माधव तिमल्सिना, ठोरी, २० वैशाख/

ठोरी गाउँपालिका–२ स्थित अमृतधारा छोटी भन्सार कार्यालय पुनः सञ्चालनमा आएको छ। कर्मचारी अभावमा लामो समयदेखि बन्द सो छोटी भन्सारको बुधवार भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले उद्घाटन गरेकी हुन्।

पर्साको सुदूरपश्चिममा रहेको ठोरीस्थित छोटी भन्सार कार्यालयको भवन छ वर्षअघि बने पनि कर्मचारी  नहुँदा सञ्चालनमा आएको थिएन, जसले गर्दा राजस्व चुहावट हुँदै आएको थियो। वीरगंज भन्सार कार्यालय मातहत सो छोटी भन्सार सञ्चालन नहुँदा ठोरी र विशेषगरी चितवनको माडीका जनतालाई सास्ती हुने गरेको थियो। 

ठोरीसँग सिमाना जोडिएको भारतको भिखना ठोरीमा भन्सार कार्यालय नभए पनि एकतर्फीरूपमा नेपालमा सो भन्सार कार्यालय सञ्चालनमा आएको हो।  विशेषगरी भारतबाट खाद्यान्न, लत्ताकपडालगायत सामान ठोरी भएर आउने गरेको भएपनि भन्सार नहुँदा स्थानीयवासीलाई समस्या हुने गरेको थियो।

भन्सार कार्यालय पुनः सञ्चालनमा आएपछि राजस्व चुहावट रोकिने बताइएको छ। यस्तै, ठोरी भएर प्रवेश गर्ने सवारीसाधनलाई नेपालमा भन्सार गर्नसमेत वीरगंज नै पुग्नुपर्ने बाध्यता पनि अब हट्ने भएको छ। वर्षमा ३० दिनसम्म भारतीय सवारीलाई अस्थायी आवतजावत गर्न तथा एकपटकमा १० हजारसम्म घरायसी प्रयोजनका सामानमा भन्सार तिर्न सहज हुनेछ।

भन्सार कार्यालयको उद्घाटन गर्नुअघि आयोजित कार्यक्रममा भरतपुर महानगर प्रमुख दाहालले भन्सार कार्यालयलाई महानगरका तर्फबाट गर्नुपर्ने सम्पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरिन्। यस्तै, बाग्मती प्रदेशसभा सदस्य ठाकुरप्रसाद ढकालले छोटी भन्सारको निरन्तरताको निमित्त ठोरीका जनप्रतिनिधि र स्थानीयको महत्वपूर्ण भूमिका रहने बताए।

कार्यक्रममा ठोरी गापाका अध्यक्ष लालबहादुर श्रेष्ठले भन्सार कार्यालय सञ्चालनमा पहल गर्ने सबैलाई धन्यवाद दिंदै पालिकाको तर्फबाट भन्सार कार्यालयलाई आवश्यक सहयोग गर्ने बताए। यस्तै, भन्सारकै कारण स्थानीयलाई दैनिक उपभोग्य सामान ल्याउन सास्ती नहोस् त्यसतर्फ सबै सजग रहनुपर्नेमा उनको जोड थियो। कार्यक्रममा माडी नगरपालिकाकी प्रमुख ताराकुमारी काजीमहतो, भन्सार विभाग प्रमुख ढुण्डीराज निरौलालगायतले मन्तव्य व्यक्त गर्दै छोटी भन्सारको दिगोपनको निमित्त स्थानीय जनप्रतिनिधि, स्थानीयवासीले साथ दिनुपर्नेमा जोड दिएका थिए। पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी, ठोरी गापाका पूर्वअध्यक्ष पदमलाल श्रेष्ठलगायत ठोरीका जनप्रतिनिधि एवं स्थानीय विभिन्न

दलका नेता, कार्यकर्ताहरूको सहभागिता थियो। 

कार्यक्रममा समृद्ध ठोरी अभियानका संयोजक प्रकाश खनालले ठोरी छोटी भन्सारलाई अविलम्ब स्तरीकरण गर्न भरतपुर महानगरकी प्रमुख दाहालमार्फत प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएका थिए। सो अवसरमा संयोजक खनालले महानगरप्रमुख दाहाललाई मायाको चिनो हस्तान्तरण गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here