धर्मेन्द्र चौरसिया, पोखरिया, २७ वैशाख/
पोखरिया नगरपालिका–४ मा वैशाख २८ गते शुक्रवारदेखि हुने विष्णु महायज्ञको लागि बिहीवार कलशयात्रा निकालिएको छ । पोखरिया नपामा पहिलोपटक हुन लागेको विष्णु महायज्ञको कलशयात्रामा ठूलो सङ्ख्यामा मानिसहरूको सहभागिता थियो । करीब साढे तीन हजार महिला, युवतीहरू कलशयात्रामा सहभागी थिए भने सोही सङ्ख्यामा पुरूषहरूको पनि सहभागिता थियो । महायज्ञ स्थलबाट निकालिएको कलशयात्रा पोनपा–१० स्थित नदीबाट जल भरेर महायज्ञस्थलमा पुगेर समापन भएको थियो ।

वडाध्यक्ष लक्ष्मण साह कानूको अध्यक्षतामा निकालिएको कलशयात्रामा नगरप्रमुख प्रद्युम्न चौहान, उपप्रमुख रूबी ठाकुर, पूर्व नगरप्रमुख दीपनारायण रौनियार, नेता निजामुद्दीन समानी, आशा चFैहान, वडाध्यक्षहरू सोनालाल साह, महिन्द्र महतो चाई, केदार महतोलगायतको सहभागिता थियो ।

भोलिदेखि शुरू हुने महायज्ञमा २५ जना वेदी पूजामा बस्ने र त्यसमध्ये सातजना दलित समुदायको सहभागिता महायज्ञ आयोजक समितिले जनाएको छ । नौं दिनसम्म सञ्चालन हुने महायज्ञको पूर्णाहुति जेठ ४ गते हुने र यो क्रममा महायज्ञमा करीब ४० लाख खर्च अनुमान गरिएको छ । अयोध्याका रामप्रकाश गर्ग महायज्ञको यज्ञ आचार्य छन् भने उनको नेतृत्वमा १४ जना ब्राह्मणहरूको टोली रहेको छ ।

बिहान र साँझ पूजा गरिने र महायज्ञमा अयोध्याका विके बिहारीको नेतृत्वमा रामलीला, रासलीला गरिने आयोजक कमिटीले जनाएको छ । महायज्ञस्थलमा बालबालिकाहरूको मनोरञ्जनको लागि खेलतमाशाको पनि व्यवस्था गरिएको छ ।

यसैबीच, महायज्ञस्थल वडा नं ४ मा आजदेखि माछामासुको बिक्री बन्द गरिएको छ । महायज्ञ अवधिभरि माछामासुको बिक्री बन्द गरिएको वडाध्यक्ष कानूले बताए ।

उनले महायज्ञका लागि वैशाख ३ गते ध्वजारोहण गरिएपछि वडावासीलाई माछामासु नखान अनुरोध गरिएको र आजदेखि बिक्रीमा रोक लगाइएको बताए । यो अवधिमा महायज्ञस्थलमा मदिरा सेवन पनि प्रतिबन्ध गरिएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here