धर्मेन्द्र चौरसिया, पोखरिया, ३० चैत/
पर्सा जिल्लाको गण्डक नहरदेखि दक्षिणतर्फको बझियान क्षेत्रमा अहिले ७० प्रतिशत गहुँबाली कटान भएको छ भने ३० प्रतिशत कटानीको क्रममा छ । यो क्षेत्रमा हुने यो दोस्रो मुख्यबाली हो । सिंचाइका लागि गण्डक नहरसँग जोडिएको र बोरिङ सुविधा भएको बझियानका केही किसानहरूले मात्र चैत धानबाली गर्छन्, हैनभने अधिकांशले गहुँ र अगहनी धानबाली मात्रै गर्छन् ।

त्यसैले बझियानमा गण्डकपारि थरुहट क्षेत्रको तुलनामा ढिलो गरी धान र गहुँबाली गरिन्छ । अहिले गहुँको कटानी आधुनिक मेशीनबाट हुँदा किसानहरूलाई धेरै फाइदा पुगेको बझियानका किसानहरू बताउँछन् ।

पोखरिया नगरपालिका–९ शिवबर्वाका किसान फुलेना चौहानले हार्भेस्टरको प्रयोगबाट गहुँबाली भिœयाउँदा किसानहरूलाई समय र खर्च दुवैको बचत भएको बताए । उनले एकजना मजदूरलाई एक दिनको लागि प्रतिकट्ठा छ किलो गहुँ दिनुपर्छ ।

त्यसमा बोझा बाँध्न र दउनीको क्रममा प्रति ३० बाल्टिन बराबर एक बाल्टिन थप गहुँ ज्यालाबापत दिनुपर्छ । ज्याला मजदूर लगाएर गहुँबाली कटान गर्न प्रतिकट्ठा दुईजना आवश्यकता पर्छ । यसका साथै परिवारका सदस्यहरू दिनभर त्यसैमा अल्झिनुपर्छ । यसको साटो अहिले हार्भेस्टरलाई प्रतिकट्ठा १२ किलोका दरले कटानी खर्च दिंदा आफूहरूलाई सुविधा भएको किसान चौहान बताउँछन् ।

उनले हार्भेस्टरको प्रयोगबाट किसानहरूको बाली एक घण्टामा कटानी हुने र हार्भेस्टर प्रयोग भएको खेतमा व्यापारीहरू आएर खेतबाटै बाली खरीद गरेर लाँदा निकै सुविधा भएको उनले बताए ।

किसान चौहानले अहिले बझियान क्षेत्रमा हार्भेस्टरको प्रयोग बढेर ९० प्रतिशतमाथि पुगिसकेको बताए । ज्याला मजदूरीमा खट्ने मानिसहरू पाउन छाडेको अवस्थामा हार्भेस्टरको प्रयोग बढिरहेको उनले बताए ।

अहिले गहुँ प्रतिक्वीन्टल रु चार हजार दुई सयमा खरीद–बिक्री भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here