बारा जिल्लाको जीतपुरसिमरास्थित रामवन मुहान रहेको श्रीसिया नदी वीरगंज महानगरपालिका–३२ परवानीपुरस्थित सिद्धि टेक्सटाइल्सदेखि प्रदूषित भएको देखिन्छ । सिद्धि टेक्सटाइल्स अघिको श्रीसिया नदी निश्चल, सफा बगिरहेको देखिन्छ । सिद्धि टेक्सटाइल्सपछि अरनिका टेक्सटाइल्सको प्रदूषित पानीले श्रीसियालाई थप प्रदूषित पारेको छ ।
यसका साथै जीतपुरसिमरा, परवानीपुर र वीरगंज महानगरपालिकामा नदीसँग जोडिएका उद्योगहरूबाट श्रीसिया नदी प्रदूषित भएको कुरा कसैबाट लुकेको छैन । तीनवटा पालिकामा रहेका ६३ वटा उद्योग श्रीसिया नदी प्रदूषित
पार्ने कार्यमा संलग्न छन् । यो तथ्याङ्क महानगरपालिकाको वातावरण महाशाखाले तयार गरेको सर्भेमा देखिएको हो । श्रीसिया नदी चार दशक अघिसम्म स्वच्छ थियो । यो खोलामा मानिसहरू लुगा धुने, भाडा माझ्ने, नुहाउने र केहीले पिउनेसम्मका कार्यमा खोलाको पानी प्रयोग गर्थे । वस्तुहरूको लागि पनि नुहाउने थलो थियो, श्रीसिया ।
पुरुषहरू जनै पूर्णिमा र महिलाहरूको श्रीपञ्चमीलगायतका पर्वहरूमा श्रीसिया नदीमा पूजापाठलगायतका कार्यहरू गर्दै आएका थिए । अहिले श्रीसिया नदीमा छठपूजा मात्र गरिन्छ । श्रीसिया नदीको पानी प्रदूषित भएपछि सिंचाइका लागि पनि पानीको प्रयोग हुन छाडेको छ । अति दुर्गन्धित अवस्थामा श्रीसिया नदी पुगेपछि त्यसको प्रयोग आम मानिसहरूको दैनिकीबाट टाढिएर अहिले उद्योगहरूको रसायनयुक्त पानी विसर्जन गर्ने थलो भएको छ । श्रीसिया नदीमा प्रदूषणजन्य गतिविधि नियन्त्रणका लागि बचाउ अभियान सञ्चालन भएको पनि लामै समय भयो । विभिन्न सङ्घसंस्थाहरूले श्रीसिया नदीको पानी सफा गर्न दबाबमूलक कार्यहरू पनि गर्दै आएका छन् । यसबारेमा अनुगमन, प्रतिवेदनहरू पनि नबनेका होइनन् तर कुनै पनि दबाब, अनुगमन र प्रतिवेदनबाट श्रीसिया प्रदूषणमुक्त हुन सकेन । उद्योगहरूका कारण प्रदूषित
श्रीसिया नदीको किनारालाई वीरगंज महानगरले डम्पिङ साइटसमेत बनायो । व्यवस्थित डम्पिङ साइट निर्माणपूर्व महानगरका फोहरहरू श्रीसियाको किनारामा विसर्जन गरिन्थ्यो । डम्पिङ साइट बनेपछि मात्र नदी किनारामा फोहर विसर्जन कार्य रोकिएको हो । नदी किनारामा महानगरले फोहर विसर्जन गर्दा छिमेकी भारत रक्सौलका नागरिकहरूले विरोध गरेका थिए । अन्तर्राष्ट्रिय नियमको बर्खिलाप सो काम भएकोले रक्सौलमा श्रीसिया नदी बचाऊ आन्दोलन अन्तर्गत धर्ना, प्रदर्शन, ज्ञापन दिने जस्ता कार्यहरू गरिए पनि ।
श्रीसिया नदी प्रदूषणमुक्त गर्नका लागि उद्योगीहरूले मात्र इमानदारी देखाउन जरुरी छ । सरकारले उद्योगीहरूलाई तह लगाउन नसकेको अवस्थामा श्रीसिया नदी प्रदूषणको नाममा मन्त्रालय र विभागको लागि कमाइखाने भाँडो बनेको छ । उद्योग स्थापनाकै क्रममा पानी प्रशोधन केन्द्र जडान गर्नुपर्ने प्रावधान छ । रसायनयुक्त पानीको काम गर्ने उद्योगहरूले मात्र पानी प्रशोधन केन्द्र स्थापना गरेर श्रीसियामा विसर्जनको व्यवस्था गर्दा समस्याको समाधान हुन्छ । तर अनिवार्यरूपमा गरिनुपर्ने यो काम अहिलेसम्म नगरिंदा समस्या देखिएको हो । उद्योगका प्रदूषित पानी श्रीसिया नदीमा विसर्जन गर्न रोक मात्र लगाउने हो भने पनि श्रीसिया स्वच्छ हुने कुरामा दुई मत छैन ।