ओमप्रकाश चौधरी, सेढवा, ४ जेठ/
पटेर्वासुगौली गाउँपालिका–४ दाप सुगौलीमा १० शय्याको सुविधासम्पन्न अस्पतालको निर्माण सम्पन्न भएको छ ।

सङ्घीय सरकारको योजनाअनुरूप अस्पताल भवनको निर्माणसम्बन्धी ठेक्का मिलिनियम/सागर जेभीले सात करोड १० लाख रुपैयाँको लागतमा २०७९ जेठ १५ गते सम्झौता गरी दुई वर्षभित्र भवनको निर्माण गरेको हो ।

अस्पताल भवनमा बिरामीको चेकजाँच, बिरामी र कुरुवा बस्ने स्थान, प्याथोलोजी, एक्स–रे, औषधि वितरण शाखा तथा सवारीसाधनको पार्किङलगायतको सुबिधा रहेको छ ।

गापाध्यक्ष दिनेशकुमार चौधरीले लागत अनुसार कार्य सम्पन्न भएको बताए । उनले अस्पतालको सेवा सुचारु गर्नका लागि काउन्टर, दराज, बेड तथा अन्य फर्निचर व्यवस्थापन कार्य भइरहेको बताए ।

एम्बुलेन्स सेवा शुरु
प्रस, पोखरिया, ४ जेठ/
पटेर्वासुगौली गाउँपालिकाले आफ्नै एम्बुलेन्स सेवा शुरू गरेको छ । शुक्रवार गापा अध्यक्ष दिनेश चौधरीले पूजापाठ गरी एम्बुलेन्स सेवाको उद्घाटन गरे ।

उपाध्यक्ष ममता महतोले गापाका सबै वडामा एम्बुलेन्स सेवा यस अघिदेखि नै उपलब्ध रहे पनि नेपाल सरकारको भन्सार राजस्व छुटमा रु २१ लाखमा नयाँ एम्बुलेन्स खरीद गरेर सञ्चालनमा ल्याएको बताइन् ।

वडा नं ४ सुगौलीमा निर्माणाधीन १० शय्याको आधारभूत अस्पताललाई लक्षित गरी गापाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको उपाध्यक्ष महतोले बताइन् । उनले आधारभूत अस्पतालको निर्माण सम्पन्न भएको बताइन् ।

अध्यक्ष चौधरीले एम्बुलेन्स सेवाका लागि न्यूनतम शुल्क मात्र लिइने र दररेट पालिकाको आगामी बोर्ड बैठकबाट तय गरिने बताए । एम्बुलेन्सको सेवाका लागि चालकको मोबाइल नं ९८५४०७८३३३ र ९८१२२६२३९६ रहेको अध्यक्ष चौधरीले जानकारी दिए ।

अस्पतालबाट सेवाप्रवाहका लागि आज एम्बुलेन्सको पनि उद्घाटन गरी सञ्चालनमा ल्याइएको अध्यक्ष चौधरीले बताए ।

चालू आव २०८०/८१ मैं अस्पतालको उद्घाटन गरी सेवा सुचारु गर्ने अध्यक्ष चौधरीले बताए । सेवा सुचारुका लागि एमबिबिएस चिकित्सकसहित अन्य जनशक्तिको व्यवस्थापन गरिने अध्यक्ष चौधरीले बताए ।

निर्माण कम्पनीका सञ्चालक उमेश क्षेत्रीले अस्पतालको निर्माण कार्य समयमा सम्पन्न भएको तर हस्तान्तरण गर्न बाँकी रहेको बताए । उनले समयमा काम सम्पन्न गरे पनि पालिकाले रु ४० लाख भुक्तानी नगरेको गुनासो गरे ।

यसैगरी, ठोरी गापामा पनि १५ शय्याको अस्पतालको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । ठोरी गापा–२ चोक बजारमा १५ शय्याको अढाई तले अस्पताल भवनको निर्माण कार्यको ८५ प्रतिशत काम सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहाले बताए । अस्पताल भवनमा रङ्गरोगन तथा बिजुलीको वायरिङ गर्न बाँकी रहेको उनले बताए ।

सङ्घीय सरकारले अस्पताल निर्माणको रकम निकासा नगरेकोले काममा ढिलाइ भएको अधिकृत कुशवाहाले बताए । ठेकेदार कम्पनीलाई करीब दुई करोड भुक्तानी गर्न बाँकी रहेको र मूल्याङ्कन अनुसार रकम भुक्तानी गर्न पाए एक महीनाभित्रै कार्य सम्पन्न हुने अधिकृत कुशवाहाले जानकारी गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here