बुबा : बेटा, परीक्षा में केतना नमर आ सकता ?
सन्तान : ए प्लस, पापाजी ।
बुबा : वाह बेटा ! जिय ! अग्रिम बधाई बा । ले हई रसभरी खा के मुह मीठ कर ले ।
सन्तान : पापाजी, एगो रसभरी रउवो खा लि ।
उपरोक्त संवादमा माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्भावित नतीजाबारे बुबाले छोरासँग चासो पोखेको देखिन्छ । छोराले ‘ए प्लस’ भन्यो । मनोवाञ्छित समाचार सुनेपछि अभिभावकलाई हर्ष हुने नै भयो । यस्तो अवस्थामा हर्षित अभिभावकले खुशीको सास फेर्नु, सन्तानलाई अग्रिम बधाई दिनु र हातमा मिठाइको डब्बा थमाउनु स्वाभाविकै हो । अनि सन्तानले अभिभावकको मुख मीठो पार्ने सुखद पक्ष खासै आश्चर्यको विषय होइन ।
खोतल्दै जाँदा उपरोक्त संवादको पृष्ठभूमिमा एउटा स्वाभाविक र अर्को अस्वाभाविक गरी दुई प्रकारका रहस्य समाहित छन् । प्रणालीले निर्दिष्ट गरेको दायरामा दिइने/लिइने परीक्षा र नतीजाले स्वाभाविक खुशी प्रदान गर्छ । र त्यो समाजको लागि उदाहरणीय बन्छ । त्यसैगरी, अस्वाभाविक खुशी भन्नाले परीक्षामा अनियमितता गरी सोबाट प्राप्त गरेको परिणाम हो, जुन विद्यार्थी र अभिभावकलाई बाहेक अरूलाई यो रहस्य थाहा हुने कुरा होइन । गलत क्रियाकलाप मानिसले कहिल्यै सार्वजनिक नहोस् भन्ने चाहन्छ । यद्यपि मार्ग विचलित विद्यार्थीलाई प्रोत्साहनसँगै कर्मबोध गराउने दायित्व पनि समाजकै हो ।
माथिको संवादको दोस्रो पाटोमा जाऔं । किनभने औषधि बिरामीलाई आवश्यक पर्छ । स्वस्थ व्यक्तिलाई सामान्य परामर्श नै काफी हुन्छ । सन्तानले ‘ए प्लस’ आउने भनेपछि अभिभावकको लागि यो उत्तर अपेक्षाकृत थियो । किनभने बुबालाई पहिलेदेखि सन्तान अब्बल हुने रहस्य ज्ञात थियो । त्यस कारण उनी बजारबाट रसभरी लिंदै आएका थिए । अभिभावक स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि हुन् । उनैले परीक्षा केन्द्रमा चाँजोपाँजो मिलाइदिएका रहेछन् । त्यस कारण परीक्षार्थीभन्दा बढी उत्सुक अभिभावक थिए । परीक्षा सम्पन्न भइसकेपछि अभिभावकको मनमा एउटै छटपटी छ । नतीजा कहिले आउला ?
सन्तानको सुख–समृद्धिको कल्पनामा हराउने ती अभिभावक आफ्नै विगतमा विलीन भएछन् । उनको मस्तिष्कमा फिल्मको रिलझैं चल्न थालेको उक्त विगत यस प्रकार छ ।
एएलसीको नतीजा प्रकाशित हुने समय थियो । अनुत्तीर्ण हुने सम्भावना प्रबल थियो । अनिष्टको आशङ्कामा एक दिनअगावै हजामसँग शरीरको मालिस गराइसकेका थिए । शब्दकोशमा कहिल्यै नभेटिने शब्दहरू कानले सुन्नुपर्ने सम्भावना त्यत्तिकै थियो । अभिभावकको दुर्वचन सुन्न कान तयार थियो । प्रत्येक विषयमा ३२ अङ्कको लागि ३३ करोड देवीदेवताहरूको सहारा लिनुको विकल्प थिएन । एकमुस्ट सवा रुपैयाँको लड्डु अर्पण गरे । परीक्षा दिइसकेपछि र नतीजा प्रकाशित नहुन्जेल, मन्दिरको चक्कर काट्ने प्रक्रिया दिनचर्यामा समावेश थियोे । ईश्वरमाथि अगाध श्रद्धाभाव देखेर छिमेकीहरू चकित थिए । बाटो हिंड्दा उनीहरू भोज खाने उत्सुकताले भरिपूर्ण भएर अनुहार नियाल्थे ।
एकातर्फ अनुत्तीर्ण हुने तनाव थियो नै, अर्कोतर्फ समकक्षीहरूको सफल हुने सम्भावनाले तनाव बढेको बढ्यै थियो । एक्लै अपमान सहने वा उनीहरूको साथ गुमाउने चाहना त पटक्कै थिएन । आफू अनुत्तीर्ण र साथीहरू उत्तीर्ण भए बाटो बदलिने डरसँगै केटी साथीहरूबाट अलग हुने डर पनि थियो । किनभने कक्षाकोठामा दिनुपर्ने समय केटीहरूलाई प्रभावित पार्नको लागि रेस्टुरेन्ट, पार्क र गल्लीहरूमा लगानी भएको थियो ।
फिल्मी शैलीमा अनेकौं झूटको खेतीले एकाधजना केटीहरूको तर्फबाट सकारात्मक सङ्केत आएको थियो । यो सोचेर उसको आत्मा काप्यो । आफू अनुत्तीर्ण भए के होला ? तर उसलाई भविष्यको होइन, प्रेमको भविष्यको चिन्ता बढी थियो । समग्रमा भन्नुपर्दा बुबाको हातबाट शरीरको हड्डी बचाउने र प्रेमिकाको ह्दय छियाछिया हुनबाट जोगाउने सम्पूर्ण अभिभारा एसएलसीको नतीजामा निहित थियो । यसैबीच नतीजा आयो ।
पत्रिकापसलमा उच्च भीड थियो । अभिभावकले चौथो श्रेणीबाट खोज्न भने । उसले अभिभावकतर्फ रिसाएर हे-यो । अनि तेस्रो श्रेणीबाट खोज्न शुरू ग¥यो । तलदेखि माथिसम्म पटकपटक खोजे पनि रोल नम्बर भेटिएन । प्रथम र दोस्रो श्रेणीमा खोज्ने हिम्मतै थिएन । अन्ततः अभिभावकले सोधे, “पिटाइ कहाँ खाने ? सडक, गल्ली कि घरमा ?” सन्तानले इच्छा जाहेर गर्नुुअघि फोनको घण्टी बज्यो । साथीले उत्तीर्ण भएको जानकारी दियोे । उसको खुशीको सीमा थिएन । बुबा पनि औंधी खुशी भए । पछि उसको उत्तीर्ण हुनुलाई त्यस क्षेत्रमा ठूलो आध्यात्मिक घटना मानियो । भगवान्लाई नमान्नेहरू मान्न थाले, र जो भगवान्मा विश्वास गर्थे, उनीहरूले ऊ उत्तीर्ण भएको खबर सुनेर भगवान्लाई मान्न छाडिदिए ।
यसपालि एसइई चलिरहँदा प्रश्नपत्र र अनियमितताजन्य खबर नबाहिरिएको विरलै कुनै दिन थियो । परीक्षाको मर्मविपरीत हर्कत जहाँसुकै र जोसुकैबाट भए तापनि सोको निन्दा गर्नैपर्छ । प्रश्नपत्र बाहिरिनु वा परीक्षामा अनियमितता हुनु अत्यन्तै गम्भीर विषय हो । अतः तलदेखि माथिसम्म विराजमान नियामकहरू प्रश्चचिह्नको दायरामा नआउने कुरै भएन ।
विद्यार्थीहरूको मार्ग विचलित पार्ने कारणहरूमध्ये (१) आधुनिक जीवनशैली (२) सामाजिक सञ्जाल (३) विद्यालय र (४) अभिभावकहरू हुन् भन्ने लाग्छ । आधुनिक वातावरणमा विद्यार्थीहरूको चासो पढाइभन्दा बढी सामाजिक सञ्जालमा केन्द्रित छ । त्यसैगरी, परीक्षाको बेला शतप्रतिशत उत्तीर्ण र अब्बल श्रेणीको लागि विद्यालयले चाँजोपाँजो मिलाउने हर्कत छँदैछ । त्यसैगरी, अभिभावकजनको हर्कत पनि सराहनीय भन्न सकिंदैन ।
युवा मस्तिष्कमा स्थापित नजीर जीवनपर्यन्त रहिरहन्छ । यसको अर्थ सबै विद्यार्थी, अभिभावक र विद्यालय विचलित छन् भन्ने होइन । “हुने बिरुवाको चिल्लो पात” भनेझैं समाजमा उदाहरणीय विद्यालय, विद्यार्थी र अभिभावकहरूको कमी छैन । विद्यार्थी जीवन भन्नाले आफूले आफैंलाई सपार्ने शुभ समय हो । त्यसैगरी, परीक्षाले आफ्नो योग्यतासँगै कमीकमजोरी अनुभूत गरी स्वयंलाई दिशानिर्देश गर्ने र सुधार गर्ने विधि हो । त्यस कारण परीक्षामा अनियमितता गरी प्राप्त नतीजा र सोबाट उत्पन्न हुने हर्ष तत्कालीन हो, दीर्घकालीन हुँदै होइन ।
माथि उल्लिखित कथाका ती सज्जनको घरमा गुनासो नपुगेको कुनै दिन थिएन । सन्तान घरमा हुँदा मोबाइल र बाहिर निस्किंदा बहाना गरी मोटरसाइकल लिएर हिंड्थ्यो । सवारी चालक अनुमतिपत्र नभएको त्यो सन्तानले ८० को भन्दा बढी गतिमा मोटरसाइकल हुइँकाउँथ्यो, कम गतिमा उसलाई मजा आउँदैनथ्यो । फेरि उसले चलाएको मोटरसाइकलमा तीनजनाभन्दा कम सवार हुने कुरै थिएन । उसले नयाँ मोटरसाइकलको साइलेन्सर झिकिदिएको थियो । त्यस कारण मोटरसाइकल चलाउँदा ठूलो आवाजले वृद्धवृद्धा, महिला, बालबालिका र उच्च रक्तचापका बिरामी त्रासले सडकमा लड्थे । अनि ऊ मख्ख पथ्र्याे । यसरी उसलाई औंधी आनन्दको अनुभूति हुन्थ्यो ।
मोटरसाइकल चलाउँदै सडकमा केटीहरूलाई जिस्क्याएको आरोपमा ऊ कयौंपटक प्रहरी खोरमा पुगेको थियो । तर अभिभावक जनप्रतिनिधि भएकै कारण शक्ति र पहुँचको आधारमा केही घण्टामैं थुनामुक्त हुन्थ्यो । अनि उसलाई बुबाको शक्तिमाथि गर्व हुन्थ्यो । अभिभावक सन्तानको भविष्य उज्ज्वल पार्ने दिशामा स्वयम् अग्रसर थियो । सत्तामा छँदै करार सेवामा नै भएपनि सन्तानलाई जसरी पनि सरकारी जागीरमा लगाउने धोको थियो । त्यस कारण साम, दाम, दण्ड र भेद आदि कुनै पनि प्रक्रियाले सन्तानलाई उत्तीर्ण भएको हेर्ने/सुन्ने अभिभावकको अभिलाषा थियो ।
एक पालिका अन्तर्गतका विद्यालयहरूको परीक्षा केन्द्र अर्को पालिकाका विद्यालयमा तोकिन्छ । यसो गर्नुको मुख्य उद्देश्य भनेको पारदर्शी र अनियमिततारहित परीक्षाको परिकल्पना हो । परीक्षा अनियमितताशून्य, मर्यादित र अनुशासित हुनैपर्छ । परीक्षाको मर्यादा उल्लङ्घन गरी परीक्षार्थीले जतिसुकै उच्च ग्रेड हासिल गरेको भएपनि सोको कुनै अर्थ हुँदैन । किनभने आगामी शैक्षिक यात्रामा आफूसँग भएको योग्यता मात्र काम लाग्छ । चिटको भ-याङमा चढेर उक्लेको योग्यता कहिल्यै काम लाग्दैन । निष्ठा र परिश्रममा आधारित योग्यता जीवनपर्यन्त काम लाग्छ, जुन जीवन रहेसम्म नष्ट नहुने अमूल्य सम्पत्ति हो ।