काठमाडौं, १ जेठ/रासस

विश्वकप छनोटको दोस्रो चरण अन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई)विरुद्ध हुने खेलका लागि मङ्गलवार २८ सदस्यीय नेपाली फूटबल टोलीको घोषणा भएको छ ।

नेपाली राष्ट्रिय फूटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टाे एनेसले प्रारम्भिक चरणमा २८ सदस्यीय खेलाडीको घोषणा गरेका हो । छनोट हुने नेपाली टोलीको गोलकीपरमा किरण चेम्जोङ, अभिषेक बराल, विशाल सुनार र सन्तोष महत रहेका छन् ।

त्यसैगरी, रक्षकमा अभिषेक लिम्बू, अनन्त तामाङ, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, रोहित चन्द, सनिश श्रेष्ठ, सौभाग्य राई, अजय चौधरी र योगेश गुरुङ छनोटमा परेका छन् ।

मिडफिल्डरमा भरत खवास, लकेन लिम्बू, मणिकुमार लामा, मनीष डाँगी, वसन्त जिम्बा, फत्तेमान घले, रोहन कार्की र सुमित श्रेष्ठ छन् भने फरवार्डमा अञ्जन विष्ट, दिनेश हेन्जन, जिलेस्पीजङ्ग कार्की, हिसुब थपलिया, समीर तामाङ र सञ्जीव विष्ट छन् ।

नेपाल र युएईबीचको खेल यही जेठ २४ गते दशरथ रङ्गशालामा हुने तय भएको थियो । तर दशरथ रङ्गशालाको मापदण्ड नपुगेको भन्दै एएफसी (एशियन फूटबल महासङ्घ)ले खेल ‘न्युट्रल भेन्यु’मा गर्न निर्देशन दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here