प्रस, सेढवा, ३० मङ्सिर/
पटेर्वासुगौली, जीराभवानी र जगरनाथपुर गाउँपालिकामा अहिले खेतीयोग्य जमीन मासेर किसानहरू माछापालनमा आकर्षित भएका छन्।
धान, गहुँलगायतका बालीहरूमा बीउबिजन, कीटनाशक औषधि, मललगायतको आवश्यकता हुने र उत्पादन अनुसारको आम्दानी नभएपछि सोभन्दा बढी माछापालनबाट आम्दानी देखेर यस क्ष्Fेत्रका मानिसहरू खेतीयोग्य जमीनमा पनि पोखरी खन्न थालेका छन्।
पटेर्वासुगौली गापा–३ रामपुर निवासी महेन्द्र चौधरीले खेतीमा धेरै समस्या भएको कारण आफूले दुई बिघा ७ कट्ठा जग्गामा पोखरी खनेर माछापालन गर्न थालेको बताए। चौधरी सेवानिवृत्त शिक्षक हुन्। उनले खेतीबालीभन्दा माछापालनमा मनग्य आम्दानी भइरहेको कारण खेतीयोग्य जमीन मासेर माछापालनको लागि पोखरी खनेको बताए।
जीराभवानी गापा–३ का विजय महतोले एक वर्षको लिज लिएर १ बिघा जग्गामा धानखेती गर्दा ३२ हजार मूल्य बराबरको चालीस मन धान उत्पादन भएको बताए। उनले यसपटक धान उत्पादन वृद्धि भएपनि अन्य बेलामा मौसमको कारण धान, गहुँ खेती प्रभावित हुने गरेको कारण यस क्षेत्रका मानिसहरू खेतीयोग्य जमीन मासेर पोखरी खन्नेतर्फ आकर्षित भएको बताए।
जिल्ला पशु कार्यालय, पर्साका निमित्त कार्यालय प्रमुख साहातराम मौर्याले माछापालन पनि कृषि उत्पादन भएको बताए। उनले किसानले पोखरी निर्माण गर्दा कार्यालयले प्रतिकट्ठा रु १५ हजार अनुदान दिने गरेको जानकारी गराए। उनले सरकारले पोखरीका लागि जग्गाको मापदण्ड नतोकेकोले जस्तोसुकै जग्गामा पनि पोखरी खन्न मिल्ने बताए। अहिले पर्सा जिल्लामा ५७१ हेक्टर जग्गामा पोखरी निर्माण भएको छ। पछिल्लो समयमा पर्सा जिल्ला माछामा आत्मनिर्भर हुनुका साथै राजधानीलगायत अन्य जिल्ला र छिमेकी भारतमा माछा निर्यात गर्दै आएको छ।