प्रस रौतहट, ३ वैशाख/
अस्थायी प्रहरी चौकी सन्तपुरका इन्चार्जले काठ चोरी गरेको भन्दै सोमवार बिहान स्थानीयले चौकी घेराउ गरेपछि इन्चार्जउपर कारबाई हुने भएको छ ।

चन्द्रपुर नगरपालिका–८ सन्तपुरका कृषि सहकारी साझा संस्थाको भवनमा सञ्चालन हुँदै आएको अस्थायी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक दिनानाथप्रसाद यादव संस्थाकै काठ चोरीको आरोपमा कारबाईमा पर्ने भएका छन् ।

चौकीका इन्चार्ज यादवले विभिन्न किसिमका फर्निचर बनाइ आफ्नो घरमा पठाउने गरेको स्थानीय काठ मिस्त्रीबाट जानकारी पाएपछि सन्तपुरवासीले चौकी घेराउ गरेका हुन् ।

वडाध्यक्ष जीतेन्द्र चौधरीले संस्थाको केही परिमाणमा काठ इन्चार्ज प्रसनि यादव बस्ने कोठामा समेत भेटिएको बताए । उनका अनुसार चोरिएको काठको क्षतिपूर्ति र इन्चार्ज यादवलाई कारबाईको माग राख्दै चौकी घेराउ गरिएको वडाध्यक्ष चौधरीले बताएका छन् ।

घटनापश्चात् इलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुरबाट खटिएका प्रहरी निरीक्षक गायत्रीराज शर्माले स्थानीयसँग लामो छलफल गरी चौकीका इन्चार्ज यादव उपर अनुसन्धान गरिने र दोषी ठहरिएमा विभागीय कारबाई हुने आश्वस्त पारेका थिए ।

संस्थाका अध्यक्ष तथा चन्द्रपुर नगरपालिकाका पूर्वप्रमुख रामचन्द्र चौधरीले संस्थाको काठ मात्र नभई इन्चार्ज यादवले चोरी निकासीको अवैध काठसमेत बरामद गरी निजी उपयोग गरेको आरोप लगाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here