प्रस, वीरगंज, ३० वैशाख/
जनता समाजवादी पार्टी नेपाल टुक्रिएसँगै मधेस प्रदेश सरकार सङ्कटमा परेको छ ।

पार्टी टुक्रिएसँगै मधेस प्रदेश सरकारबाट पनि जसपा नेपालले हात निकाल्नुपर्ने सिर्जना हुँदैछ । अहिले जसपा नेपालको नेतृत्वमा मुख्यमन्त्री सरोजकुमार यादव छन् । मधेस प्रदेश सरकारबाट नेकपा (एमाले) र (नेकपा) माओवादी केन्द्र आइतवारदेखि बाहिरिएका छन् । एमालेका मन्त्री सरोजकुमार यादव, राजकुमार लेखी, शत्रुघ्न सिंह, प्रमोदकुमार जयसवाल तथा राज्यमन्त्रीहरू केशव राय र शारदा थापाले मुख्यमन्त्री यादवलाई राजीनामा बुझाउँदै सरकारबाट बाहिरिएको बताए ।

माओवादी केन्द्रबाट मन्त्रिमण्डलमा रहेका संसदीय दलका नेता तथा वन तथा वातावरण मन्त्री भरत साह र उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराईले पनि आजै मुख्यमन्त्री यादवलाई राजीनामा बुझाएका छन् । मधेस प्रदेशसभामा एमालेको प्रत्यक्ष र समानुपातिक गरी २४, माओवादी केन्द्रको प्रत्यक्ष र समानुपातिक गरी आठजना सदस्य छन् । दुवै पार्टी मधेस सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री यादव नेतृत्वको जसपा नेपालको सरकार अल्पमतमा परेको छ ।

आजदेखि मुख्यमन्त्री यादवको सरकार अल्पमतमा परेपछि उनले अबको ३० दिनभित्र विश्वासको मत लिनैपर्ने भएको छ । यस अघि मुख्यमन्त्री यादवले दुई वर्षे कार्यकालमा चारपटक विश्वासको मत लिइसकेका छन् ।

पछिल्लोपटक यही वैशाख ६ गते विश्वासको मत लिएका थिए । नेपाली काङ्ग्रेससँगको गठबन्धन केन्द्रमा भत्किएपछि एमाले–माओवादी केन्द्रको समीकरणमा मुख्यमन्त्री यादवले विश्वासको मत लिएका थिए । प्रदेश सरकारबाट नेकाका मन्त्रीहरूले राजीनामा दिएपछि एमालेबाट मन्त्रिमण्डलबाट समावेश भएका थिए ।

मधेस प्रदेश सरकारमा प्रत्यक्षतर्पm ६४ र समानुपातिकतर्फ ४३ गरी १०७ जनाको प्रतिनिधित्व छ । नेकाको प्रत्यक्षतर्पm १३, समानुपातिक ९ गरी २२, जसपाको प्रत्यक्षमा नौ र समानुपातिकमा सात गरी १६, जनमत पार्टीको प्रत्यक्षमा छ र समानुपातिकमा सात गरी १३, लोसपाको प्रत्यक्षमा सात र समानुपातिक दुई गरी नौ, नेकपा (एकीकृत समाजवादी)को प्रत्यक्षमा चार र समानुपातिक तीन गरी सात र स्वतन्त्रमा छजना निर्वाचित भएकामा एकजना प्रमोद जयसवाल एमालेमा प्रवेश गरेका छन् ।

यसैगरी, समानुपातिकमा राप्रपा, नेपाल, सङ्घीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीको एक/एक सिट रहेको छ । मुख्यमन्त्री यादवले वैशाख ६ गते चौथोपटक विश्वासको मत लिएका थिए । एमाले र माओवादी केन्द्र सरकारबाट अलग्गिएसँगै मधेस प्रदेशमा नयाँ समीकरणको नयाँ सरकार बन्ने सम्भावना बढेको छ । ३० दिनभित्र मुख्यमन्त्री यादवले बहुमत सिद्ध गर्न नसके उनको सरकार ढल्ने र नयाँ समीकरणको सरकार बन्ने र सोही सरकारले असार १ गते मधेस प्रदेशको नयाँ बजेट ल्याउने सम्भावना बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here