धर्मेन्द्र चौरसिया, पोखरिया, २८ वैशाख/
पोखरिया नगरपालिका–४ मा शुक्रवारदेखि विष्णु महायज्ञ शुरू भएको छ । बिहीवार कलशयात्रा गरिएको र आजदेखि महायज्ञको कथावाचनसहित पूजन कार्य शुरू भएको छ ।
महायज्ञमा २५ जना वेदी पूजामा सहभागी छन् र त्यसमध्ये सातजना दलित समुदायबाट रहेका महायज्ञ आयोजक समितिका अध्यक्ष लक्ष्मण साह कानूले बताए ।
दलित उत्थान सामुदायिक समूहका अध्यक्ष मनिलाल रामले पोखरियावासीले दलितहरूलाई वेदी पूजामा सहभागी गराएर संविधानको पालना गर्नुका साथै समाजलाई नयाँ सन्देश दिएको बताए । उनले पर्सा जिल्लाकै विभिन्न पालिकाहरूमा दलितहरूलाई पूजाको अन्य कार्यमा सहभागिता गराउने तर वेदी पूजामा सहभागी नगराउने र सो कुरालाई लिएर विवाद हुँदै आएकामा पोखरियाले सन्देश दिएको बताए । उनले पोखरियामा जारी महायज्ञमा दलित समुदायहरूसँग कुनै पनि भेदभाव नगरिएको र छुवाछूतविरुद्धको आन्दोलनमा उत्कृष्ट साबित भएको दाबी गरे । अहिले वेदी पूजामा दलित समुदायबाट जादोलाल, गम्भीरा, जुगल, रमयाद, बाबुलाल, मोतीलाल र मनोज राम गरी सातजना सहभागी छन् । वेदी पूजामा उनीहरूसँगै निजका पत्नीहरू पनि छन् । वेदी पूजामा विवाहिता महिला–पुरुष दुवैजना सहभागी हुनुपर्ने प्रावधान छ ।
यसअघि, छिपहरमाई गाउँपालिकामा भएको महायज्ञमा दलितहरूलाई वेदी पूजामा सहभागी गराइएको थिएन । सोको विरुद्ध दलितहरूले महायज्ञको पूजन कार्य बहिष्कार गरेका थिए । उनीहरूको सहभागितामा चन्दा सङ्कलनलगायत महायज्ञको तयारी गरिएको तर अन्तिम समयमा वेदी पूजामा बस्न नदिएपछि उनीहरूले शान्तिपूर्णरूपमा पूजा बहिष्कार गरेका थिए ।
यसैगरी, गत वर्ष अलौंमा पनि छिपहरमाई जस्तै यज्ञका सबै काममा दलित सहभागिता गराइएको थियो भने वेदी पूजामा उनीहरूलाई सहभागी नगराइएपछि ठूलो विवाद भएको थियो । सखुवाप्रसौनीमा भएको महायज्ञमा पनि दलितहरूलाई सहभागी गराइएको थिएन ।
महायज्ञ आयोजक समितिका अध्यक्ष कानूले आजदेखि महायज्ञ विधिवत्रूपमा सञ्चालन भएको र जेठ ४ गते पूर्णाहुति भएर समापन हुने बताए । विश्व शान्तिको कामनासहित महायज्ञ आयोजना गरिएको र यसबाट पोखरियावासीको भलो हुने उनले विश्वास व्यक्त गरे ।
महायज्ञमा अयोध्याका रामप्रकाश गर्गको नेतृत्वमा १४ जना ब्राह्मणको टोलीले बिहान र साँझ वेदी पूजा गर्ने र साँझ अयोध्याबाटै आएको टोलीले रामलीला, रासलीला प्रदर्शन गर्ने आयोजक कमिटीले जनाएको छ ।
महायज्ञस्थल वडा नं ४ मा हिजोदेखि माछामासु र मदिराजन्य पदार्थको बिक्री बन्द गरिएको छ । महायज्ञका लागि वैशाख ३ गतेदेखि ध्वजारोहण गरिएको र त्यस बखतदेखि वडामा माछामासु घरमा खान प्रतिबन्ध लगाइएको थियो । बिक्रीका लागि भने हिजो कलशयात्रापछि प्रतिबन्ध गरिएको छ र जेठ ४ गते पूर्णाहुतिपछि माछामासु, मदिराको बिक्री खुला हुने आयोजक कमिटीले जनाएको छ ।