बारा जिल्लाको स्थानीय तह कोल्हवी, निजगढ नगरपालिका र जीतपुुरसिमरा उपमहानगरपालिका गरी तीनवटा पालिका अन्तर्गतका पाँचवटा खोलाबाट नदीजन्य पदार्थ उत्खनन, सङ्कलन, ओसारपोसारमा रोक लगाइएको छ। जिल्ला समन्वय समिति बाराले तीन पालिकाले पाँचवटा खोलाबाट ठेक्कामा  नदीजन्य पदार्थ उत्खनन गराउँदै आएकामा सो खोलाहरूको तीनपटक अनुगमन गर्दा तोकिएको मापदण्डविपरीत कार्य भएको पाएपछि नदीजन्य पदार्थको उत्खननमा रोक लगाएको हो। कोल्हवी र निजगढ नपाको बकैया र जीतपुरसिमरा उपमहानगरका बालगङ्गा, पसाहा, दुधौरा खोलाबाट नदीजन्य पदार्थ उत्खनन, सङ्कलन, ओसारपोसारमा जिल्ला अनुुगमन समितिले रोक लगाएपछि अहिले सो खोलाहरूबाट नदीजन्य पदार्थको उत्खनन रोकिएको छ। जिसस र जिल्ला प्रशासन कार्यालय अनि स्थानीय तह अन्तर्गतका अनुगमन समितिसमेतको संलग्नतामा गरिएको अनुगमनमा नदीजन्य पदार्थको उत्खननको जिम्मेवारी पाएका ठेकेदारहरूले तोकिएको मापदण्डको पालना नगरेको पाइएको थियो।

स्थानीय पालिकाहरूले वातावरणीय परीक्षण प्रतिवेदनको आधारमा खोलाहरूबाट नदीजन्य पदार्थ ढुङ्गा, बालुवा र गिट्टी उत्खननका लागि ठेक्का लगाउने गर्छन्। ठेक्का लगाएका पालिकाहरूलाई नै अनुगमनको जिम्मेवारी पनि तोकिएको हुन्छ। पालिका उपप्रमुखको संयोजकत्वमा अनुगमन समिति निर्माण भएका हुन्छन्। पछिल्लो समयमा असार १ गतेदेखि नदीजन्य पदार्थको उत्खननमा तीन महीना रोक लाग्दै आएको छ। असार १ गतेदेखि नदीजन्य पदार्थको उत्खननमा रोक लाग्ने र असोज १ गतेदेखि खुला गरिन्छ। यस अवधिमा वातावरणीय परीक्षण प्रतिवेदन तयार गरिन्छ। कुन खोलाबाट कति नदीजन्य पदार्थ उत्खनन गर्ने भन्ने कुरा प्राविधिक सम्मिलित टोलीले बनाएर दिएको वातावरणीय परीक्षण प्रतिवेदनमा उल्लेख हुन्छ र पालिकाहरूले सोहीअनुरूप ठेक्का लगाउने र त्यसको अनुगमन गर्नुपर्ने हुन्छ। बारा जिल्लाका तीनवटा पालिकामा पाँचवटा खोला छन् र यसमा बर्सेनि नदीजन्य पदार्थको उत्खननको विषयलाई लिएर विवाद हुने गरेको पाइएको छ। एकपटक वातावरणीय परीक्षण प्रतिवेदन बनेपछि पालिकाहरूले सोही आधारमा दुईपटकसम्म ठेक्का लगाउन सक्छन्। तर वातावरणीय परीक्षण प्रतिवेदन विपरीतका कार्य गर्न सक्दैनन्। बाराका यी तीन पालिकाले लगाएको ठेक्काको अनुगमन इमानदारीका साथ नगर्दा नै जिल्ला समन्वय समिति अन्तर्गतको अनुगमन टोली सक्रिय हुनुपरेको हो।

स्थानीय पालिका अन्तर्गत बनेको उपप्रमुख नेतृत्वको अनुगमन टोलीले मापदण्डविपरीत हुने गरेका कामलाई रोक्न नसकेको वा नचाहेको कारण जिसस अन्तर्गतको अनुगमन टोलीले बारा जिल्लाका पाँचवटा खोलाको अनुगमन गरेको हो। ठेकेदारहरूले पाँचवटा खोलामा एक मिटर गहिरोसम्म उत्खनन गर्न सक्ने प्रावधानविपरीत तीन–पाँच मिटर गहिरो गरी उत्खनन गरेको पाइएको थियो। यसैगरी, प्रतिदिन तीन सय घनमिटर उत्खनन गर्नुपर्नेमा सोविपरीत तीन हजारदेखि  आठ हजार घनमिटरसम्म उत्खनन गर्ने गरेको पाइएको थियो। यो महीना नदीजन्य पदार्थ उत्खनन गर्ने अन्तिम महीना हो र यसपछि असारदेखि तीन महीनासम्म उत्खनन बन्द हुन्छ। त्यसैले पनि ठेकेदारहरूले बढी उत्खनन गरी सञ्चय गर्ने र बन्द भएको बेला बढी मुनाफा लिएर बिक्री गर्ने गर्छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here