नेपाल–भारत विकास सहकार्य अन्तर्गत भारत सरकारको सहयोगमा दाङ जिल्लामा दुईवटा विद्यालय भवनको निर्माण कार्य सम्पन्न भएको छ। रु एक करोड ७६ लाख आर्थिक सहयोगमा दाड्ढो लमही नगरपालिकास्थित बाल जनता माध्यमिक विद्यालय भवन र रु दुई करोड ८७ लाखको लागतमा निर्मित घोराही उपमहानगरस्थित पद्मोदय पब्लिक नमूना माविको हिजो उद्घाटन गरिएको थियो।
लमही नगरपालिकास्थित बाल जनता माध्यमिक विद्यालय भवनको लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री रत्नबहादुर खत्री, जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्मा, लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी र भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव अविनाशकुमार सिंहले संयुक्तरूपमा उद्घाटन गरेका थिए भने दाड्ढो घोराही उपमहानगरपालिकास्थित पद्मोदय पब्लिक नमूना माध्यमिक विद्यालय भवनको जिल्ला समन्वय समितिका प्रमुख शर्मा, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी र भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव सिंहले संयुक्त रूपमा उद्घाटन गरेका थिए।
नेपाल–भारत विकास सहकार्य अन्तर्गतको भारत सरकारको अनुदान सहयोगमा लमही नगरपालिकास्थित बाल जनता माध्यमिक विद्यालयलाई आवश्यक अन्य सुविधासँगै प्रयोगशाला, उपकरण, फर्निचर दुई तले विद्यालय भवनको निर्माणमा उपयोग गरिएको थियो। त्यसैगरी, भारत सरकारको सहयोगमा दाड्ढो घोराही उपमहानगरपालिकास्थित पद्मोदय पब्लिक नमूना माध्यमिक विद्यालयलाई आवश्यक पर्ने अन्य सुविधासँगै दुई तले विद्यालय भवनको निर्माणमा उपयोग गरिएको थियो। भारत र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यी परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको थियो। जिल्ला समन्वय समिति, दाङमार्फत यी परियोजनाको कार्यान्वयन गरिएको नेपालस्थित भारतीय राजदूतावासले जनाएको छ।
सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५५१ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ र ४९० वटा परियोजना सम्पन्न गरिसकेको दूतावासले जनाएको छ। यीमध्ये लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा ६१ वटा परियोजना रहेकामा त्यसमध्ये छवटा परियोजना दाङमा रहेको दूतावासले जानकारी गराएको छ।