केही वर्ष अघिसम्म गुणस्तरीय शिक्षाका लागि संस्थागत विद्यालयमा जानेको लर्को लाग्थ्यो । सामुदायिक विद्यालयमा अध्ययन गर्ने कुरा विद्यार्थीलाई लाजको विषय हुन्थ्यो भने अभिभावकको प्रतिष्ठाको विषय बन्थ्यो तर अहिले बुटवलका सामुदायिक विद्यालयमा चमत्कार हुन थालेको छ । गर्दा नहुने के रहेछ त ?

पछिल्ला केही वर्षदेखि देशमा सामुदायिक विद्यालयलाई कसरी गुणस्तरीय बनाउन सकिन्छ भनी जुन डिस्कोर्सले व्यापकता पाउन थाल्यो, त्यसको परिणाम बिस्तारैबिस्तारै सतहमा देखिन थालेको छ । पछिल्ला पाँच वर्षमा बुटवलका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूको सङ्ख्या बढेकोबढ्यै छ । सङ्ख्या धेरै भएपछि सामुदायिक विद्यालयलाई विद्यार्थी थेग्न गाह्रो भइरहेको छ ।

समुदायले हेर्ने दृष्टिकोण बदल्न सामुदायिक विद्यालयले जोडतोडले मेहनत गरे, तीनै तहका सरकारले शिक्षामा लगानी गरे । बुटवलका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न बुटवल उपमहानगरपालिकाले विशेष लगानी ग¥यो र योजना बुन्यो । नयाँ संरचना निर्माण र विज्ञान प्रयोशाला निर्माणले सामुदायिक विद्यालयको मुहार नै फेरियो ।

बुटवलको कान्ति माविमा अहिले झन्डै पाँच हजार विद्यार्थी अध्ययन गर्छन् । यस वर्ष एक हजार विद्यार्थी बढेका छन् । दक्ष जनशक्ति, आवश्यक भौतिक संरचना र नतीजा राम्रो भएकै कारण विद्यालयमा आकर्षण बढेको कान्ति माविका प्रधानाध्यापक गोविन्द ज्ञवाली बताउँछन् । “संस्थागत विद्यायमा खर्च बढी छ । न्यूनतम खर्चमा गुणस्तरीय शिक्षा पाएपछि विद्यार्थी यहाँ आउँछन्–“प्रअ ज्ञवाली भन्छन्–“सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने सरकारको निर्णयले गर्दा पनि सकारात्मक प्रभाव परेको हो ।” सामाजिक विकास डिभिजन कार्यालय लुम्बिनी प्रदेश भैरहवाबाट गरिएको मूल्याङ्कनमा आर्थिक वर्ष २०७८ –०७९ मा सो विद्यालय जिल्लाकै उत्कृष्ट ठहर भई पुरस्कृत भएको थियो ।

बुटवलकै नवीन औद्योगिक कदरबहादुर रिता माविमा पनि विद्यार्थीको बढी चाप छ । “विगतका वर्षहरूभन्दा विद्यार्थीहरू बढेका छन् र अहिले त विद्यार्थी राख्ने कोठा पनि छैन”–प्रअ प्रेमबहादुर बस्नेत भन्छन् । उनका अनुसार विद्यालय २०७० सालमा देशका ३३ उत्कृष्ट सामुदायिक विद्यालयमध्ये १९ औं स्थानमा तथा २०७५ मा लुम्बिनी प्रदेशमा पाँचौं स्थान र रूपन्देही जिल्लामा द्वितीय स्थानमा सूचीकृत भई ब्रिटिश काउन्सिलबाट आइएसए २०१७–२०२० र २०२१ देखि २४ प्राप्त गरेको छ ।

अङ्ग्रेजी माध्यममा अध्ययन–अध्यापन गराइँदै आएको सो विद्यालयका करीब २२ जना विद्यार्थी अघिल्लो वर्ष काठमाडौंसहित देशका विभिन्न इन्जिनीयरिङ क्याम्पसमा छात्रवृत्तिसहित छनोट भएका थिए । विद्यालयमा सिभिल इन्जिनीयरिङ, विज्ञान, व्यवस्थापन, होटल व्यवस्थापन, कानून र शिक्षाशास्त्र गरी ३,६१५ विद्यार्थी अध्ययनरत तथा १४८ शिक्षक–कर्मचारी छन् । विद्यालयमा स्टाफ नर्सको पनि व्यवस्था गरिएको छ ।

देशकै उत्कृष्ट सामुदायिक विद्यालयमध्ये एक र २०१८ सालमा स्थापित बुटवलको कालिका मानव ज्ञान माध्यमिक विद्यालयमा शिक्षा, विज्ञान, कानून, प्राविधिक शिक्षा र व्यवस्थापन सङ्कायमा अध्ययन–अध्यापन हुँदै आएको छ । विद्यालयका प्रअ दिनेश थापाका अनुसार २०७१ सालदेखि लगातार चारपटक विद्यालय अन्तर्राष्ट्रिय स्कूल अवार्डबाट सम्मानित भएको मात्र होइन, देशभरका सामुदायिक विद्यालयमध्ये सर्वोत्कृष्ट भई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट रु दुई लाखसहित पुरस्कृत पनि भएको छ । विसं २०७५ मा बुटवल–१० कै मानव ज्ञान माविसँग गाभिएर कालिका मानव ज्ञान बनेको विद्यालयमा ८,०७२ विद्यार्थी अध्ययनरत छन् । “हामी विद्यार्थीलाई पढाउनेभन्दा आफैं सिक्न प्रेरित गर्छौं र प्रोजेक्ट वर्कमा विशेष जोड दिन्छौं, यो नै हाम्रो सफलताको आधार हो”–प्रअ थापा भन्छन् ।

सानो चुहिने भवनबाट अध्ययन–अध्यापन शुरू भएको बुटवल– ११ स्थित नहरपुर मावि पनि अहिले भौतिक र शैक्षिक दुवै हिसाबले अगाडि छ । विद्यालयमा नयाँ भवनसहित पुस्तकालय र प्रयोगशाला पनि निर्माण गरिएको छ । पाँच वर्ष अघिसम्म झन्डै ६०० विद्यार्थी रहेको विद्यालयमा अहिले १,५५० विद्यार्थी अध्ययन गरिरहेका प्रअ धनिश्वर गौतम बताउँछन् । “हामीकहFँ निम्न आय भएका विद्यार्थी धेरै छन् । पढ्न चाहने जो कोहीलाई भर्ना लिने गरिएको छ”–प्रअ गौतम बताउँछन् । विद्यालयको शैक्षिक र भौतिक अवस्था सुधारका लागि उपमहानगरपालिकाले निकै सहयोग गरेको उनको भनाइ छ ।

शैक्षिक गुणस्तरमा मुलुककै उत्कृष्ट हुन लागिपरेका यस क्षेत्रका सामुदायिक विद्यालयहरूलाई उपमहानगरपालिकाको ‘सिङ्गो बुटवल एक विद्यालय’को अवधारणाले थप बल मिलेको छ । स्थानीय सरकारको पर्याप्त साथ र सहयोगले सामुदायिक विद्यालयका सञ्चालक, शिक्षक र विद्यार्थी हौसिएका छन् । सबै विद्यालयमा भौतिक पूर्वाधार र दक्ष जनशक्तिको प्रबन्ध गर्दै विद्यार्थीका लागि एकै खालका पोशाकको व्यवस्था गरिने उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्य बताउँछिन् । उनका अनुसार शैक्षिक गुणस्तर वृद्धि अभियान अन्तर्गत अब्बल शिक्षकले कुनै एक विद्यालयमा मात्र नभई नगरका आवश्यक सबै विद्यालयमा पुगेर पठनपाठन गराउनुपर्छ । यसले शिक्षाको गुणस्तर विकासलाई प्रभावकारी बनाउँछ ।

बुटवलमा स्थानीय पाठ्यक्रममा आधारित स्थानीय पाठ्यपुस्तक ‘हाम्रो बुटवल’ कक्षा १ देखि ८ सम्म लागू भएको छ । शैक्षिक स्तर वृद्धिका लागि उपमहानगरको सहयोगमा सामुदायिक विद्यालयमा विज्ञान र कम्प्युटर प्रयोगशाला निर्माण भएका छन् । उपप्रमुख आचार्यका अनुसार एक करोड ५० हजार बराबरको लगानीमा विभिन्न विद्यालयमा विज्ञान प्रयोगशाला र कम्प्युटर तथा सूचना प्रविधि प्रयोगशाला निर्माण गरिएको छ । शैक्षिक गुणस्तरको विकासबाटै दक्ष जनशक्ति उत्पादन हुने र त्यसबाटै ‘सबल आर्थिक केन्द्र समुन्नत बुटवल’ को अवधारणाबाट समृद्ध बुटवल निर्माणको लक्ष्य साकार पार्न सहज हुने प्रमुख शिवराज सुवेदीको जिकीर छ ।

उपमहानगरका शिक्षा शाखा प्रमुख टीकाराम पन्थीका अनुसार शैक्षिक सुधारका लागि कुल बजेट करीब ४० करोड विनियोजन गरिएको छ । यहाँका नौ सामुदायिक विद्यालयमा ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ लागू गरिएको छ । बुटवल माविमा कम्प्युटर तथा सूचना प्रविधि व्यवस्थापनका लागि रु छ लाख ५० हजार, उजिरसिंह माविमा कम्प्युटर अर्थात् सूचना प्रविधि प्रयोगशालाका लागि उपमहानगरमार्फत राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम गरी रु २५ लाख विनियोजन भएको थियो ।

लक्ष्मी मावि, नयाँगाउँ मावि, मोतीपुर मावि, भवानी मावि र अमर माविमा विज्ञान प्रयोगशाला र कम्प्युटर तथा सूचना प्रविधि व्यवस्थापन कक्ष सञ्चालित छ । यसका लागि प्रतिविद्यालय रु ६,५०,००० का दरले बजेट विनियोजन भएको थियो । यस्तै बुटवलकै जितेश्वरी माविमा रु ३० लाख बराबर लगानीमा नयाँ भवन निर्माण भएको उपमहानगरका शिक्षा शाखाका पन्थीले जानकारी दिए । उजिरसिंह माविमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत रु २५ लाख बराबर लगानीमा कम्प्युटर प्रयोगशाला निर्माण भएको छ । मोतीपुर माविमा अहिले ७२५ विद्यार्थी छन् । विज्ञान प्रयोगशाला सञ्चालन गरेर आवश्यकता अनुसार विस्तार गर्दै जाने योजना छ । पछिल्लो समय विद्यार्थी–चाप बढ्दा विद्यालयलाई थप ६ कोठा चाहिएको छ ।

बुटवल–१८ सौराहाको भवानी माध्यमिक विद्यालयको सानो झुपडीबाट शुरू भएर अहिले आधुनिक भवन निर्माण भएको छ । प्रअ मञ्जु घिमिरेका अनुसार भौतिक पूर्वाधार मात्र नभई गुणस्तरका हिसाबले पनि विद्यालय अगाडि छ ।

यस क्षेत्रका सामुदायिक विद्यालयको भौतिक पूर्वाधार र गुणस्तर बढेपछि अभिभावक पनि सन्तुष्ट छन् । “पहिले त छोराछोरी सरकारी स्कूलमा पढ्छन् भन्न गा¥हो लाग्थ्यो, अहिले गर्व लाग्छ”–अभिभावक राधिका खनाल भन्छिन् । अहिले सामुदायिक विद्यालयलाई हेर्ने दृष्टिकोण फेरिएको उनको भनाइ छ ।

विद्यार्थीमा पनि उत्साह जागेको छ । “अब आप्mनै विद्यालय राम्रो लाग्छ”–नहरपुर माविका विद्यार्थी सुस्मिता विकको अनुभव छ । उपमहानगर पालिकाको योजनाबद्ध कामले बुटवलका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा आमूल परितर्वन आएको हो । शैक्षिक विकासका लागि पञ्चवर्षीय योजना बनाएर कार्यान्वयन गरेको उपमहानगरले सबै विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिने लक्ष्य लिएको शिक्षा तथा स्वास्थ्य महाशाखा प्रमुख उपसचिव मित्रमणि खनाल बताउँछन् । त्यसका लागि उपमहानगरले छात्रवृत्ति, समयमा पुस्तक उपलब्धता, शिक्षकलाई प्रशिक्षण, विद्यालयको नियमित अनुगमन र शैक्षिक विज्ञसँग सुझाव लिएर विद्यालय सुधारको काम गरिरहेको छ ।

शैक्षिक गुणस्तर परीक्षण केन्द्रले यहाँका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर मुलुकमैं उत्कृष्ट साबित गरेको छ । सामुदायिक माविको कार्य सम्पादनमा बुटवलले उत्कृष्ट नतीजा दिएको हो । शैक्षिक गुणस्तर परीक्षण केन्द्रले देशभरिबाट नमूना विद्यालय छनोट गरेर सामुदायिक विद्यालयको कार्यसम्पादन परीक्षण गरेको थियो जसमा रूपन्देहीका १६ वटै पालिकाका २०० विद्यालयसहित देशभरका ९९६ विद्यालय समावेश थिए । बुटवल ८३.२ अङ्क ल्याउँदै प्रथम बन्यो ।

महाशाखा प्रमुख खनालका अनुसार विद्यालयका शिक्षक, कर्मचारी तथा बालविकास केन्द्रका सहयोगी कार्यकर्ताको तलबभत्ता महीनैपिच्छे भुक्तानी हुन्छ । पहिले चार महीना कुर्नुपथ्र्यो । सामुदायिक विद्यालयका १३,५७२ विद्यार्थीका लागि आवश्यक पाठ्यपुस्तकको रकम विद्यालयको खातामा निकासा गरिन्छ । नीतिगत र कानूनी मान्यतासहित शिक्ष्Fाको विकास होस् भनेर नगर शिक्षा ऐन कार्यान्वयनमा छ जसले संस्थागत विद्यालयमा पढ्ने बालबालिकाका लागिसमेत १० प्रतिशत जेहेनदार तथा लक्षित समूहका विद्यार्थीका लागि छात्रवृत्ति व्यवस्था गरेको छ ।

परीक्षाको नियमित अनुगमन, निरीक्षण र पृष्ठपोषणका काममा जनप्रतिनिधि आफैं खट्छन् । कम दरबन्दी रहेका केही विद्यालयमा ११ शिक्षकको व्यवस्था उपमहानगरले गरेको छ । विद्यालय उमेर समूहका बालबालिकालाई विद्यालय भर्ना गर्न शिक्षक मात्रै नभएर जनप्रतिनिधि नै खटाउने व्यवस्था छ ।

बुटवलले बालबालिकाको शिक्षाको गुणस्तर मापनका लागि सबै सामुदायिक विद्यालयमा कक्षा २ र ३ मा अध्ययन गर्ने २०/२० विद्यार्थीमा पठनसीपमा आधारित परीक्षण सञ्चालन गर्ने गरेको छ । यसको नतीजाले शिक्षामा सुधार भएको छ । शैक्षिक पात्रो र विज्ञ समूह निर्माण, छलफल, विद्यालयलाई पृष्ठपोषणका काम नियमित हुँदा विद्यालयको शैक्षिक गुणस्तरमा उल्लेख्य सुधार देखिएको हो । धार्मिक, वैकल्पिक तथा विशेष विद्यालयलाई नगर स्रोतबाट अनुदान उपलब्ध गराउने गरिएको छ ।

धार्मिक, वैकल्पिक तथा विशेष विद्यालयलाई नगर स्रोतबाट अनुदान उपलब्ध हुन्छ । उपमहानगरले विद्यालय र शिक्षकलाई प्रोत्साहन गर्न उत्कृष्ट अङ्क ल्याउनेलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने गरेको छ । बुटवलमा तीन मदर्सासहित ३८ सामुदायिक विद्यालय छन् । बालविकास केन्द्र ६१ तथा संस्थागत विद्यालय ५७ छन् । सबै विद्यालय गरेर करीब ५८ हजार विद्यार्थी छन् ।

अन्त्यमा,
वीरगंजका सामुदायिक विद्यालयमा भौतिक पूर्वाधारको कमी छैन । कमी छ छ भने दृढ सङ्कल्प, विज्ञ समूह गठन, विज्ञान र प्रविधिलाई शिक्षासँग जोड्ने, समुदायमा व्यापक बहस गरी समाजबाट अनुमोदन प्राप्ति, शिक्षित युवाहरूको सहयोग र सहकार्य । जबसम्म सामुदायिक विद्यालयको अवस्थामा सुधार हुँदैन तबसम्म दिगो विकासको परिकल्पना साकार हुँदैन र समाजमा दुई वर्गबीच खाडल रहिरहन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here