प्रस, वीरगंज, ६ वैशाख/
चैत महीना बितेसँगै नयाँ वर्ष २०८१ वैशाख महीनामा विवाहको लगन जोडसोडले शुरू भएको छ । नेपाली पञ्चाङ्ग अनुसार वैशाख महीनामा ६ र ७ गते दुई दिन मात्रै विवाहको लगन छ । तर ऋषिकेश (भारतीय पञ्चाङ्ग) अनुसार वैशाख १४ गतेसम्म विवाहको लगन रहेको छ ।
पुरोहित उत्तम उपाध्यायले नेपालमा पाँच ग्रह शुद्ध गरेर पञ्चाङ्ग तयार गरिने हुँदा वैशाखमा दुई दिन विवाहको साइत देखिएको र भारतमा आठ ग्रह शुद्ध गरेर पञ्चाङ्ग बनाइने हुनाले १४ गतेसम्म विवाहको लगन देखिएको बताए । उनले सीमासँग जोडिएको पथलैयासम्म ऋषिकेश पञ्चाङ्ग अनुसार अक्ष्Fांश र देशान्तर मिलेकोले वैवाहिक कार्यक्रम हुँदै आएको यो क्ष्Fेत्रमा वैशाख १४ गतेसम्म वैवाहिक लगन रहेको बताए ।
सनातन हिन्दू धर्म अनुसार वर्षमा छ महीना वैवाहिक कार्यक्रमको लागि साइत हुन्छ भने छ महीना हुँदैन । नेपाली र भारतीय पञ्चाङ्ग अनुसार साउनदेखि कात्तिकसम्म र पुस तथा चैत गरी छ महीना वैवाहिक कार्यक्रम हुँदैन ।
यसैगरी, मङ्सिर, माघ, फागुन, वैशाख, जेठ र असार गरी छ महीना वैवाहिक कार्यक्रम हुने गरेको छ । आर्य समाज अन्तर्गत भने वर्षमा आठ महीना वैवाहिक कार्यक्रम हुने गरेको छ । आर्य समाजले पुस र चैतमा पनि वैवाहिक कार्यक्रम गर्दै आएको छ ।
अहिले विवाहका कार्यक्रमहरू भइरहेका छन् र परम्परागत विवाहलाई आधुनिकीकरण गरी बढी खर्च, तामझामले वैवाहिक कार्यक्रम भइरहेका छन् । पुरोहित उपाध्याय भन्छन्, पहिलेको वैवाहिक कार्यक्रममा पनि बुकुवा (हल्दी) दल्ने र मेहदी लगाउने कार्यक्रम हुन्थ्यो । बुुकुवा दल्ने र हातखुट्टामा मेहदी लगाउने विधि विवाह अन्तर्गत नै परे पनि अहिले यसलाई आधुनिकीकरण गरी छुट्टै कार्यक्रमको साथ खर्चालु बनाइएको उनी बताउँछन् । अहिले बुकुवा दल्न एक दिन, मेहदी लगाउन एक दिन, सङ्गीत कार्यक्रम गर्न एक दिन र वैवाहिक कार्यक्रम छुट्टै दिन सम्पन्न हुने गरेको छ ।
थारू समुदायको विवाहमा सुधार |
ओमप्रकाश चौधरी, सेढवा, ६ वैशाख/ थारू समुदायमा भने वैवाहिक कार्यक्रमलाई कम खर्चिलो गरिंदैछ । थारू समुदायमा जन्ती गएपछि वधूपक्षको घरमा दुई रात, तीन दिन बिताउने चलन थियो । तेस्रो दिन साँझ जन्ती फर्काउने गरिन्थ्यो । यो बीचमा जन्तीलाई खाना, खाजाको व्यवस्था गर्दा वधूपक्षलाई निकै भार हुने गरेको थियो । अहिले रात्रि विवाह थारू समुदायमा नगन्य मात्रामा भइरहेको छ । अहिले थारू समुदायले दिउँसै विवाह सम्पन्न गर्दैछन् । यसो गर्नुको कारण बास बसाउने, खुवाउने खर्चमा बचत हुनुका साथै बाजागाजा, सङ्गीतमा हुने खर्चमा पनि बचत हुने गरेको छ । यो समुदायमा राति मदिरासेवन गरेर वैवाहिक कार्यक्रममा होहल्ला, झगडा हुने गरेको थियो तर अहिले दिउँसो विवाह गर्दा यी सबै समस्या आफैं नियन्त्रित भएका छन् । पर्सा जिल्लाको थरुहट क्षेत्रमा वैवाहिक कार्यक्रमहरू अहिले दिउँसो हुने गरेको स्थानीय थारू समुदायका अगुवा बताउँछन् । आर्थिक स्थिति कमजोर भएकाहरूले पनि अहिले पनि मन्दिरमा विवाह गरेर मितव्ययिता देखाउने गरेका छन् । यो समुदायमा पनि वरपक्षको भोजमा वधूपक्षको सहभागिता बढ्दो छ । खासगरी बारा जिल्लाबाट यो चलन शुरू भएको र पर्सा जिल्लामा पनि बिस्तारै जरो गाडेको थारू अगुवा बताउँछन् । पहिले छोरीको घरमा पानीसमेत नपिउने अभिभावकहरू अहिले छोरीको घरमा रमाउने गरेका छन् । |
तीन दिनसम्म वैवाहिक कार्यक्रम हुँदा खर्च बढी हुने गरेको छ । नेपाली समाजमा मेहदी र सङ्गीतको परम्परा नरहे पनि अहिले तराई–मधेस र राजधानीलगायत ठूला शहरहरूमा यो परम्पराले जरो गाड्दै आएको छ ।
पत्रकार महेश दास भन्छन्, मधेसी समाजमा अहिले परम्परागत वैवाहिक कार्यक्रम आधुनिकीकरणमा परिवर्तन भइरहेकाले खर्चको भारलाई बढाएको छ । हुनेखानेहरूले हल्दी, मेहदी, सङ्गीत कार्यक्रम छुट्टाछुट्टै गरेकाले त्यसैको सिको मध्यम र निम्न मध्यमवर्गले गर्दा आर्थिक व्ययभार बढाएको उनले बताए । उनले पहिले छेका, कथा मटकोर र वैवाहिक कार्यक्रम हुने गथ्र्यो । अहिले कथा मटकोर गरिन्छ तर परम्परा निर्वाह गर्नलाई मात्र । यसको सट्टा अहिले हल्दी, मेहदी, सङ्गीत कार्यक्रमले प्राथमिकता पाएको उनी बताउँछन् ।
वैवाहिक कार्यक्रममा तराई–मधेसमा स्वजातीय र समाजका अन्य जातका मानिसहरूलाई गरी दुई चरणमा भोज गराइन्थ्यो तर अहिले तीन–चार चरणमा भोजभतेर भइरहेको र यसले खर्चलाई बढाएको उनी बताउँछन् । पहिले वैवाहिक कार्यक्रम टोल, समाजमा हुने गरेकामा अहिले पार्टी प्यालेस, होटेल र हुनेखानेहरूले देशका विभिन्न शहर तथा विदेशमा गएर वैवाहिक कार्यक्रम गरिरहेका छन् । यसले पनि समाजमा अस्वस्थ प्रतिस्पर्धा भिœयाएको उनी बताउँछन् ।
परम्परागतरूपमा मधेसी समाजमा तिलकको कार्यक्रम हुन्थ्यो भने पहाडी समाजमा टीकाटालोको । दुवै समाजका मानिसहरू वरपक्षबाट वधूपक्षको घरमा गएर तिलक, टीकाटालो कार्यक्रम गर्थे । अहिले यो लोपप्रायः भएको छ । वैवाहिक कार्यक्रममैं यसलाई सीमित गरिएको छ । वैवाहिक कार्यक्रममा भएको यो परिवर्तनसँगै अहिले बिहे भोजमा पनि केही परिवर्तन भएको छ । पहिले बेहुलीपक्षले टोल, समाज र जन्तीलाई छुट्टाछुट्टै भोज खुवाउँथे । त्यसैगरी, वर पक्षले पनि बेहुली भिœयाएपछि टोल, समाजको लागि छुट्टै भोजको व्यवस्था गर्थे । तर अहिले वरपक्षले जन्ती लगेर वधूपक्षकै भोजमा सीमित गरेको पनि पाइएको छ । यसले गर्दा वैवाहिक कार्यक्रममा भोजकै विषयलाई लिएर टीकाटिप्पणी हुन थालेको छ । यस्तै, पहिले वधूपक्ष वरपक्षको घरमा गएर पानी पनि नपिउने चलन थियो तर अहिले वैवाहिक कार्यक्रम सम्पन्न भएपछि वरपक्षले दिने विवाह भोजमा वधूपक्षका मानिसहरू पनि सहभागी हुने गरेका छन् । शुरूमा राजधानी केन्द्रित र ठूला शहरबाट अहिले तराईका जिल्लाहरूमा पनि यो परम्परा देखिन थालिएको छ ।