नयाँ दिल्ली, ६ वैशाख/एएनआई
भारतका विभिन्न प्रान्तमा हुने लोकसभा निर्वाचनको तयारी तीव्ररूपमा भइरहेको छ । लोकसभा चुनावको पहिलो चरण यही अप्रिल १९ मा शुरू हुँदैछ ।
निर्वाचनको प्रतिस्पर्धामा होमिएका दल र उम्मेदवारले आप्mनो पक्षमा जीत हासिल गर्न अनेक मेहनत गरिरहेका छन् भने निर्वाचन व्यवस्थापनसम्बन्धी निकायले सुरक्षा र अन्य व्यवस्थापकीय तयारी जारी राखेको छ ।
उत्तराखण्डमा हेलिकप्टरको प्रबन्ध
निर्वाचन अन्तर्गत उत्तराखण्डमा सुरक्षित निर्वाचन सुनिश्चित गर्न हेलिकप्टरको प्रबन्ध गरिएको छ । उत्तराखण्डका अतिरिक्त मुख्य निर्वाचन अधिकारी विजयकुमार जोगदण्डेले सबै पाँच लोकसभा स्थानका लागि हुने निर्वाचनको मतदान केन्द्रमा भइरहेका तयारीबारे जानकारी दिंदै आपत्कालीन सेवाका लागि दुईवटा हेलिकप्टरको व्यवस्था गरिएको जानकारी दिए । उनले यसपटकको मतदान हिंसा वा हताहतमुक्त हुने र कुनै आपत्कालीन अवस्था नआउने बताएका छन् ।
“एउटा हेलिकप्टर गढवालमा र अर्काे खकुमाउमा तैनाथ गरिने र तिनलाई आपत्कालीन उद्देश्यका लागि मात्र प्रयोग गरिनेछ । यसपटकको मतदान हताहत वा हिंसामुक्त हुनेछ, कुनै आपत्कालीन अवस्था आउने छैन”– जोगडाँडेले भने ।
पहाडी प्रदेशमा मतदाताको सहभागिता बढाउन राज्यभर ११ हजारभन्दा बढी मतदान केन्द्र स्थापना गरिने भएको छ ।
यसैबीच, उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले बुधवार नैनीतालमा पत्रकारहरूसँग कुरा गर्दै लोकसभा चुनावमा ठूलो सङ्ख्यामा सहभागी हुन मतदाताहरूलाई आग्रह गरेका छन् ।
पूर्वमुख्यमन्त्री र पूर्वमुख्यमन्त्रीका छोराबीच प्रतिस्पर्धा
हरिद्वार र उत्तराखण्डका अन्य चार लोकसभा निर्वाचन क्षेत्रहरूमा अप्रिल १९ मा आम चुनावको पहिलो चरणमा मतदान हुनेछ ।
यस क्षेत्रमा भारतीय जनता पार्टीका नेता तथा उत्तराखण्डका पूर्वमुख्यमन्त्री त्रिवेन्द्र सिंह रावत र उत्तराखण्डका पूर्वमुख्यमन्त्री हरिश रावतका छोरा काङ्ग्रेसका वीरेन्द्र रावतबीच प्रतिस्पर्धा हुने भएको छ ।
हरिद्वार संसदीय क्षेत्र कुल १४ विधानसभा मिलेर बनेको छ । भाजपाले सन् २०१९ र २०१४ को लोकसभा चुनावमा हरिद्वारका सबै सिटमा जीत हासिल गरेको थियो ।
उत्तराखण्डमा परम्परागतरूपमा भाजपा र काङ्ग्रेसबीच कडा प्रतिस्पर्धा देखिएको छ । दुवै दल राज्यलाई आप्mनो राष्ट्रिय सङ्कल्प अनुसार सञ्चालन गर्न आवश्यक युद्धभूमिको रूपमा हेर्छन् ।
सोनितपुर जिल्ला निर्वाचन कार्यालयले बिहीवार पहिलो चरणको निर्वाचनका लागि मतदान कर्मचारीहरूलाई मतदान केन्द्रहरूमा पठाएको छ । डिबु्रगढ, जोरहाट, लखिमपुर, सोनितपुर र काजिरङ्गामा पहिलो चरणको निर्वाचन अप्रिल १९ मा हुँदैछ ।
मतदान कर्मचारी र सुरक्षाकर्मी खटे
सोनितपुर संसदीय क्षेत्रका लागि बिहीवार असमको सोनितपुरको दराङ कलेजबाट मतदान टोली र सुरक्षाकर्मी पठाउन थालिएको छ ।
अतिरिक्त जिल्ला आयुक्त कविता काकती कोनवरले सोनितपुरमा आवश्यक मतदान कर्मचारी मतदानमा संलग्न हुने जानकारी दिइन् ।
उक्त जिल्लामा करीब १५० महिला मतदान केन्द्र छन् । सबै निर्वाचन क्षेत्रमा पर्यवेक्षक राखिएकाले स्वतन्त्र र निष्पक्ष चुनाव हुने विश्वास दिइएको छ । रासस