प्रस, परवानीपुर, ४ जेठ/
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि हालतमा वर्तमान सरकार नढल्ने दाबी गरेका छन् ।

बारा जिल्लाको प्रसौनी गाउँपालिकाको नवनिर्मित भवनको शुक्रवार उद्घाटन गर्दै अध्यक्ष ओलीले नेपाली काङ्ग्रेस सरकार ढाल्ने कसरतमा लागेको तर कुनै पनि अवस्थामा सरकार नढल्ने बताए । उनले वर्तमान सरकार एमाले, माओवादीलगायत दलहरूको समीकरण सरकार मात्र नभएर जनताको सरकार भएको र यसलाई कसैले ढाल्न नसक्ने बताए । उनले नेकाले अहिले संसद् अवरुद्ध गरेर संसदीय समिति बनाउने ढिपी सरकार ढाल्ने खेलतमाशा अन्तर्गत रचित घटना भएको बताए ।

उनले नेका आयोग बनाउन होइन सरकार ढाल्न खोजिरहेको छ र उसको इच्छा पूरा नहुने बताए । अध्यक्ष ओलीले अहिलेको राजनीतिक अवस्था राम्रो नभएको टिप्पणी गरे । सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ र जेठ १५ गते ल्याउने बजेटमा पुराना योजनाहरूका साथै नयाँ योजनाहरू समावेश गरिने बताए । उनले मधेसको विकासमा एमाले सदैव लागिपरेको दाबी गरे । मधेसमा सिंचाइ, यातायातको क्षेत्रमा नयाँ बजेटमा थप व्यवस्था गरिने उनले जानकारी गराए ।

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले एमाले मधेसमा ठूलो दल भएको र २०८४ मा सातवटै प्रदेशमा वर्चस्व बनाउने बताए । उनले प्रतिनिधिसभामा अहिले दोस्रो नम्बरमा रहेको एमाले २०८४ मा पहिलो नम्बरमा हुने दाबी गरे ।

नेकपा (एकीकृत समाजवादी)का सांसद किसान श्रेष्ठले सरकारलाई बारा जिल्ला र मधेसको विकासमा ध्यान दिन सुझाव दिए ।

गापा अध्यक्ष विनोद जयसवालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुमित सिंहले स्वागत गरेका थिए ।

प्रस, पंचगावाँ/
यसैगरी, एमाले अध्यक्ष्F ओलीले शुक्रवार सखुवाप्रसौनी गाउँपालिकाले निर्माण गरेको छात्रावासको उद्घाटन गरेका छन् । सखुवाप्रसौनी गापा–२ श्रीपुर पंचगावाँस्थित दीपनारायण आदर्श नमूना माविमा नवनिर्मित छात्रावासको अध्यक्ष ओलीले उद्घाटन गरेका हुन् । कार्यक्रम गापा अध्यक्ष यशवन्त यादवको अध्यक्ष्Fतामा भएको थियो ।

प्रस, वीरगंज/
यसैगरी, एमाले अध्यक्ष ओलीले शुक्रवार नवनिर्वाचित एमाले पर्सा जिल्ला कमिटीका पदाधिकारी सदस्यहरूलाई शपथग्रहण गराएका छन् । नगर सभागृहमा उनले एमाले पर्साको नवौं अधिवेशनबाट निर्वाचित अध्यक्ष डा विश्वम्भर शर्मा, उपाध्यक्ष मनोज गुप्ता, सचिव महेश दास, उपसचिव नबिजान मियाँ, सीता लामालगायत १३२ सदस्यीय कार्यसमिति सदस्यहरूलाई शपथग्रहण गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here