प्रस, निजगढ, ३० चैत/
उपभोक्ता समूहहरूका लागि अभिलेख तथा लेखा व्यवस्थापनसम्बन्धी दुई दिने तालीम निजगढमा शुक्रवार सम्पन्न भएको छ ।

जतिसुकै इमानदारीपूर्वक संस्थाहरूको काममा सक्रिय रहे पनि उचित समयमा हिसाबकिताबको अभिलेख लेखा व्यवस्थापनको पद्धति अनुुसार राख्न नसक्दा कानूनी प्रश्न उठ्न सक्ने भन्दै विधिलाई अङ्गीकार गर्न मधेस प्रदेशका कोष तथा लेखा नियन्त्रक एवं प्रशिक्षक श्यामउदय ठाकुरले तालीममा सहभागीहरूलाई बताए ।

सङ्घसंस्थाहरूले कागजी, डिटिजल अभिलेख वा लेखासम्बन्धी कार्यलाई लेखाको विधि अनुुसार उचित समयमा नराख्दा प्रमाण बलियो नहुने बताए । उनले सैद्धान्तिक बेरुजू, लगती बेरुजू, पेश्की फछ्र्योट, भरपाई कसरी लेख्ने, गोश्वारा भौचर कसरी भर्ने, फाइलिङ कसरी राख्ने जस्ता अभिलेख तथा लेखा व्यवस्थापनसम्बन्धी विविध विषयमा सहभागीहरूलाई प्रस्ट पारेका थिए ।

उनले यदि कसैमाथि लगती बेरुजू रहेको खण्डमा सात पुस्ताले पनि सो बेरुजू फछ्र्योट गर्नुपर्ने कानूनी व्यवस्था रहेको र यसको अरू कुनै विकल्प नभएको बताए ।

अर्का प्रशिक्षक रेन्जर नीरज पोखरेल र शाखा अधिकृत बुुनीप्रसाद यादवले कुनै कार्यालयहरूबाट वन समूहमा आएका चिठीपत्रलाई कसरी फाइलिङ गर्ने, आवश्यकता अनुसार त्यसको प्रतिउत्तर कसरी दिनेलगायतका विविध विषयमा प्रशिक्षण दिएका थिए ।

वन समूहको हिसाबकिताब दुुरुस्त राख्न नसक्दा कतिपय वन समूहका पदाधिकारी, कर्मचारीहरूमाथि आर्थिक हिनामिना गरेको भन्दै कानूनी र नैतिक प्रश्न उठ्ने अनि अख्तियार दुरुपयोग अनुुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, जिल्ला प्रशासन कार्यालय जस्ता नियमनकारी निकायहरूको निगरानीमा पर्ने गरेको भन्दै तालीमबाट चुरुस्तदुरुस्त अभिलेख तथा लेखा व्यवस्थापनसम्बन्धी ज्ञान हासिल हुने अपेक्षा लिएको डिभिजन वन कार्यालय, बाराका डिभिजनल वन अधिकृत विनोद सिंहले बताए ।

तालीममा निजगढ, सिंगौल, लाल, रतनपुर, चकरीलगायतका सामुुदायिक वन उपभोक्ता समूहका पदाधिकारी, वन समूहका कार्यालय सचिवलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here