गिलगिट (पाकिस्तान), २१ वैशाख/एएनआई

पाकिस्तान अधिकृत कश्मीरको गिलगिट–बाल्टिस्तानको डायमर जिल्लामा यात्री बस साँघुरो पहाडी सडकमा दुर्घटना भई खोलामा खस्दा कम्तीमा २० जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार शुक्रवार बिहान ५ः३० बजे डायमरको काराकोरम राजमार्गको यशोखल क्षेत्रमा बस दुर्घटना भएको थियो । रावलपिन्डीबाट गिलगिटतर्पm गइरहेको बसमा कम्तीमा ३८ जना यात्री सवार रहेको प्रहरीले जनाएको छ । 

दुर्घटनापछि दुर्घटनास्थलमा उद्धार टोली पठाइएको छ भने घाइते तथा शवलाई चिलास अस्पताल लगिएको छ । स्वास्थ्य विभागका निर्देशकका अनुसार मृतकमध्ये तीनजना महिला पनि रहेको जियो न्युजले जनाएको छ ।

जियो न्युजसँग कुरा गर्दै डायमरका उपायुक्त फयाज अहमदले कम्तीमा पाँचजना घाइते यात्रीको अवस्था गम्भीर रहेको र दुईजनालाई गिलगिट शहर सारिएको बताए । अहमदले दुर्घटनाका पीडित परिवारसँग नियमित सम्पर्कमा रहेको जानकारी दिएका छन् । तीव्र गतिका कारण मोड लिने क्रममा बस दुर्घटना भएको अधिकारीहरूले जनाएका छन् ।

गिलगिट–बाल्टिस्तानका मुख्यमन्त्री हाजी गुलबर खानले घटनाप्रति शोक व्यक्त गरेका छन् । उनले प्रशासन र उद्धारकर्ताहरूलाई घाइतेलाई तत्काल चिकित्सा सहायता प्रदान गर्न आदेश दिएका छन् । यसैगरी गिलगिट–बाल्टिस्तान सरकारका प्रवक्ताले चिलास अस्पतालमा आपतकाल लागू गरिएको घोषणासमेत गरेका छन् ।  रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here