बारा जिल्लाको जीतपुरसिमरास्थित रामवन मुहान रहेको श्रीसिया नदी वीरगंज महानगरपालिका–३२ परवानीपुरस्थित सिद्धि टेक्सटाइल्सदेखि प्रदूषित भएको पाइएको छ । त्यस अघिको श्रीसिया नदी अहिले पनि निश्चल, सफा बगिरहेको छ । सिद्धि टेक्सटाइल्सपछि अरनिका टेक्सटाइल्सको प्रदूषित पानीले श्रीसियालाई झनै प्रदूषित पारेको छ । एव प्रकारले जीतपुरसिमरा, परवानीपुर र वीरगंज महानगरपालिकामा खुलेका नदीसँग जोडिएका उद्योगहरूबाट श्रीसिया नदी प्रदूषित हुँदै आएको छ । तीनवटा पालिकामा रहेका ६३ वटा उद्योग श्रीसिया नदी प्रदूषित पार्ने कार्यमा संलग्न देखिएका छन् । यो तथ्याङ्क महानगरपालिकाको वातावरण महाशाखाले हालै तयार गरेको सर्भेमा देखिएको हो । श्रीसिया नदी कुनै बेला अर्थात् चार दशक अघिसम्म स्वच्छ थियो । यो खोलामा मानिसहरू लुगा धुने, भाडा माझ्ने, नुहाउने र केहीले पिउनेसम्मका कार्यमा खोलाको पानी प्रयोग गर्थे । वस्तुहरूको लागि पनि नुहाउने थलो थियो, श्रीसिया । जनै पूर्णिमामा पुरुषहरू र श्रीपञ्चमीलगायतका पर्वहरूमा महिलाहरू श्रीसिया नदीमा पूजापाठलगायतका कार्यहरू गर्दै आएका थिए । अहिले छठपूजा मात्र गरिन्छ । छठपूजा पनि पछिल्लो समय यो खोलामा गर्ने क्रम कम भएको छ । यसपटक चैती छठमा कतिपयले नदी किनारामा खाल्डो खनेर पानी जम्मा गरेर अघ्र्य दिए ।
श्रीसिया नदीको पानी प्रदूषित भएको चार दशक भयो र यो क्रममा यस नदीबाट सिंचाइका लागि पनि पानीको प्रयोग हुन छाडेको छ । अति दुर्गन्धित अवस्थामा श्रीसिया नदी पुगेपछि त्यसको प्रयोग आम मानिसहरूको दैनिकीबाट टाढिएर अहिले उद्योगहरूको रसायनयुक्त पानी विसर्जन गर्ने थलो मात्र भएको छ । श्रीसिया नदी बचाउ अभियान सञ्चालन भएको पनि लामै समय भयो । विभिन्न सङ्घसंस्थाहरूले श्रीसिया नदीको पानी सफा गर्न दबाबमूलक कामहरू पनि गर्दै आएका छन् । यसबारेमा अनुगमन, प्रतिवेदनहरू पनि नबनेका होइनन् तर कुनै पनि दबाब, अनुगमन र प्रतिवेदनबाट श्रीसिया पुरानो लयमा बग्ने वातावरण तयार हुन सकेन । वीरगंज महानगरको कुरा गर्दा उद्योगहरूका कारण प्रदूषित श्रीसिया नदीको किनारामा फोहर फाल्ने कार्य पनि भयो । डम्पिङ साइट निर्माणपूर्व महानगरका फोहरहरू श्रीसियाको किनारामा विसर्जन गरिन्थ्यो । डम्पिङ साइट बनेपछि मात्र नदी किनारामा फोहर विसर्जन कार्य रोकिएको हो । नदी किनारामा महानगरले फोहर विसर्जन गर्दा छिमेकी भारत रक्सौलका नागरिकहरूले सोको विरोध गरेका थिए । अन्तर्राष्ट्रिय नियमको बर्खिलाप सो काम भएकोले रक्सौलमा सरिसवा (श्रीसिया) नदी बचाउ आन्दोलन नै भयो र धर्ना, प्रदर्शन, ज्ञापन दिने जस्ता कार्यहरू भए । वीरगंजमा पनि श्रीसिया बचाउ आन्दोलनहरू भए । धर्ना, जुलुस, ज्ञापन दिने कार्यहरू अनगिनत भए ।
श्रीसिया नदी प्र्रदूषणमुक्त गर्नको लागि उद्योगीहरूले मात्र इमानदारी देखाउन जरुरी छ । सरकारले उद्योगीहरूलाई तह लगाउन नसकेको अवस्थामा श्रीसिया नदी प्रदूषणको नाममा मन्त्रालय र विभागलाई खाने भाँडो बनेको छ । उद्योग स्थापनाकै क्रममा पानी प्रशोधन केन्द्र जडान गर्नुपर्ने प्रावधान छ । रसायनयुक्त पानीको काम गर्ने उद्योगहरूले मात्र पानी प्रशोधन केन्द्र स्थापना गरेर श्रीसियामा विसर्जनको व्यवस्था गर्दा समस्याको समाधान हुन्छ । तर अनिवार्यरूपमा गरिनुपर्ने यो काम अहिलेसम्म नगरिंदा समस्या भएको हो ।