प्रस, वीरगंज, ३ वैशाख/
जिल्ला प्रहरी कार्यालय, पर्साले अनलाइन चिठा र किनमेलको प्रलोभन देखाएर नेपाली तथा विदेशी नागरिक ठगी कार्यमा सक्रिय तीनजना चिनियाँ नागरिकलाई पक्राउ गरेको सम्बन्धमा अहिलेसम्म अनुसन्धान भइरहेको जनाएको छ ।

गत चैत १७ गते वीरगंज महानगर–१५ लक्ष्मणवास्थित नन्दु पटेलको घर भाडामा लिएर बसेका चिनियाँ नागरिकहरूले अनलाइन चिठा र किनमेलको प्रलोभन देखाएर ठगी गर्ने कार्य गरेको उजूरीको आधारमा प्रहरीले छापामारी गरेर ठूलो परिमाणमा सूचना प्रविधिका सामानहरू बरामद गरेको थियो । सामान बरामदसँगै प्रहरीले चिनियाँ नागरिक लियु गियु काइ, वाङ वोहान र झ्याङ झियोलाई पक्राउ गरेको थियो ।

पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले शुरूमा दोभाषे ल्याएर चिनियाँ नागरिकहरूसँग संवाद गरिएको भएपनि प्रFरम्भिक अनुसन्धानमा उनीहरूले अनलाइन ठगी गर्ने गरेको देखिए पनि वास्तविक उद्देश्य भने अहिलेसम्म खुलिनसकेको बताए । उनले यसबारेमा सिआइबीका आइटीसम्बन्धी एकजना जानकारलाई बोलाएर थप अनुसन्धान भइरहेको बताए ।

प्रहरीले छापामारी गरेर सिपियू १२० थान, मनिटर ११८ थान, मोबाइल ३६ थान, जियो भारतीय सीमकार्ड १३ थान, ल्यापटप चार थान, एक थान प्रिन्टर, विभिन्न बैंकका तीनवटा एटिएम कार्ड, किबोर्ड २६ थान, पाँचवटा इन्टरनेट स्वीच, दुईवटा राउटर, दुईवटा मिनी इन्भर्टर, भारतीय र नेपाली नम्बरका दुईवटा गाडी, मलेशियाको मुद्रा ३७ रिङ्गिट, नेरु ४३ हजार र कम्बोडियाली मुद्रा ३५ सय बरामद गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here