प्रस, परवानीपुर, ५ वैशाख/
रामनवमीको अवसरमा विभिन्न धार्मिकस्थलमा लागेका मेलामा कुश्ती प्रतियोगिता सम्पन्न भएका छन् । वीरगंज–२२ जगरनाथपुरमा लागेको बौधीमाई मेलामा कुश्ती प्रतियोगिता भएको छ ।
जगरनाथपुर युवा क्लबका अध्यक्ष दीपेन्द्र पटेलको अध्यक्षतामा भएको कुश्ती प्रतियोगिताको उद्घाटन वीरगंज महानगरका उपप्रमुख इम्तियाज आलमले गरेका थिए । एकजोर महिला कुश्ती र २० जोर पुरुष कुश्तीमा बारा, पर्सा, रौतहट, भारतको बिहार, उत्तर प्रदेश, दिल्ली, पञ्जाबलगायतका पहलवानहरूको सहभागिता थियो ।
कार्यक्रममा वडाध्यक्ष्F द्वारिका महतो, वडासदस्य राजेन्द्रप्रसाद यादव, मुनेशी यादव, जगरनाथपुर युवा क्लबका उपाध्यक्ष रोशन पटेल, सचिव जीतेन्द्र पटेललगायतको सहभागिता थियो ।
यसैबीच, पर्साको जगरनाथपुर गापा–५ चिलझप्टीमा रहेको सखुवनियामाई मन्दिर परिसरमा लागेको मेलामा कुश्ती सम्पन्न भएको छ । चिलझप्टीका अगुवा सन्तोषप्रसाद कुशवाहाको संयोजनमा भएको मेलामा नेपाल–भारतका पाँच दर्जनभन्दा बढी लोकप्रिय पहलवानहरूको कुश्ती प्रदर्शन भएको थियो । कुश्तीको उद्घाटन नेका नेता एवं पूर्वमन्त्री रमेश रिजालले गरेका थिए ।
कार्यक्रममा जगरनाथपुर गापाका अध्यक्ष श्रीकान्त यादव, वडाध्यक्ष बिहारी महतो नुनिया, नेपालीप्रसाद कुशवाहालगायतको सहभागिता थियो । कुश्तीमा बनारस, गोरखपुर, आजमगढलगायतको पहलवानहरूले प्रदर्शन गरेका थिए ।