भारतको दक्षिण–पश्चिमी राज्य महाराष्ट्रको रासायनिक कारखानामा भएको विस्फोटमा परी ज्यान गुमाउनेको सङ्ख्या ११ पुगेको शुक्रवार स्थानीय अग्निनियन्त्रण विभागका अधिकारीले पुष्टि गरेका छन्।
बिहीवार भएको विस्फोटका कारण मृत्यु भएका थप चारजनालाई शुक्रवार घटनास्थलबाट बाहिर ल्याइएको र यससँगै विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ११ पुगेको अग्निनियन्त्रण विभागका अधिकारीले उल्लेख गरेका छन्।
अधिकारीका अनुसार उक्त घटनामा परी घाइते हुने व्यक्तिको सङ्ख्या ६० भन्दा बढी पुगेको छ।
मुम्बईको नजीकै रहेको ठाणे जिल्लाको डोम्बिवली क्षेत्रमा अवस्थित रासायनिक कारखानामा रहेको एउटा वाष्फ इन्जिन ठूलो आवाजसहित विस्फोट भएको थियो।
विस्फोटपछि कारखानाका अन्य भागमा आगो तुरुन्तै फैलिंदा अन्य विस्फोटहरू भएका थिए। विष्फोटको आवाज १.५ किलोमिटर टाढासम्म सुनिएको बताइएको छ।
घटनाका घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ भने तीमध्ये केहीलाई प्राथमिक उपचारपछि घर पठाइएको छ। रासस