प्रस, वीरगंज, २७ वैशाख/
वीरगंज महानगरपालिका–१ छपकैया निवासी दशरथ गिरीले ८७ वर्षको उमेरमा बिहीवार बल्ल वंशजको नागरिकता पाएका छन् ।
यो उमेरसम्म ठेला चलाएर आफ्नो जीविकोपार्जन गर्दै आएका दशरथका पाँचजना छोरा छन् । उनकी पत्नी र छोराहरूको नागरिकता बनिसकेको छ । शुरूमा नागरिकता नबनाएका दशरथले अहिले उमेर हदका कारण ठेला चलाएर जीविकोपार्जन हुने अवस्था नदेखेपछि सरकारले दिने सामाजिक सुरक्षा भत्ताका लागि नेपाली नागरिकता बनाएका हुन् ।
पत्नी, छोराहरूको नागरिकता बनाउने बखतमा उनी नागरिकता बनाउन इच्छुक थिएनन् । अहिले आफ्नै कमाइबाट गुजारा गर्नुपर्ने अवस्था आएपछि सामाजिक सुरक्षा भत्ताका लागि दशरथ नेपाली नागरिकता बनाउन इच्छुक देखिएका हुन् ।
तर यसबीचमा उनलाई नेपाली नागरिकता प्राप्त गर्न निकै सकस सहनुप¥यो । टोली आउँदा र त्यसपछिका समयमा नेपाली नागरिकता पाउन सहज हुँदा अनिच्छुक दशरथलाई पछिल्ला समयमा नेपाली नागरिकता त्यो पनि वंशज प्राप्त गर्न थुप्रै कानूनी बाधा, अडचन सहनुप¥यो । बुबा र आमाको नाममा नागरिकता जारी नभएको, पत्नी र छोराहरूले भने नागरिकता पाएको अवस्थामा उनलाई नागरिकता आवश्यक भएको बखत कानूनी अड्चन सहनुप¥यो । लामो अन्तरालपछि नागरिकता पाउँदा दशरथ निकै खुशी देखिए ।
स्थानीय कृष्ण पटेलले दशरथलाई नागरिकता दिलाउन भूमिका खेलेका थिए भने वडाध्यक्ष मनोज कुर्मीले पनि दशरथलाई नेपाली वंशज नागरिकताका लागि सक्दो कानूनी सहयोग गरे । बिहीवार ८७ वर्षीय दशरथ गिरीलाई नेपाली वंशजको नागरिकता जिल्ला प्रशासन कार्यालय, पर्साका प्रशासकीय अधिकृत कृष्णप्रसाद खतिवडाले प्रदान गरेका थिए ।
नागरिकता प्राप्त गरेपछि खुशी हुँदै दशरथले भने– अब सरकारी सेवा र सुविधा पाउने भए । शारीरिक अवस्थाले अहिले ठेला चलाएर जीविकोपार्जन गर्न समस्या भएको र सरकारी सेवा, सुविधा पाएपछि केही राहत हुने उनले बताए ।