परम्परागत ‘भातवान’
निम्तो दिने व्यक्ति : बबुवा हो, आज भातवान ह । सपरिवार भोज खाए आइह लोगन । मिलजुल के करेधरे के बा ।

निम्तो पाउने व्यक्ति : हँ भैया, हमरा पता बा । ओहिसे आज हम खेत में काम करे ना गइनी ह ।
उपरोक्त पारम्परिक संवादभित्र स्नेहपूर्ण सम्बन्ध ठम्याउन सकिन्छ । किनभने निम्तो दिने र पाउने दुवैजनाको मनोभाव उत्सुकतापूर्ण छ । निम्तो दिने परिवारप्रति निम्तो पाउने व्यक्तिको समर्पित भाव महसूस गर्न कठिन छैन ।

आधुनिक भातवान
निम्तो दिने व्यक्ति : बबुवा हो, आज भातवान ह । साँझ के घरभर के लोग खाए आ जइह लोगन ।

निम्तो पाउने व्यक्ति : देखना हमरा परिवार (पत्नी) के तबियते खराब बा । जातानी अस्पताल । प्रयास करेम आवेके ।

उपरोक्त आधुनिक संवादमा वर्तमान माहोल झल्किरहेको छ । अपवादबाहेक आजको परिवेशमा अपनत्वमाथि मनगढन्त समस्या हाबी छ । यो आजको वास्तविकता हो ।

‘भातवान’ मधेसी लोकजीवनको अर्थपूर्ण र महत्ववपूर्ण लोक परम्परा हो । भातवानमा केवल रक्तसम्बन्ध भएका भातृत्व परिवार सामेल हुन पाउँछन् । मधेसी समाजमा रक्त–सम्बन्ध भएकालाई ‘पट्टीदार’ सम्बोधन गरिन्छ । माङ्गलिक होस् वा अमाङ्गलिक, कार्यक्रमको अन्तिम दिन पट्टीदारलाई भोज खुवाउनैपर्ने चलन छ । माङ्गलिक, अमाङ्गलिक वा धार्मिक आदि जस्तोसुकै कार्यक्रम/भोजको अन्तिम दिन भातवान (भोज) हुन्छ । यो नितान्त पारिवारिक भोज हो । धन सम्पत्तिको अंशबण्डा भए तापनि रक्तको सम्बन्धमा बण्डा गर्न सकिंदैन । समय क्रममा परिवार जति खण्डमा विभाजन भए तापनि रक्तको सम्बन्धलाई विभाजन गर्न सकिंदैन । सनातन संस्कृतिमा रक्तको सम्बन्ध छुटयाउने उपमक्रमहरू छन् । त्यो हो जात, गोत्र र पुर आदि ।

वर्तमान अवस्थामा भातवानको मूल मर्म, बहुभोज/प्रीतिभोजजस्ता आधुनिक प्रचलन हाबी हुँदै जाँदा विलुप्त हुने अवस्थामा छ । उहिले पाँच/सात पुस्ता एकासगोलमैं बस्ने परम्परा थियो । भोजभतेरको उतरार्धमा भातवानको चलन किन चलाइयो ? किनभने उहिले कार्यक्रमको जिम्मेवारी एक परिवार वा काँधमा सिमित थिएन । पटीदारको सहयोगमा सम्पन्न हुन्थ्यो । त्यस कारण भोजभतेरको अन्तिम दिन एकसाथ बसेर सौहार्दपूूर्ण वातावरणमा भोज खाएपछि मानसिक र शारीरिक थकान मेटिन्थ्यो । भातवान कार्यक्रमबाट फुर्सद पाएको अनुभूति गराउने उपक्रम हो ।

पैतृक सम्पतिको अंशबण्डासँगै एकअर्काप्रति बेइमानी र ईष्र्या अङ्कुरित हुने क्रम बढ्दो छ । आन्तरिक कलहले अद्भुत लोक परम्परामा पनि रीत पु-याउने मानसिकता बढ्दोे छ । अहिलेको माहोल हेर्दा भोजभतेरको निम्तो दिने र पाउने अवस्था उहिलेजस्तो रहेन ।

लोकजीवन र लोकपरम्परा एक अर्काका समपूरक हुन् । लोकपरम्परा मानव सभ्यताको भलोको निम्ति स्थापित भएका छन् भन्ने कुरा स्वयं बोध गर्न सकिन्छ । मानव जीवनबाट लोकपरम्परा झिकिदिने हो भने जनजीवन कस्तो हुन्छ ? अवश्य पनि अधूरो र अपूरो लाग्छ । पृथ्वीको गोलार्धभित्र समाज र स्थान अनुसार पृथक–पृथक लोकपरम्परा अस्तित्वमा छन् ।

पटीदारबीच कुनै कारणले परस्पर द्वेष सृजना भए भोजभतेरको बेला सामेल नभएर, प्रकट गर्ने मानसिकता छ । जसरी पनि सहभागी गराउनुपर्ने संस्कार र बाध्यता अहिले अपवादबाहेक छैन । अर्को शब्दमा भन्ने हो भने भातवान परिवारमा अपनत्व बढाउने उपक्रम हो । यद्यपि वर्तमान समयमा एकअर्काप्रति बढ्दो तिक्तताका कारण पुरातन परम्परा क्रमभङ्ग हुने खतरा उच्च छ ।

भातवान भन्नाले भातको भोज हो । यसको अर्थ भातवानमा केवल भात मात्र पस्किइन्छ भन्ने होइन । भातसँगै सहायक भोज्य पदार्थ दाल, तरकारी, अचार, पापड, तिलौरी, पकौडा, दही र घ्यू आदि अनेकथरी हुन सक्छ । तर सहायक भोज्य पदार्थ आआप्mनो आर्थिक क्षमता अनुसार व्यवस्था गरिन्थ्यो । यद्यपि भात चाहिं भातवानको अनिवार्य र प्रमुख भोज्य पदार्थ हो ।

पुरातन भोज
ग्रामीण क्षेत्रमा कुनै पनि समारोहमा दुई प्रकारको भोज हुन्थ्यो, पक्की र कच्ची । पक्की भोज भन्नाले खीर, पुडी, तरकारी, जलेबी, बुनिया र दही । त्यसैगरी कच्ची भोज भन्नाले भातजन्य भोज । भातवानमा सामेल हुने अधिकार सबैको हुँदैन । रक्तको सम्बन्ध भएका मानिसहरूबीच जातभातको सम्बन्ध भनिन्छ ।

पुरातनकालमा ग्रामीण क्षेत्रमा प्रायःजसो खाने संसाधन ज्वार, बाजरा र मकै थियो । उहिले मकै र चनाको खेतीपाती बढी हुन्थ्यो । धान र गहुँको खेती न्यून हुन्थ्यो । त्यस कारण धान नदारद खाद्यान्नमा गनिन्थ्यो । यस्तो अवस्थामा वैवाहिक समारोह वा विशेष अवसरमा भात खान पाइन्थ्यो ।

पुरयिन (कमलको पात) र मोगलान (जङ्गली पात) को पातमा भोज खाने चलन थियो । ‘पराल/नियारी’ को बिठई (बस्ने साधन) मा बसेर खाने अवस्था अहिले केवल स्मरणमा जीवित छ । भोजभतेरमा रामगिलास (माटोको गिलास) प्रयोग गरिन्थ्यो । दाल, भात घ्यू, तरकारी र दही खुवाइन्थ्यो । सबैभन्दा अमूल्य कुरा भने श्रद्धापूर्वक खाने और खुवाउने चलन थियो । भोजमा प्रयोग हुने ठूलो अकारको भाँडोलाई भोजपुरीमा ‘झाँगा/हाँडा’ भनिन्थ्यो । बाँसको दौरामा भात छानेर सिमसिम मरदानी खटियामा बिछाएर भात राखिन्थ्यो । ईंट र माटोले बनेकोे चुलोमा पकवान पकाइन्थ्यो । टोल छिमेकका मानिस एकजुट भएर सहयोग गर्दथे ।

त्यसबेला कमाउने एकजना र खाने दर्जनौं हुुन्थे । अपवादबाहेक खेती किसानीको भरमा परिवारको प्रतिपालन हुन्थ्यो । भोजभात श्रद्धा व्यक्त गर्ने माध्यम पनि थियो । यद्यपि बदलिंदो परिवेशमा समाजमा खासगरी धन, सम्पत्ति, पैसाको समय अहिले चलिरहेको छ । तर न भोजभात, न परम्परा, न त्यो श्रद्धा छ अहिले । कहींकतै पुरानो परम्परा यदि छ भने टर्च बालेर खोज्नुपर्छ । लाल्टेन, मिन्टर र पेट्रोमैक्सको उज्यालोसँगै भुइँमा लामो पङ्क्तिमा बसेर खाने त्यो क्षण् अब केवल स्मरण गर्न सकिन्छ ।

उहिले गाउँमा न टेन्ट हाउस थियो न कैटरिङ । थियो त मात्र, सामाजिकता । गाउँमा कसैको घरमा विवाह आदि कार्यक्रम हुँदा घरघरबाट कुर्सी, बेन्च, त्रिपाल, थाल, लोटा, गिलास, चुलेसी, करछुल, कराही आदि निस्वार्थ भावले आदानप्रदान गर्ने चलन थियो । महिलाहरूले गर्ने काम महिलाले र पुरुषहरूले गर्ने काम पुरुषले गर्थे । त्यसमा लेश मात्र स्वार्थ हुन्थेन । एकअर्काको घरमा सहयोग गर्ने नैतिकता समाजमा भरपूर थियो ।

गाउँमा कसैको घरमा जन्ती आउँदा एक व्यक्ति, घर वा परिवारको नभई गाउँको इज्जत मानिन्थ्यो । त्यस कारण गाउँभरिका मानिस सहयोग गर्न एकजुुट हुन्थे । जन्तीले खाना नखाएसम्म गाउँका मानिसहरू खान्थेनन् । किनभने खाना कम भयो भने गाउँको इज्जतको सवाल मानिन्थ्यो । साँच्चै भन्ने हो भने त्यो समय सामाजिकतासँगै समरसताले भरिपूर्ण समय थियो ।

बिदाईको समय नगद नारायण एक–दुई रुपियाँदेखि पाँच–दशको नोट कतैकतै २० रुपियाँसम्म दिइन्थ्यो । हुनत लालाबालाहरूले विवाहमा प्राप्त गरेको नगद नारायण माताजीहरूद्वारा ‘चारआना’ (पच्चीस पैसा) आठआना (पचास पैसा) ले साटिदिने अवस्था वास्तवमा अत्यन्तै रोचक थियो । हालको पुस्ता त्यो परिवेशबाट वञ्चित भइसकेको छ । मधेसी सभ्यताको अद्भुत परम्परा भातवान अहिले अपवादबाहेक रिसराग र द्वेषमा परिणत हुन थालेको दुःखद अवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here