ओमप्रकाश चौधरी, सेढवा, ४ जेठ/
देशमा रोजगार सिर्जना हुन नसक्दा विदेश पलायन हुने युवाहरूको सङ्ख्या बढ्दो छ ।

देश आर्थिक मन्दीमा रहेको तथा बेरोजगारीको समस्याका कारण देशको विकासमा जुट्नुपर्ने युवा जनशक्ति विदेशिन बाध्य भएका छन् । पर्सामा अहिले वैदेशिक रोजगारका लागि खाडी मुलुक जान युवाहरूको लर्काे लागेको छ ।

पर्सामा आर्थिक अवस्था केही सबल रहेका युवाहरू रोजगारका लागि खाडी मुलुक जाने गर्छन् भने कमजोर आर्थिक अवस्थाका युवाहरू दैनिक ज्यालादारीका लागि भारतका विभिन्न शहर जान्छन् । जीराभवानी गाउँँपालिका वडा नं २ सेढवाको मुसहर बस्तीका प्रकाश माझी मुसहरका अनुसार सो टोलका घरैपिच्छे रोजगारका लागि भारत गएको बताए । सो बस्तीमा करीब ९० घरधुरी रहेको र हरेक घरबाट कम्तीमा दुईजना भारतका विभिन्न शहरमा मजदूरी गरी परिवारको गुजारा चलाइरहेका उनले बताए । केही घरका सम्पूर्ण सदस्य नै भारत गएका पनि उनले बताए । उनीहरू रोजगारका लागि खासगरी भारत, बिहारको पटना, उत्तर प्रदेशको गोरखपुर र कर्नाटकको बैंगलोरमा मजदूरीका लागि गएका माझलेले बताए । मजदूरीका लागि गएका उनीहरू दीपावली, छठ र महाशिवरात्रिमा जीराभवानीमा लाग्ने मेलाका बेला घर फर्किने गरेका माझीले बताए ।

ठोरी गाउँपालिका वडा नं ५ का अध्यक्ष अष्ठबहादुर लोप्चनले आफ्नो वडाका घरैपिच्छे कम्तीमा एकजना वैदेशिक रोजगारका लागि खाडी मुलुक गएका बताए । केही घरका दुई/तीन जना नै खाडी मुलुका गएका वडाध्यक्ष लोप्चनले बताए । खाडी मुलुक जानेमध्ये २५ प्रतिशत महिला रहेका उनले बताए । उनले आप्mनो वडाका करीब सयजना विद्यार्थी अध्ययन भिसामा जापान गएका बताए ।

पटेर्वासुगौली गाउँपालिका वडा नं १ का अध्यक्ष फरमान मियाँले आफ्नो वडाका अधिकांश युवा विदेश पलायन भएका बताए । उनले अहिले पनि यहाँका युवाहरूबीच रोजगारका लागि विदेश जाने प्रतिस्पर्धा नै चलेको बताए ।

जिल्ला प्रशासन कार्यालय, पर्साको तथ्याङ्कले राहदानी बनाउने अधिकांश रोजगारका लागि विदेश जाने युवाहरू रहेका देखिन्छन् । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सानोबाबू अधिकारीका अनुसार चालू आर्थिक वर्षको वैशाखसम्म छ हजार ७७३ जनाले राहदानी बनाएको बताए । जसमध्ये पाँच हजार ८६३ जना पुरुष र ९१० जना महिला रहेका सप्रजिअ अधिकारीले बताए ।

आव २०७८/७९ मा पाँच हजार १७३ जना र आव २०७९/८० मा १० हजार २० जनाले जिल्ला प्रशासन कार्यालय, पर्साबाट राहदानी बनाएका तथ्याङ्कले देखाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here