प्रस, रौतहट, १० वैशाख/

स्वास्थ्य कार्यालय रौतहटको आयोजनामा जिल्ला खोप समन्वय समिति तथा सञ्चारकर्मीहरूको एक दिने अभिमुखीकरण गोष्ठी हिजो बुधवार सम्पन्न भएको छ ।

गोष्ठीमा विश्व स्वास्थ्य सङ्गठन फिल्ड अफिस जनकपुरका डा सुरेश शुक्लाले पोलियो रोग उन्मूलनका लागि जेठ १३ देखि २६ गतेसम्म राष्ट्रिय खोप कार्यक्रम अभियानको रूपमा सञ्चालन हुने जानकारी गराएका थिए ।

पोलियो रोग भाइरसबाट हुने भएकोले सचेत हुन आग्रह गर्दै पोलियो रोग लागेपछि निको नहुने बताएका थिए ।

उनले अफगानिस्तान र पाकिस्तानमा पोलियो रोग देखा परेको बताउँदै २०७० चैत १३ गतेदेखि यो खोप सञ्चालनमा रहेको बताए ।

२०७१ आश्विन महीनादेखि शुरू भएको खोप २०७३ वैशाखदेखि २०७५ भदौ महीनासम्म, खोप अभाव हुँदा त्यस बेला जन्मेका बालबालिकालाई लक्षित गरी खोप सञ्चालन हुन गइरहेको कार्यक्रममा बताइएको थियो ।

देशभरि १४ लाख ६२ हजार ७१२ जना बालबालिका खोपबाट वञ्चित रहेकाले अभियानका रूपमा पोलियोविरुद्धको खोप अभियान सञ्चालन हुन गइरहेको हो ।

विद्यालयहरूमा खोप केन्द्र स्थापना गरी खोप दिने लक्ष्य रहेको जसमध्ये रौतहटमा ३७ हजार ८४७ जना बालबालिकालाई खोप दिने लक्ष्य छ । रौतहटमा ३९ हजार बालबालिकालाई पुग्ने खोप आइसकेको कार्यक्रममा बताइएको थियो ।

जिल्ला समन्वय समिति, रौतहटका सभापति रामअयोध्या राय यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादव, जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रहरी उपरीक्षक दिलीप घिमिरे, राष्ट्रिय अनुसन्धानका प्रहरी उपरीक्षक अभिनय सिंह, सशस्त्र प्रहरीका हेमराज अधिकारी, स्वास्थ्य कार्यालय रौतहटका प्रमुख विपिनकुमार साह, नेपाल पत्रकार महासङ्घ रौतहटका सभापति प्रेमचन्द्र झालगायतले कार्यक्रममा आआप्mनो धारणा राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here