प्रस, वीरगंज, १८ वैशाख/
वीरगंज महानगरपालिकामा सामुदायिक विद्यालयभन्दा संस्थागत विद्यालय बढी छन् र त्यसमा अध्ययनरत बालबालिकाको सङ्ख्या पनि बढी छ ।

वीरगंज महानगरपालिका कार्यालय शिक्षा महाशाखाले दिएको तथ्याङ्क अनुसार महानगरमा ९१ वटा सामुदायिक विद्यालय छन्, जसमा ४२ हजार ९०२ जना विद्यार्थी अध्ययनरत छन् । यसको तुलनामा संस्थागत (निजी) विद्यालयको सङ्ख्या भने १३५ छ, जसमा ५८ हजार २३४ जना विद्यार्थी अध्ययनरत छन् ।

शिक्षा महाशाखाले विद्यालयबाहिर एकजना पनि विद्यार्थी नरहेको दाबी गरेको छ । शिक्षा महाशाखाले विद्यालय भर्ना हुने र बीचमा अध्ययन छाडेर बाहिरिने सङ्ख्या रहेको जनाएको छ । शिक्षा महाशाखाले विद्यालय भर्ना हुने, पोशाक, छात्रवृत्ति लिने तर विद्यालयमा वर्ष दिन टिकेर बस्ने सक्ने प्रवृत्ति नदेखिएको जनाएको छ । यो प्रवृत्ति सामुदायिक विद्यालयहरूमा भर्ना भएका दलित परिवारका बालबालिकाहरू बढी देखिएको जानकारी गराएको छ । शिक्षा महाशाखाले सामुदायिक विद्यालयमा २१ हजार ३६३ छात्रा र २१ हजार ५३९ छात्र रहेको बताएको छ ।

संस्थागत विद्यालयमा भने छात्र–छात्राबीचको सङ्ख्यामा ठूलो अन्तर छ । छात्र ३५ हजार ९५० जना छन् भने छात्रा २२ हजार २८४ जना मात्र छन् । शिक्षा महाशाखाले नयाँ शैक्षिक सत्रमा विद्यालयमा कक्षा वृद्धि भएका विद्यार्थीहरूसँग प्रवेश शुल्क लिएको गुनासो नआएको जनाएको छ । अहिलेसम्म नयाँ भर्ना भएका विद्यार्थीबाहेक कसैसँग पनि प्रवेश शुल्क लिएको गुनासो नआएको सो शाखाले जनाएको छ । महानगरले यसअघि नै नयाँ भर्ना हुने विद्यार्थीबाहेक कक्षा वृद्धि भएर माथिल्लो कक्षामा जानेहरूसँग प्रवेश शुल्क नलिन निर्देशन दिएको थियो ।

नयाँ भर्ना भएका विद्यार्थीहरूसँग एक महीनाभन्दा बढीको प्रवेश शुल्क लिन नपाइने र सबै विद्यार्थीसँग दुई महीना बराबरको वार्षिक शुल्क मात्र लिन पाउने व्यवस्था गरिएको सो शाखाले जनाएको छ ।

यस परिधिभन्दा बाहिर गएर कसैले कारोबार गरेको छ भने महानगरमा उजूरी गर्न शिक्षा महाशाखाले सुझाव दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here