यतिबेला काठमाडौंका सडकहरूमा उच्च अदालत पाटनद्वारा गौशाला–२६ बलात्कार मुद्दामा पीडक पक्ष सन्दीप लामिछानेले सफाइ पाएपछि निस्केको पञ्चेबाजासहितको जुलुसले चोक–चोकर घरघरमा एउटा बहस चलाएको छ । साँच्चीकै भन्ने हो भने काठमाडौं मात्रै किन, देशैभरि यो बहस गम्भीररूपले चलिरहेको कुरा सामाजिक सञ्जालहरू नियाल्दा सजिलै अनुभूत गर्न सकिन्छ ।

यस मुद्दाको चर्चा बढी हुनुको प्रमुख कारण जिल्ला अदालतबाट दोषी ठहर भई सजाय मुकर्रर भइसकेको मुद्दा उच्च अदालतबाट उल्टिनु पनि हो । एउटै कानून अन्तर्गत एउटा तहले दोषी देख्ने अर्काेले निर्दाेष देख्दा के बुझ्ने ? तल्लो र माथिल्लो अदालती हैसियतले नै सही र गलत छुट्टिने हो त ? यसको मापदण्ड के ? यो एउटा गम्भीर प्रश्न हो । यदि तल्लो अदालतको फैसला गलत हो भने त्यो अदालतको कार्यक्षमता र निर्णयमाथि प्रश्नचिह्न उठ्ने कि नउठ्ने ? यो पनि आजको छलफलको विषय बन्नुपर्ने हो कि होइन ?

हुनत नेपालको अदालती इतिहासमा यस प्रकारका घटना प्राय घटि नै रहेको हुन्छ । तल्लो अदालतमा जित्ने, माथिल्लो अदालतमा हार्ने । तर ती घटनाहरू आम मानिसको सरोकार हुने, राष्ट्रिय रूपको कुनै सेलिब्रिटी नहुनाले चर्चामा आउँदैनन् । यसर्थ गौशाला–२६ को यो न्याय प्रकरण नयाँ र नौलो फैसला होइन । यस प्रकारको फैसला विगतमा गरिदै आएको पुरानो फैसलाहरूकै निरन्तरता हो । यस प्रसङ्गमा राजनीतिक प्रणालीसँग बाझिएको मुद्दा होस् वा राजनीतिका हाइप्रोफाइलका मुद्दाहरू होस् । मुद्दाहरू प्रायः अभियोगीकै हकमा टुङ्गिएको देखिन्छ । कतिपय अवस्थामा स्वयं अदालतकै नजीर पनि उलटपुलट भइरहेको पाइन्छ । जहाँसम्म फैसलापछि पञ्चेबाजा, खादा, माला र अबीर जात्रा निकाल्ने कुरो छ, यो पनि नौलो कुरा होइन । भ्रष्टाचार मुद्दामा जेल परेका झन्डावालहरू सफाइ पाएर वा कैद भुक्तान गरेर बाहिर निस्कँदा पञ्चेबाजा, खादा मालासहिते अबीरजात्रा विगतमा पनि थुप्रैचोटी नेपालीहरूले काठमाडौं उपत्यकामा देखेकै हुन् ।

जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई पुस महीनामा ८ वर्ष कैद सजाय सुनाएको थियो । न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीबाट पीडितलाई ५ लाख रुपियाँँ क्षतिपूर्ति भराउनुपर्ने आदेश पनि गरेको थियो । त्यतिबेला फैसलामा ‘परिवर्तित नाम गौशाला २६ (६) (१) ०७९–०८० को उमेर, प्रतिवादी सन्दीप लामिछानेको उमेर, घटना हुँदाको अवस्था प्रतिवादीको सामाजिक हैसियत, पीडितलाई परेको मानसिक असर समेतलाई विचार गर्दा प्रतिवादी सन्दीप लामिछानेलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (३) (ङ) बमोजिम ८ वर्ष कैद, दफा २१९ (३) (क) (ग) बमोजिम तीन लाख जरिवाना हुने तथा पीडितलाई पुग्न गएको मानसिक असर समेतलाई विचार गरी थप २ लाख रकम क्षतिपूर्तिबापत भराइदिने ठहर भएको थियो ।’ तर यतिबेला उच्च अदालत पाटनले लामिछानेलाई जबरजस्ती करणीको मुद्दामा काठमाडौं जिल्ला अदालतले दोषी ठहर गरेको फैसला उल्टाउँदै सफाइ दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले काठमाडौं जिल्ला अदालतले दिएको फैसला उल्टाएको हो । फैसलामा उमेर नपुगेको सरकारी पक्षको दाबी प्रमाणित नहुने र संलग्न सबुतप्रमाणले जबरजस्ती करणी गरेको पुष्टि नगर्ने देखिएको भन्दै अदालतले लामिछानेलाई सफाइ दिएको छ । हुनत पीडित पक्षको लागि अझै पनि सर्वाेच्च अदालत जाने ढोका खुला नै छ ।

आजको संसारमा एउटा ठूलो समस्याको रूपमा मानव समाजभित्र विभेद निम्त्याउने कारक तŒवको रूपमा पितृसत्ता पनि देखिएको छ । वास्तवमा यो पितृसत्ताले गर्दा संसारभरिका महिलाहरू मर्माहत र उपेक्षित भएका छन् । मानवता छुमन्तर हुन पुगेको छ । कहाँ हराएको होला हाम्रो समाजको मानवता ? वास्तवमा यी सबको पछाडि पितृसत्ताको ठूलो हात छ ।

मानिस सामाजिक प्राणी हो । समाज परिवार मिलेर बन्छ । परिवार दुर्ई प्रकारको हुन्छ । एकल परिवार र संयुक्त परिवार । एकल परिवारभित्र बाबुआमा र छोराछोरी हुन्छन् भने संयुक्त परिवारभित्र बाजेबज्यै बाबुआमा छोराछोरी, काकाकाकीसमेत हुन्छन् । एकल परिवारको अभ्यास आधुनिक हो भने संयुक्त परिवार निकै लामो समयदेखि चल्दै आएको छ । यी दुवैथरी परिवारभित्र महिलाहरू उपेक्षित, प्रताडित र अधिकारविहीन देखिन्छन् । दुवै परिवारभित्र पुरुषहरूकै हालीमुहाली चलेको देखिन्छ । यसलाई नै पितृसत्ता भनिन्छ । अहिले पनि गाउँँघरमा संयुक्त परिवार, थोरै भएपनि, देखिन्छ । तर शहरहरूमा प्रायः एकल परिवार भेटिन्छ । नेपाल भारतमा जहाँ ब्राह्मणवादी कर्मकाण्डमा आधारित धार्मिक समाजको बाहुल्य छ, त्यहाँ सामाजिक बनावट नै महिलाहरूलाई उपेक्षा गर्ने खालको छ ।

महिलाहरूको स्वतन्त्र अस्तित्वलाई धर्म र धर्मग्रन्थहरूले मान्दैनन् । उनीहरूका अनुसार नारी विवाहपूर्व बुवाको संरक्षणमा र विवाहपश्चात् लोग्नेको संरक्षणमा तथा त्यसपछि सम्पूर्ण बुढेसकाल छोराको संरक्षणमा रहनुपर्छ । यसरी घरपरिवारमा पुरुषहरू उच्च मानिन्छन् । महिलाहरू औपचारिकरूपमा मात्रै घरका सदस्य मानिन्छन् । उनीहरूसँग घरपरिवारको कुनै कुरामा निर्णय लिने वा स्थान दिने गरिंदैन । यति मात्र होइनस प्रजातान्त्रिक, लोकतान्त्रिक भनिने राजनीतिक पार्टीहरू समेत आप्mनो पार्टीभित्र महिलाको स्थान पुरुषको तुलनामा कमजोर बनाएर राख्छन् । मुखले वा पार्टी विधानमा अधिकार दिएजस्तो देखिए पनि व्यवहारमा महिलाहरूको उपस्थिति न्यून देखिन्छ । यस्तो हुनुको मुख्य कारण पितृसत्ता नै हो, पुरुषहरूको दिमागमा हजारौं वर्षदेखि गाडिएर बसेको पितृसत्ताको सर्वोच्चता नै हो । यसले गर्दा प्रत्येक कुरामा पुरुषहरू आपूmलाई प्राथमिकतामा राखेर सोच्ने गर्छन् ।

यसरी परिवारभित्र कसकी पत्नी कसको छोरा, कसकी आमा, कसकी बहिनी यी सबै कुराको छिनोफानो पुरुषको आधारमा गरिन्छ । कतै पनि आमा, दिदीबहिनीको नाउँ भन्ने प्रचलन छैन । समाजमा चलिआएको रूढिवादी परम्परा र अन्धविश्वासले पितृसत्तालाई निकै बलियो बनाउन सहायता गर्छ । साँच्चै भन्ने हो भने पुरुषद्वारा रचिएको धर्म र धार्मिक ग्रन्थहरूमा रूढिवादी कुराहरू, अन्धविश्वासी कथाहरू गढ्नुको एउटा मूल तात्पर्य यो पनि हो कि पितृसत्तालाई बलियो बनाउन सकियोस् र नारीहरूलाई पुरुष अधीनस्थ पारियोस् । हाम्रो समाजमा पितृसत्तालाई सामाजिक ढाँचा र कार्य व्यवस्थाको रूपमा परिभाषित गरिन्छ । जसमा पुरुषहरूको महिलामाथि वर्चस्व रहन्छ र उनीहरू महिलामाथि शोषण र दमन गर्छन् । हुनत आज महिलाहरूलाई पनि अधिकार दिएको, ऊबारे बोलेको, लेखेको जस्तो नगरिने होइन तर वास्तवमा व्यवहारमा पुरुषहरू महिलाहरूभन्दा श्रेष्ठ छन् र महिलामाथि पुरुषको नियन्त्रण छ वा हुनुपर्छ भन्ने जुन वैचारिकी छ त्यो नै पितृसत्ता हो । पितृसत्ताभित्र महिलालाई पुरुषको सम्पत्तिको रूपमा हेरिन्छ, बुझिन्छ वा परिभाषित गरिन्छ ।

पितृसत्ताले एउटा व्यवस्थाको रूपमा कसरी काम गर्दछ भनी बुझ्नको लागि यसको विचारधारा महŒवपूर्ण मानिएको छ । पितृसत्ताको मुख्य पक्ष महिलाहरू बीच सहमति सिर्जना गराउनु हो । जसको माध्यमबाट महिलाहरू पितृसत्तालाई कायम राख्न सहयोग गर्छन् । किनकि समाजीकरणको माध्यमबाट महिला स्वयंले पुरुष वर्चस्व आत्मसात् गर्छन् र उनीहरूलाई सहमति दिन्छन् । महिलाहरूको सहमति धेरै माध्यमबाट प्राप्त हुन्छ । जस्तैः उत्पादनका संसाधनमा उनीहरूको पहुँचको अभाव र परिवारको मुख्य व्यक्ति (बुवा, लोग्ने, दाइभाइ) माथि आर्थिक निर्भरता । यसरी विभिन्न माध्यमबाट महिलाहरूलाई पितृसत्तामा सहमति प्राप्त गर्नको लागि साधन बनाइन्छ । यसको आधारमा यो बुझ्न जरूरी छ कि पितृसत्ता एक वैचारिक प्रणाली मात्र हैन, यसको भौतिक आधार पनि छ । पितृसत्तामा महिलाहरू शक्ति र वर्चस्वको साधनबाट वञ्चित छन् । उनीहरूको सहमति सहज प्राप्त हुन्छ ।

अर्काेतर्पm महिलाहरू, जो पितृसत्ताको कानून र प्रथाहरूलाई सहयोग वा सहमति दिंदैनन्, उनीहरूलाई नराम्रो मानिन्छ र उनीहरूलाई पुरुषहरूको सम्पत्ति र सुविधाबाट वञ्चित गरिन्छ । पितृसत्ताको काम गर्ने यो प्रणालीले महिलाहरूलाई दुर्ई अलग शिविरमा विभाजित गर्दछ । उनीहरूबीच कहिल्यै समाप्त नहुने सम्बन्धमा विभाजित गरेर प्रतिस्पर्धाको खेल शुरू हुन्छ । भारतीय र नेपालीको समाजलाई पितृसत्ताको व्यवस्था अन्तर्गत ब्राह्मणवादी पितृसत्तात्मक समाजभन्दा फरक पर्दैन किनकि यहाँको समाज जात व्यवस्थामा आधारित छ । पितृसत्तात्मक व्यवस्थाको मुख्य विशेषता नै समाजका हरेक सदस्यलाई बराबर नमानेर उच्च वा तल्लो भनेर छुट्याउनु हो । यसको आधारमा ‘पितृसत्तात्मक व्यवस्था सधैं लोकतान्त्रिक मूल्य र मान्यताविपरीत रहेको छ’ भन्न सकिन्छ । पितृसत्ता रहुन्जेल जात, लिङ्ग, वर्ण, वर्ग, धर्म जस्ता विभेदहरू कायम रहन्छन् ।

पितृसत्तात्मक समाजमा महिलाहरूको स्वतन्त्रता र सुविधा कटौती भइरहन्छ । महिलाहरूलाई घरको काम, हेरचाह धेरैभन्दा धेरै गर्नुपर्छ अर्काेतर्पm घरेलु काममा उनीहरूको सम्मान कम छ । आर्थिक शोषणका साथसाथै उनीहरूलाई सामाजिक, सांस्कृतिक दमन र उत्पीडनको शिकार हुनुपर्छ । पितृसत्ताको रूप महिला अनुसार फरक हुन्छ । महिलाहरू जुनसुकै जात र वर्गको भए पनि उनीहरू पितृसत्ताबाट समानरूपले पीडित छन् । कुनै महिला आत्मनिर्भर (पैसा कमाउने) कामदार होइनन् भने उनलाई धेरैभन्दा धेरै घरेलु काम गराइन्छ र यदि कामदार हुन् भने धेरै पैसा कमाउने दबाब र कार्यक्षेत्रमा शोषण गरिन्छ । यहाँ शोषण दुवैथरी महिलामाथि हुन्छ, तरीका मात्रै फरक हुन्छ । आपूmलाई समाजको सबैभन्दा माथिल्लो तहमा रहेको ठान्ने ब्राह्मणहरू वा धनाढ्य वर्गभित्रका महिलाहरूसमेत समानरूपमा पितृसत्ताबाट पीडित रहेका देखिन्छन् ।

यसरी हामी के देख्छौं भने हाम्रो समाजको विकासमा मूल बाधक पितृसत्ता हो । पितृसत्ताले नै आफूलाई बलियो बनाउन धर्म, अन्धविश्वास, रूढिवाद जस्ता चीजहरूलाई संरक्षण गर्दै आएको छ । समाजभित्र जातपातको व्यवस्था गरेको छ । समाजमा सानो–ठूलो र छूत–अछूतजस्तो सामाजिक व्यवस्था कायम गरेको छ । जबसम्म पितृसत्ता वा जात व्यवस्था भत्काइँदैन तबसम्म कुनै पनि प्रकारको क्रान्ति पूरा हुन सक्दैन भन्ने कुरा सबैले बुझ्न जरूरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here