सिद्ध महापुरुषहरू कुनै सङ्घसंस्था, देश अथवा राष्ट्रविशेषको घेरामा हुँदैनन्। संसारका धेरै महापुरुषले नेपाललाई आप्mनो अध्यात्मभूमि बनाएको कुरा हामीबाट लुकेको छैन। ठीक त्यसैगरी डा डोग्रा अर्थात् खप्तड स्वामी नेपाललाई आप्mनो कर्मक्षेत्र बनाइ यहाँ आए। खप्तडबाबा त्यस्तो सिद्ध सन्त हुन्, जसको समग्र जीवन रहस्यका अनेक गाथाले भरिएका छन्। उनको खास नाम डा शिवनाथ डोगरा हो र उनी एक सिद्धहस्त एलोपेथिक चिकित्सक थिए। उनको जन्म कश्मीरको ब्राह्मण कुलमा भएको थियो। लोकप्रचलित नामको साथ प्रशस्त आमदानी भइरहेको बखत प्राप्त वैराग्य र जगत्प्रति कौतूहलले, गरिरहेको पेशा त्यागी सन्तहरूका आश्रम अनि दार्शनिक विद्वान्हरूको खोजीमा विभिन्न ठाउँ पुगे। उनको दीक्षित नाम स्वामी सच्चिदानन्द सरस्वती थियो। ब्रह्माण्डको रहस्य खोज्दै उनी नेपाल पसे र पश्चिम नेपालको खप्तड लेकमा रहेर जीवनको पाँच दशक त्यहीं बिताए। त्यसैले उनको लोकप्रसिद्ध नाम खप्तड स्वामी रहन गयो।

उनको विषयमा सातवटा पुस्तक प्रकाशित छन्– ‘म र मेरो कर्तव्य’, ‘आत्मज्ञान’, ‘नारीधर्म र पुरुषधर्म’, ‘योग विज्ञान’, ‘विचार विज्ञान’, ‘स्वास्थ्य विज्ञान’ र ‘खप्तडबाबा’। सबै पुस्तकको सारांश जीवन र जगत्लाई कसरी उपयोगी र मानवजीवनलाई कसरी सार्थक बनाउने भन्ने विषयमा केन्द्रित छ। यी पुस्तकहरूमा जीवन र जगत्का रहस्य, तीर्थमय नेपालको वैशिष्ट्य, उनको नेपालप्रति लगाव, समसामयिक सामाजिक–राजनीतिक विश्लेषण, साधनाको प्रवृत्ति र उपलब्धि, विचारलाई कसरी सार्थक बनाउने, स्वस्थ जीवनका रहस्य, योग विज्ञानको महत्व, नारी र पुरुषका कर्तव्य र जिम्मेवारी जस्ता विषयहरू उल्लेख गरिएका छन्।

खपतडबाबा आफैंमा रहस्य थिए। कश्मीरको जन्म, बेलायतको पढाइ, सामाजिक मर्यादाको पर्याप्त उपलब्धि हुँदाहुँदै प्रारब्धवश कसरी अर्को दुनियाँमा पुगे र साधनामय दीर्घजीवन प्राप्त गरी भौतिक सुख त्याग गर्दै ईश्वरीय आनन्दको अनुभूतिमा रमाए, मननीय छ।

उनी असाधारण व्यक्तित्वका धनी थिए। उनलाई आधुनिक युगको ऋषि भन्न सकिन्छ। केवल साधनामा नरमाइ समाजलाई कृति–रचनाद्वारा पनि लाभान्वित गराए। उनीबारे डा अर्जुन ज्ञवालीद्वारा लेखिएको पुस्तक ‘खप्तडबाबा’ले हामीलाई धेरै कुरा सिकाउँछ। जीवनका बहुपक्षीय आरोह–अवरोह पार गर्दै उनले नेपाली राष्ट्रियता, सनातन अग्रगामी मौलिक चिन्तन, पौरस्त्यजगत्का उच्च मानबिन्दु, प्रेरक विभूतिहरू र जीवनलाई उत्कर्षमा लैजाने विविध पक्षमाथि सधैं प्रकाश पार्ने गर्थे। यस पुस्तकले जीवनमा चाहिंदो भौतिक साधन स्रोत भएर पनि आत्मिक शान्तिका लागि भौंतारिइरहेका, मनुष्यजीवनको गहिराइ खोजिरहेका मानिसहरूका लागि गहकिलो खुराक प्रदान गर्छ।

हाल नेपाल लक्ष्यहीन गतिबाट गुज्रिरहेको छ। राजनीति भ्रष्ट छ। अर्थतन्त्र डाँवाडोल छ। शिक्षा प्रणाली दिशाहीन र नैतिकशून्य छ। मानिसहरू छटपटाइरहेका छन्। सांस्कृतिक धरोहर दिनानुदिन ध्वस्त बन्दो छ। भ्रष्टाचारले देशलाई आक्रान्त बनाएको छ। मौलिक धर्ममाथि लगातार प्रहार भइरहेको छ। विधर्र्मी र विदेशी चिन्तन हाबी छ। जताततै अभाव र अशान्ति छ। नवसामन्तहरूको शोषण निरन्तर बढ्दो छ। यी र यस्ता विषयबारे विविध दृष्टान्तको सङ्गालो हो, यो पुस्तक।

के कति कारणले उनी अध्यात्मतर्फ लागे ? बेलायतबाट चिकित्साशास्त्र पास गरेको नौ वर्षपछि जन्मभूमि कश्मीर फर्के र १० वर्षसम्म जम्मु शहरको टवी नदीको किनारमा औषधालय खोलेर सेवा प्रदान गरे। त्यसै क्रममा एउटा अद्भुत घटनाको सामना भयो। एकजना सम्पन्न प्रभावशाली व्यक्तिको घरमा एउटा बच्चा बिरामी प–यो। उनी त्यस बेलाका प्रसिद्ध चिकित्सक थिए। त्यसैले बच्चाको उपचार गर्न उनलाई बोलाइयो। आपूmले सक्ने सबै विधि प्रयोग गरी उनले बच्चालाई बचाउने कोशिश गरे। तर उनका सारा प्रयत्न निरर्थक भए र बच्चाको निधन भयो। ठीक त्यही बेला एकजना स्वामी उनले उपचार गरिरहेको ठाउँमा टुप्लुक्क आइपुगे। उक्त बालकको मृत्युको खबरले बालकको घरमा रुवावासी चलिरहेको थियो। स्वामीले के भयो भनेर सोधपूछ गरे तर कसैले केही भन्न सकेन। स्वामीले बालकको मृत्यु भएको छैन भन्दै कमण्डलुमा रहेको जल छर्किदिए। मृत घोषित बालकलाई तत्काल होश आयो। यस घटनापछि डा डोगरा तीन छक्क परे। यही घटनाले उनलाई आफ्नो डिग्रीप्रति वितृष्णा जगायो। मसँग नभएको, मेरो अध्ययनले प्राप्त नगरेको के शक्ति छ यी योगीसँग ? अब म यही शक्तिको खोजी गर्छु। यसरी एकाएक डा शिवनाथ डोगराको मनमा उक्त घटनाले परिवर्तन ल्याइदियो। र उनी घरमा कसैलाई केही नभनी स्वामीको खोजमा निस्के। दुई वर्ष बित्यो तर योगीसँग भेट हुन सकेन। अब कसरी खोज्ने ? कसरी भेट्न सकिएला भनी निराश अवस्थामा एक दिन गङ्गा किनारमा स्वामी ज्ञानाश्रमको सानो कुटी देखे। त्यही कुटीमा स्वामी योगी ज्ञानाश्रमको दर्शन पाए। तत्पश्चात् चिकित्सा पेशा त्यागेर उनी मुक्ति र मोक्षको खोजमा नयाँ यात्रामा निस्के। यात्राको क्रममा दक्षिण भारतका आद्यजगत्गुरु शङ्कराचार्यको गद्दी शृन्गेरी मठ पुगे। त्यही समयमा शान्तानन्द सरस्वतीबाट ब्रह्मचारी दीक्षा लिए। उनकै आज्ञा अनुसार वाराणसीमा संस्कृत अध्ययन गर्न थाले। त्योभन्दा पूर्व उनी दुई वर्षसम्म स्वामीकै सान्निध्यमा रहे। तदनुपरान्त विभिन्न ठाउँमा बस्दै, अध्ययन गर्दै दक्षिण भारतको शृन्गेरी पीठ पुगे।

त्यहाँ श्री १००८ स्वामी शान्तानन्द सरस्वतीबाट सन्न्यास दीक्षा लिए। तत्पश्चात् गुरुद्वारा डा शिवनाथ डोगराको नाम सच्चिदानन्द सरस्वती राखियो। पछि उनी खप्तड लेक आए र साधना गरेपश्चात् उनको नाम खप्तडबाबा रहन गयो।

खप्तड लेकमा साधनारत रहेका खप्तडबाबाबारे देश–विदेशमा चर्चा परिचर्चा भइरहेको थियो। उनको प्रभाव नेपालका राजामा पनि परिसकेको

थियो। त्यसै कारण राजाले आप्mना जेष्ठ सुपुत्र दीपेन्द्रको व्रतबन्धमा आफैं खप्तड गएर बाबालाई ल्याएका थिए। व्रतबन्धपछि उनलाई दरबारमैं बस्न अनुरोध गरिएको थियो तर उनले अस्वीकार गरे र खप्तड नै फर्किए। उनीबारे विभिन्न तिलस्मी कथाहरू जोडिएका छन्।

खप्तडबाबाको साधनाको बल यति थियो कि उनी बाघसँग साथीजस्तै खेल्ने गर्थे, राजा महेन्द्र पनि उनलाई भेट्न बझाङ पुगेका थिए। आँखा नदेख्नेले उनको सामीप्य प्राप्त गरेपछि आँखा देख्न थालेको कुरा पछि उनका चेला डा चेतराज पन्तले उल्लेख गरेका छन्।

काठमाडौंबाट खप्तड फर्कने एक दिन अघि अर्थात् २०५३ वैशाख महीनाको तेस्रो हप्ता उनको बिदाइ कार्यक्रम तय भयो। ठीक एक दिन अघिसम्म उनले आप्mना चेला र भक्तहरूलाई दर्शन दिइरहेका थिए। अर्को दिन २०५३ वैशाख २६ गते बोल्दाबोल्दै ब्रह्मलीन भए। उनीबारे लेखेर लेखिसकिन्न।

अन्त्यमा,

खप्तड स्वामीबारे अहिलेका पुस्ताले जान्न जरुरी छ र उनीबारे लेखिएका र उनले लेखेका सातै कृति सबै शिक्षक र विद्यार्थीले पढ्नु जरुरी छ। सकिन्छ

भने उनका दुई कृति ‘विचार विज्ञान’ र ‘स्वास्थ्य विज्ञान’ स्थानीय सरकारले कक्षा ८ देखि १० सम्म पढाउने व्यवस्था मिलाउन सके विद्यार्थीको बानीबेहोरा र शिष्टाचारमा निकै ठूलो परिवर्तन आउने कुरामा यो स्तम्भकार विश्वस्त छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here