इन्डोनेशिया, ३१ वैशाख/एएफपी

सप्ताहन्तमा पश्चिमी इन्डोनेशियामा ज्वालामुखीबाट आएको आकस्मिक बाढी र चीसो लावा प्रवाहबाट प्रभावित भई मृत्यु हुनेको सङ्ख्या ४१ पुगेको छ । घटनामा परी थप १७ जना बेपत्ता भएको स्थानीय विपद् एजेन्सीका अधिकारीले सोमवार बताएका छन् ।

घण्टौंसम्म परेको भारी वर्षाका कारण शनिवार साँझ इन्डोनेशियाको सबैभन्दा सक्रिय ज्वालामुखीमध्येको एक सुमात्रा टापुको दुई जिल्लामा ठूलो ज्वालामुखीसहित चट्टान खस्दा सडक, घर र मस्जिदहरू जलमग्न भएका छन् ।   “गत रातिको आँकडा अनुसार हामीले ३७ वटा शव रेकर्ड गरेका छौं तर आज बिहान यो सङ्ख्या बढेर ४१ पुगेको छ,” पश्चिमी सुमात्रा विपद् न्यूनीकरण एजेन्सीका अधिकारी इल्हाम वहाबले भने । उनका अनुसार अझै पनि उद्धारकर्ताहरूले बेपत्ता १७ जनाको खोजी गरिरहेका छन् । यसमा अगम जिल्लामा तीन र तानाह दातारमा १४ जना छन् । दुवै जिल्ला बाढीबाट सबैभन्दा बढी प्रभावित क्षेत्र छन् । यहाँ लाखौं मानिस बस्छन् ।

अधिकारीहरूले मानिसहरूलाई आफन्तहरूकहाँ लगायत सुरक्षित स्थानमा जान प्रोत्साहित गरेका कारण इल्हामले खाली गरिएका स्थानीयहरूको सङ्ख्या भने पुष्टि गर्न सकेनन् । उनले पहिले पीडितहरूको खोजी र उद्धार गरी दोस्रो चरणमा विस्थापितहरूको सुरक्षा, कमजोर मानिसहरूको सुरक्षामा केन्द्रित रहेको बताए । “हाम्रो ध्यान सबैभन्दा पहिला पीडितहरूको खोजी र उद्धारमा छ, दोस्रो निकालिएका र कमजोर मानिसको सुरक्षामा छ,” उनले भने ।

स्रोतका अनुसार जिल्लाका सडकहरू नदीमा परिणत भएका छन् भने मस्जिद तथा घरहरू क्षतिग्रस्त भएका छन् । भारी वर्षाले छेउछाउका इलाकाहरूलाई माटोसहितको बाढीको पानीले डुबाएको छ र नजीकैको नदीमा सवारीसाधनहरू बगिरहेका छन् । ज्वालामुखीको खरानी र ठूला चट्टानहरू माउन्ट मारापीबाट तल झरेका छन् । लहर पनि भनिने चीसो लावा खरानी, बालुवा र कङ्कडसहितको ज्वालामुखीय सामग्री हो र यिनीहरू वर्षाले ज्वालामुखीको ढलानमुनि आउँछन् ।

अधिकारीहरूले बेपत्ता पीडितहरूको खोजी गर्न र मानिसहरूलाई आश्रयस्थलमा लैजान उद्धारकर्ता र रबर डुङ्गाहरूको टोली पठाएका छन् । स्थानीय सरकारले आगम र तानाह दातारका धेरै क्षेत्रमा निकासी केन्द्र र आपत्कालीन चौकीहरू स्थापना गरेको छ ।राष्ट्रिय विपद् न्यूनीकरण एजेन्सी (बिएनपिबी)ले तानाह दातारमा ८४ वटा घर, १६ वटा पुल र दुईवटा मस्जिदसहित २० हेक्टर धानखेतमा क्षति पुगेको जनाएको छ ।

इन्डोनेशियामा वर्षाको मौसममा पहिरो र बाढीको जोखिम हुन्छ । सन् २०२२ मा सुमात्रा टापुमा आएको बाढीमा करीब २४ हजार मानिसलाई बाहिर निकालिएको थियो भने दुईजना बालबालिकाको मृत्यु भएको थियो । वातावरणीय अभियानकर्ताहरूले प्रकोप निम्तिनुमा वनविनाशलाई दोष दिएका छन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here