प्रस, वीरगंज, ३० चैत/
मानव बेचबिखन नियन्त्रण एकाइ (क्षेत्र मुख्यालय) बेतिया कार्यालय ४७औं वाहिनी सशस्त्र सीमा बल रक्सौल पूर्वी चम्पारण बिहारले मिशन निर्भया अन्तर्गत एकजना नेपाली नाबालिकाको उद्धार गरेको छ ।
रक्सौल–वीरगंज मितेरीपुलबाट एसएसबीले एकजना नेपाली नाबालिकाको उद्धार गर्दै निजलाई ललाइफकाइ भारत लैजान लागेको कसूरमा मन्जुर आलम खानलाई पक्राउ गरेको जनाएको छ । इन्स्पेक्टर मनोज शर्मालाई आएको सूचनाका आधारमा हवलदार अरविन्द द्विवेदीको टोलीले मितेरीपुलबाट नाबालिकाको उद्धार गर्दै खानलाई पक्राउ गरेको बताइएको छ ।
एसएसबीले दोभाषेका लागि माइती नेपाल वीरगंजकी अनिशा गौतम र सीता क्षत्रीको सहयोग लिएको र सोधपूछमा नाबालिकाले खानले बारम्बार आफूलाई फोन र सामाजिक सञ्जालबाट मित्रताको लागि आग्रह गरेको र पछि लामो समयमा आफ्नो मित्रता शुरू भएको बताएकी छन् । नाबालिकाले आफूसँग बिहे गर्ने भनेर खानले भारत लान लागेको बताएकी छन् । एसएसबीले भने खानको पहिलो बिहे भएर पारपाचुके भएको र सुनौना भन्ने दोस्रो विवाहको लागि तयारी गरिरहेको अवस्थामा नेपाली नाबालिकालाई फसाएको अनुसन्धानबाट देखिएको दाबी गरेको छ ।
एसएसबीले खानको वैवाहिक कुराका बारेमा नाबालिका अनभिज्ञ रहेको बताएको छ । नाबालिकाका अभिभावकले पनि एसएसबीलाई फोनबाट खोजी गर्न र भारत जान रोक लगाउन आग्रह गरेको इन्स्पेक्टर शर्माले बताए ।