प्रस, रौतहट ६ वैशाख
प्रादेशिक अस्पताल गौरमा रेबिजविरुद्धको खोपको एक महीनादेखि अभाव रहेको छ । प्रदेशबाट पठाउने गरेको रेबिजविरुद्धको खोप एक महीनादेखि नपठाएकोले खोपको अभाव भएको प्रादेशिक अस्पताल गौरले जनाएको छ । प्रदेशबाट महीनामा २५० भाइल रेबिजविरुद्धको खोप आउने गरे पनि तीन हप्तामैं सकिने गरेको अस्पतालले जनाएको छ ।

माग अनुसार खोप नआएका कारण सधैं अभाव हुने गरेको छ । बहुला कुकुरले टोक्दा लगाउने एन्टिरेबिज खोप स्वास्थ्य आपूर्ति व्यवस्था केन्द्र मधेस प्रदेश जनकपुरले वितरण गर्ने गरेको छ । दैनिक १५ देखि २० जना कुकुरले टोकेका बिरामीहरू अस्पताल आउने गरेको अस्पतालको आकस्मिक विभागले जनाएको छ ।

रेबिजविरुद्धको खोप सरकारले निश्शुल्क प्रदान गर्छ । तर स्थानीय स्वास्थ्य संस्थाले व्यवस्थापन खर्चबापत रकम लिने गरेको छ । अस्पतालमा रेबिजविरुद्धको खोप नपाउँदा बिरामीहरूले निजी क्लिनिकबाट चर्को मूल्य तिरेर किन्नुपर्ने बाध्यता छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here