नेपाल र भारतबीचको बहुआयामिक सम्बन्धको एउटा महत्वपूर्ण पक्ष यी दुर्ई देशबीचको धार्मिक एवं सांस्कृतिक समानता पनि हो। यस धार्मिक एवं सांस्कृतिक समानताले हामीलाई अभिन्न बनाइदिएको छ। सनातन धर्म, संस्कृतिका वाहक हामी भगवान् गौतम बुद्धलाई पनि आफ्ना आराध्यदेवकै रूपमा मान्दै र पूजा गर्दै आएका छौं। भगवान् गौतम बुद्धको जन्मभूमि नेपाल र उनको ज्ञान तथा निर्वाण प्राप्ति भूमि भारतमा भगवान् बुद्धको जयन्तीलाई बडो उत्साहपूर्वक तथा महापर्वको रूपमा मनाउने गरिन्छ। भगवान् बुद्धको जन्म, ज्ञान तथा निर्वाण प्राप्ति पनि एउटै तिथि वैशाख शुक्ल पूर्णिमाको दिन भएकाले वैशाख पूर्णिमाको विशेष महत्व पनि छ। भगवान् गौतम बुद्धको जयन्तीलाई यस वर्ष पनि बडो धूमधामका साथ एवं उत्साहपूर्वक मनाइयो। भगवान् बुद्धको शान्ति र अहिंसाको सन्देश हाम्रो निम्ति प्रेरणाको सन्देश रहिआएको छ। भगवान् गौतम बुद्धको जयन्तीको शुभ अवसरमा नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोष तथा लुम्बिनी बौद्ध विश्वविद्यालय सङ्घको सहकार्यमा विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना ग–यो। यस्ता कार्यक्रमहरूले हाम्रा दुईपक्षीय धार्मिक एवं सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने गर्छ।

बुद्ध जयन्तीको अवसरमा लुम्बिनी विश्वविद्यालयमा आयोजित बुद्ध धर्म र वैश्विक शान्ति विषयक विचारगोष्ठीमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको दुईपक्षीय सम्बन्धमा संस्कृतिले विशेष स्थान ओगटेको र यस्ता कार्यक्रमहरूले दुर्ई देशबीचको मित्रता र सद्भावको बन्धनलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे। प्रधानमन्त्री प्रचण्डले यस्ता कार्यक्रमहरू गर्वको स्रोत तथा ज्ञानको भण्डार रहेको बताउँदै विभिन्न क्षेत्रबीचको सहकार्यले दुईपक्षीय सम्बन्धलाई निरन्तररूपमा बलियो बनाउने बताए। नेपाल–भारतबीचको परम्परागत बहुआयामिक सम्बन्धलाई बलियो बनाउने दिशामा यस्ता कार्यक्रमहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए। कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री प्रचण्डले भगवान् बुद्ध र उनका शिक्षाहरूसम्बन्धी चित्रकला प्रदर्शनीको उद्घाटन पनि गरेका थिए। जसमा काठमाडौं र लुम्बिनी विश्वविद्यालयका विद्यार्थीहरूले तयार पारेका उत्कृष्ट चित्रहरू राखिएका थिए। यी चित्रहरूमा भगवान् बुद्धको जीवन र शिक्षाका विभिन्न पक्षहरू चित्रण गरिएका थिए।

विचारगोष्ठीमा स्वागत मन्तव्य राख्दै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत र नेपालको साझा बौद्ध विरासत र सम्पदा एउटा कडीको रूपमा रहेको र यसले दुवै देशका जनतालाई शताब्दीयौंदेखि जोडेको बताए। नेपालको लुम्बिनी र भारतको बोधगया, सारनाथ र कुशीनगर पवित्र स्थलहरू हुन्। जहाँबाट भगवान् बुद्धको सर्वव्यापी शिक्षा विश्वका अन्य भागहरूमा फैलिएको थियो। भारतीय राजदूतले नेपाल र भारतका जनताको कल्याणका लागि वर्तमान समयमा यो साझा विरासतलाई सुदृढ गर्न भारतको प्रतिबद्धता निरन्तर रहिरहने कुरामा जोड दिएका थिए।

विचारगोष्ठीमा सहभागी नेपाल र भारतका बौद्ध विद्वान्हरूले आधुनिक विश्वमा भगवान् बुद्धको शिक्षाको सान्दर्भिकताका बारेमा आआफ्नो विचार, अन्तर्दृष्टि साझा गरेका थिए। उनीहरूले भारत र नेपालबीचको अद्वितीय र समृद्ध बौद्ध सम्बन्धका विभिन्न पक्षबारे प्रकाश पारेका थिए।

वैशाख बुद्ध पूर्णिमाको पूर्वसन्ध्यामा लुम्बिनीमा आयोजित सांस्कृतिक साँझमा भारत र नेपालका साझा बौद्ध सम्पदा र परम्परा झल्काउने जीवन्त प्रस्तुतीहरू समावेश थिए। हिनयान र महायान परम्पराका परम्परागत जपको बौद्ध भिक्षुहरूले शुरूमा पाठ गरेका थिए। भारत र नेपालका प्रसिद्ध कलाकारहरूद्वारा बौद्ध गीतहरूको भावपूर्ण साङ्गीतिक सङ्ग्रह प्रस्तुति गरिएको थियो। प्रधानमन्त्री प्रचण्डले सुन्दर चित्रकला प्रदर्शनी र जीवन्त सांस्कृतिक कार्यक्रमका लागि भारतीय राजदूतावास र सबै कलाकारहरूको प्रशंसा पनि गरे। कार्यक्रममा नेपालको सङ्घीय सरकारका मन्त्रीहरू, लुम्बिनी प्रदेशका मुख्यमन्त्री, लुम्बिनी विकास कोषका अध्यक्षसहित भारत र नेपालका विभिन्न बौद्ध सम्प्रदाय र गुम्बाका प्रतिनिधिहरूका साथै सर्वसाधारणको पनि सहभागिता थियो।

भगवान् बुद्धले दिएका प्रमुख सन्देशहरूमा अतीतबारे दुःख नगर्नु भविष्यको पनि चिन्ता नगर्नु केवल बुद्धिमानी र इमानदारीका साथ वर्तमानमा बाँच्ने काम गर्नु भनेका थिए। त्यसैगरी, उनले मध्यम मार्गलाई प्रत्येकको निम्ति उचित मार्ग भनेका थिए। उदाहरण दिंदै उनले भनेका थिए– वीणाको तारलाई जोड दिएर कस्न खोज्दा त्यो टुट्न सक्छ। खुकुलो गरी कस्न खोज्दा त्यसले सङ्गीत दिन सक्दैन, मधुर स्वर दिन सक्दैन तर मध्यम तरीकाले त्यसलाई कस्ने काम भयो भने मात्र त्यसले मधुर स्वर अथवा धुन दिनेछ, त्यसरी नै मानवजीवनमा पनि अत्यधिक निराशा र अत्यधिक उत्साहमा बाँच्नुभन्दा मध्यम अवस्थामा रहनुलाई उनले उचित भनेका थिए।

नेपालको लुम्बिनी र भारतको सारनाथ, बोधगया तथा कुशीनगर भगवान् बुद्धको जीवनमा महत्वपूर्ण प्रभाव पारेका पवित्रस्थलहरूको रूपमा वर्णन गरिन्छ। केही वर्षअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुद्ध सर्किटको विषय चर्चामा ल्याएका थिए। भगवान् बुद्धको जन्मस्थल नेपालको लुम्बिनी, कपिलवस्तु, देवदह ज्ञानप्राप्तिको भूमि भारतको बोधगया र महानिर्वाणप्राप्तिको भूमि सारनाथका साथै कुशीनगर र वैशालीलाई समेटेर बुद्ध सर्किट निर्माणको प्रस्ताव गरेका थिए। गौतम बुद्धका सम्पूर्ण अवशेष, उनका पदचिह्न, उनका भिक्षुद्वारा निर्मितहरू एलोरा जस्ता अवर्णनीय शिल्प यहाँ छन् तर पनि नेपाल–भारतमा बौद्ध धर्म, संस्कृतिको जति विस्तार एवं प्रचारप्रसार हुनुपर्ने हो त्यति हुन सकेको छैन। बुद्धको जन्मभूमि, कर्मभूमि एवं निर्वाणप्राप्ति भूमिसँगै सम्बन्धित ऐतिहासिक तथा पुरातात्विक वस्तुहरू पूरै विश्वको निम्ति पर्यटकीय आकर्षणको निम्ति उपयोगी साबित हुन सक्छ। पर्यटन क्षेत्रको सूचना, भौतिक पूर्वाधारको विकास तथा विस्तारमा सहकार्य गर्दै दुवै देशका धेरै नागरिकको आस्थासँग जोडिएको क्षेत्रमा पर्यटनसँग सम्बन्धित कार्यक्रम र गतिविधि बढाउन दुवै देशबीच हुने गरेका सहमतिलाई उपलब्धिको रूपमा लिनुपर्ने हुन्छ। बुद्ध धर्मलाई मान्ने देश श्रीलङ्का पनि बुद्ध सर्किटमा सहभागी हुन सक्छ।

नेपाल–भारतबीचको सांस्कृतिक सम्बन्धलाई हामी कुनै निश्चित समयको परिधिभित्र बाँधेर राख्न सक्दैनौं। किनभने वैदिक ज्ञानको अस्तित्वलाई हामी आफूसँगै सुन्छौं र बुझ्दै आएका छौं। धर्म, अध्यात्म र सांस्कृतिक समानताले दुवै देश एकअर्कासित आन्तरिकरूपमा यसरी अभिन्न छन्। नेपालसित भारतको सम्बन्ध त्यति नै प्राचीन छ, जति प्राचीन यसको सांस्कृतिक चेतना छ। बुद्धिस्ट सर्किटको निर्माण भएमा विदेशी पर्यटकहरू नेपाल आउने क्रम बढ्ने नै छ। यस विषयमा भारतका प्रधानमन्त्री मोदीले प्रस्ताव गरेका छन् तर यस प्रस्तावलाई कार्यान्वयनमा ल्याउन विशेष पहल गर्नुपर्ने जिम्मेवारी हाम्रो हो। भारतले प्रस्ताव गरे पनि उसको एक्लो प्रयासबाट रामायण र बुद्ध सर्किटको निर्माण सम्भव हुनेछैन। त्यसमा हाम्रो सहयोग र समर्थन पनि चाहिन्छ। लुम्बिनीमा हालै सम्पन्न बुद्ध जयन्तीसम्बन्धी कार्यक्रमहरूले हाम्रा दुईपक्षीय सम्बन्धलाई बलियो बनाउनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here