प्रस, सिम्रौनगढ, ६ वैशाख/
जिल्ला प्रहरी कार्यालय, बाराले २३० किलो गाँजासहित एकजनालाई पक्राउ गरेको छ ।
बिहीवार बिहान १ः३० बजे इलाका प्रहरी कार्यालय, सिम्रौनगढका प्रहरी निरीक्षक नवीन राईको कमान्डमा खटिएको प्रहरी टोलीले पचरौता नगरपालिका–४ इनर्वाबाट गाँजासहित एकजनालाई पक्राउ गरेको जिप्रका, बाराले जनाएको छ ।
प्रहरीलाई देखेपछि गाँजा तस्करहरू गाँजा छाडेर फरार भएपछि प्रहरीले एक राउन्ड हवाई फायर गरेर रौतहट, फतुवा विजयपुर नगरपालिका–४ टेग्राहा बस्ने २३ वर्षीय चन्दन पासवानलाई पक्राउ गरेको जिप्रका, बाराले जनाएको छ ।
प्रहरीले सो स्थानबाट २३० किलो गाँजा बरामद गरेको हो । यसैगरी, जिप्रका, बाराले ६८ लाख मूल्य बराबरका अवैध सामानसहित एउटा ट्रक नियन्त्रणमा लिएको छ ।
हिजो इलाका प्रहरी कार्यालय, जीतपुरले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं ७ जीतपुरबाट ना.६ख ६३४ नम्बरको ट्रक चेकजाँच गर्दा बिलबीजकभन्दा बढीको सामान भेटिएको र सोको स्रोत खुलाउन नसकेपछि प्रहरीले सामानसहित ट्रक नियन्त्रणमा लिएको जिप्रका, बाराले जनाएको छ । ट्रकबाट ६८ लाख मूल्य बराबरका कपडा र खुद्रा सामान बरामद भएको र कारबाईको लागि राजस्व अनुसन्धान कार्यालय, पथलैया पठाएको जिप्रका, बाराले जनाएको छ ।