नितेश कर्ण, वीरगंज, ६ वैशाख/
जिल्ला प्रहरी कार्यालय, पर्साले बिहीवार दिउँसो वीरगंज महानगरपालिका–६ महावीरस्थानमा रहेको पमपम बिल्डिड्ढा चारवटा गोदाममा छापा मारी करोडौं मूल्यको भन्सार छलीका कपडाहरू बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले छापा मारिएको स्वीकारे तर सम्पूर्ण विवरण प्राप्त नभएको बताए । उनले छापामारी चालू रहेको र कपडाहरू बरामद भएकाले यकीन विवरण आएपछि पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराउने बताए ।
तर यो घटनामा प्रहरीले पमपम बिल्डिङमा रहेको काजल इम्पेक्सलाई पनि घेरेकोले सो सामान उसैको हुन सक्ने अनुमान गरिएको छ । काजल इम्पेक्स रामबाबू कुशवाहाको भएको बुझिन आएको छ ।
वडाध्यक्ष जयप्रकाश शाहले पमपम बिल्डिड्ढो पहिलो तलामा एउटा गोदाम र दोस्रो तथा तेस्रो तल्लामा रहेका फ्ल्याटमा पनि कपडाहरू भण्डारण गरिएको अवस्थामा प्रहरीले तीनवटा स्थानबाट ठूलो परिमाणमा कपडाहरू बरामद गरेको बताए । वडाध्यक्ष शाहले अहिलेसम्म आफूलाई कसैले सो गोदाम, घर आफ्नो भएको र वैध सामान रहेको भनेर दाबी गर्न नआएको जानकारी गराएका छन् । वडाध्यक्ष शाहले गोदामबाट केही नेपाली कपडाहरू पनि बरामद भएकाले आफूले प्रहरीलाई जे जस्तो अवस्थामा बरामद भएको हो सोबारेमा सही विवरण बनाउन र आर्थिक मन्दीको बेला व्यापारीलाई फसाउने गरी काम नगरिदिन आग्रह गरेको बताए ।
उनले गैरकानूनी काम हो भने प्रहरी कारबाही जायज भएको बताएका छन् । अध्यक्ष शाहले मानिस बस्ने घरमा चार/चार वटा कोठा र एउटा बैठक रहेको र ती सबैमा कपडाहरू भएको बताए । प्रारम्भिक अनुमानमा बरामद कपडाहरू पाँचदेखि सात करोड मूल्यको हुने उनले अनुमान गरे । यो छापामारीमा प्रहरीबाहेक अन्य निकायलाई भने सहभागी गराइएको छैन । छापामारीको क्रममा सामान्यतया जिल्ला प्रशासन कार्यालय, वाणिज्य, घरेलु, वीउवासङ्घ र वडा पालिकाका प्रतिनिधि सहभागी गराउनुपर्नेमा यो घटनामा प्रहरीले सूचना चुहिने अथवा अन्य कुनै कारणले एक्लै सहभागी भएको छ ।