेलमा सगरमाथा युवा क्लब, बगही र शक्ति युवा क्लब, परवानीपुरले बराबरीमा खेल सम्पन्न गरे।
पर्सा जिल्ला फूटबल सङ्घको आयोजनामा आदर्शनगर खेलमैदानमा भएको खेलमा शक्ति युवा क्लब र सगरमाथा युवा क्लबले एक/एक गोलको बराबरी खेलेका हुन्।
मध्यान्तर अघि शक्ति युवा क्लबका विशाल ढुङ्गेलले गोल गरेका थिए। खेल शुरू भएको केहीबेरमैं ढुङ्गेलले पहिलो गोल गरेर टीमलाई अग्रता दिलाएका थिए। मध्यान्तर हुनु अघि अन्तिम समयमा सगरमाथाका क्षितिज तामाङले एक गोल गरी खेल बराबरीमा पु–याएका थिए। त्यसपछि खेलको बाँकी अवधिमा दुवै टीमले गोल गर्न सकेनन्।
यस खेलको ‘म्यान अफ दी म्या’च सगरमाथा युवा क्लबका क्षितिज तामाङ घोषित भए। आगामी जेठ २६ गतेसम्म जारी रहने प्रतियोगितामा जिल्लाका १३ वटा क्लब सहभागी भएका आयोजक क्लबका महासचिव विनोद परियारले बताए। भोलि सोमवारको खेल लालीगुराँस युथ क्लब, बिर्ता र ग्यालेक्सी युवा क्लब, पिपराबीच हुने महासचिव परियारले बताए।