“बेमन के बियाह, कनपटी में सेनुर” भन्ने प्रसिद्ध भोजपुरी लोकोक्ति रीत पु¥याउने सन्दर्भमा प्रयोग गरिन्छ । बिहे गर्न मन नभएको बेहुलाको ध्यान अन्यत्र हुँदा सिउँदोमा लगाउनुपने सिन्दुर कन्चटमा लाग्न पुग्यो । त्यस कारण शुभकामनाको मानक कागलाई काफल पाक्यो हर्ष न विषाद भनेझैं अवस्थामा छ । किनभने हिजोआज रीत पु-याउने कार्यमा बढी भइरहेको छ । वर्तमान मानवीय परिदृश्य देखेर शुभकामना स्तब्ध छ ।
आज नितान्त खास दिन हो । विक्रम संवत् २०८१ को पहिलो दिन, चार दिवसीय चैती छठ पर्वको दोस्रो दिन, अर्थात् रसियाव रोटी र चैती नवरात्रको पाँचौं दिन । हिन्दू पञ्चाङ्ग अनुसार चैत शुक्लपक्ष एकम तिथि मङ्गलवारको दिनदेखि नववर्ष प्रारम्भ भइसकेको छ । त्यसैगरी रामनवमी बुधवारको दिन मनाइने छ । गएको बिहीवार मुस्लिम धर्मावलम्बीहरूले शुभकामना आदानप्रदान गरी इद–उल–फित्र मनाए । समग्रमा भन्नुपर्दा यो साता चाडबाडले भरिपूर्ण रह्यो ।
यसै क्रममा हिजो विसं २०८० को बिदाई र आज २०८१ को स्वागत देशैभरि नयाँ वर्ष मनाएर गरिंदै छ । चाडबाड होस् वा कुनै खास दिन, एकले अर्कालाई सुख–समद्धिको कामनासहित शुभकामना व्यक्त गर्ने प्रचलन सदीयौंदेखि छ । उहिले प्रियजनसँग भेंटेर शुभकामना आदान–प्रदान गर्ने आत्मीय व्यवहार थियो । आज पनि आत्मीयता छ, यद्यपि व्यस्त जीवनशैली र समय अभावका कारण आत्मीयता स्वार्थ, शब्द, शैली र वाणीमा सीमित हुँदै गएको छ । एक ह्दयबाट प्रस्फुटित भई अर्कोसम्म पुग्ने मनोभाव साँघुरिदै गइरहेको अवस्था छ ।
मैसेन्जर/व्हावट्एपलगायत विद्युतीय माध्यमबाट शुभकामना प्रवाह गर्ने क्रम बढ्दो छ । चाडबाड अगावैदेखि शुभकामनायुक्त सन्देश सामाजिक सञ्जालका भित्तामा सम्प्रेषण गर्ने चलन स्थापित र पुस्तान्तरण हुने क्रम चलिरहेको छ । फ्रेन्डलिस्टमा आबद्ध साथीहरूले सन्देश ग्रहण गरे कि गरेनन् भन्ने कुराको खासै चाँसो हुँदैन । उत्सुककतापूर्ण माहोलमा प्रत्यक्ष भेंटेर शुभकामना आदान–प्रदान गर्ने स्नेहपूर्ण मनोवृत्ति सङ्कुचित हुँदै गइरहेको वर्तमान यथार्थ समाजसामु छर्लङ्ग छ ।
शुभकामना दिनु भनेकै आत्मीयजनको भलोको कामना गर्नु हो । शुभकामना दिने क्रममा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको कामना गरिन्छ । तर अचेल अपवादबाहेक ‘रेडिमेड’ सन्देश रीत पु¥याउने औपचारिकता बनिरहेको छ । शुभकामना सन्देशको उपादेतया के भन्ने विचारणीय पक्षबारे सामाजिक चिन्ता अचेततुल्य छ । चुरो कुरो आत्मसात् गरी जीवनमा लागू नगरुन्जेल शुभकामना आदनाप्रदानले न यसको मर्म फलीभूत हुन सक्छ न सार्थकता नै ग्रहण गर्न सक्छ ।
चाडबाड, पूजापाठ वा कुनै विशेष दिनमा केवल परिजन र इष्टमित्रलाई मात्र हैन, राष्ट्रको समृद्धिको लागि पनि कामना गरिन्छ । अरूलाई दिने वा अरूबाट ग्रहण गर्ने शुभकामना कसरी सार्थक हुन्छ, कसैले कहिल्यै विचार गरेको छ ? शुभकामना दिंदालिंदा सोमार्फत प्रवाह हुने सन्देश सत्कर्म हेतु हो । वैध आर्जनले सुख, निष्ठापूर्ण कर्मले शान्ति, शुद्ध आहारले सुस्वास्थ्य प्राप्त हुन सक्छ । शुभकामना प्रवाह गर्ने व्यक्तिको मर्म यही हो । शुभकामनाको वास्तविक तथ्य बोध नहुँदा नयाँ वर्ष, चाडबाड वा विशेष दिनको अवसरमा अदान–प्रदान गरिने शुभकामना सार्थक हुन सक्दैन ।
चकित शुभकामना यताउति डुलिरहेको थियो । त्यही बेला दुईजना साथीको जम्का भेट भएछ । उनीहरूमध्ये एकजना सरकारी अधिकारी थिए, अर्का किसान । सरकारी अधिकारीले साथीलाई देख्नेबित्तिकै हर्षपूर्ण स्वरमा भने–“हेलो साथी, नववर्ष २०८१ को हार्दिक शुभकामना । सँधै खुशी र सुखी रहनू ।” उताबाट प्रतिक्रिया आएन ।
सरकारी अधिकारीले पुनः मुख खोले र भने–“अनुहार किन मलीन छ, साथी ?” अनि किसान साथीले भने–“गत वर्ष तिमीले सुखी र खुशी हुने शुभकामना दिएका थियौ । तर बीउ, मल र सिंचाइको अभावमा उब्जनी राम्रो भएन । परिवार पाल्न धौधौ छ । त्यसमाथि अचाक्ली महँगी । ऋण काढेर परिवार पाल्नुपरिरहेको छ । तिम्रो शुभकामनाको उल्टो प्रभाव प-यो । त्यस कारण म कसैको शुभकामना ग्रहण गर्ने पक्षमा छैन ।” शुभकामना उनीहरूको कुरा सुनिरहेको थियो । उसको मन मलीन भयो । उसले मनमनै विचार ग-यो, आखिर यसमा मेरो के दोष ? बीउ, मल र सिंचाइ पूर्ति गर्ने दायित्व त सरकारको हो ।
पर्वैपर्वको समय भएकोले एक हप्तादेखि शुभकामनालाई फुर्सत छैन । प्रधानमन्त्री, मन्त्री, नेता, जनता, चिकित्सक, शिक्षक, विद्यार्थी, किसान यस्तो कुनै व्यक्ति छैन जसले शुभकामनालाई प्रयोग नगरेको होस् ।
खोइ, कताकता शुभकामना अचेल निकै द्विविधामा छ । कुरा के हो भने आजको परिवेशमा शुभकामना दिंदा उल्टो हुन थालेको छ । मानौं मैले शुभकामना दिएँ–सत्कर्म गरी खुशी र सुखी रहनु । यदि तपाईंले कुकर्म गर्नु भएको रहेछ भने मैले प्रवाह गरेको सुखको कामना कसरी फलिफाप हुन्छ ? अर्को कुरा नयाँ वर्षको शुभकामना दिउँ भने, तपाईंलाई दुःख दिने तपाईंका दुश्मनहरू भगवानसँग लड्न थाल्छन् । उनीहरूलाई भन्न बेर लाग्दैन–“हेरौं भगवान्ले कसरी सुख दिंदोरहेछन् । किनभने भगवान्भन्दा आपूmलाई ठूलो ठान्ने पात्रहरूको अचेल कमी छैन ।
विक्षिप्त शुभकामना मनमनै भन्दै थियो–“म कसरी भनुँ यो नववर्षले तपाईंलाई खुशी देओस् । न वर्ष, न म, न भगवानले सुख दिन सक्छन् । किनभने सुख–दुःख दिने अरू नै हो । तपाईं सधैं खुशी रहनुहोस् भन्ने मेरो चाहना हो । तर, अन्नबाली आउनेबित्तिकै व्यापारीहरूले सस्तोमा खरीद गरी लुकाउँछन् । पछि आफूखुशी मूल्य बढाउँछन् । अनि म कसरी सुखी र खुशी पार्न सक्छु ?
नयाँ वर्ष, चाडबाडको बेला शुभ संदेशसहित मलाई घरघर पठाइन्छ । तपाईंलाई सम्झना होला बितेको नयाँ वर्षको शुरूमैं सुख–समृद्धिको सन्देशसहित म तपाईंको घरमा प्रवेश गरेको थिएँ । तर तपाईं पूरा वर्ष दुःखमा बित्यो । किनभने हरेक महीना उपभोग्य सामग्रीको भाउ बढेकोबढ्यै छ । विरोध गरेपछि सरकारले व्यापारीहरूलाई थर्काउँछ । यति मात्र होइन, केही व्यापारीलाई पक्राउ पनि गर्छ । तर परिणाम उल्टो हुन्छ । मूल्य कम हुनुपर्नेमा झन् बढ्छ । मलाई त लाग्छ अनैतिक धन्दामा लिप्त पात्रहरूलाई पक्राउ गर्नु नै महापाप हो । शायद यहीं पापको कारण मूल्य बढेकोबढ्यै छ ।
गत वर्ष एकजनाले सन्देशसहित मलाई एक सरकारी कर्मचारीको घरमा पठाएका थिएँ । अनि त्यो सन्देश पाउने कर्मचारीले घूस खान थाल्यो । उसले त साथीको शुभ सन्देश आफूलाई फलिफाप होस् भनेर घूस नलिई कुनै पनि सरकारी काम नगर्ने निधो ग-यो । केही महीना अघि अख्तियारको टोलीद्वारा रङ्गेहात पक्राउ प-यो । यसमा मेरो के दोष ?
विद्यार्थीकहाँ पुग्दा चिट चोर्छ । व्यापारीकहाँ पुग्दा अनैतिक लाभ लिन थाल्छ । पत्रकारकहाँ पुग्दा ‘ब्ल्याकमेल’ गर्न थाल्छ । शिक्षककहाँ पुग्दा अवैध असुली गरेर पास गराउन थाल्छ । युवतीकोे शरणमा जाँदा मातापितालाई परित्याग गरी प्रेमीसँग भाग्छन् । युवाहरू कहाँ जाँदा पढाइभन्दा बढी केटीहरूलाई छेडछाड गर्छन् । प्रहरीमा पुग्दा तस्करको लाइन खुल्छ । नेता र मन्त्रीकहाँ पुग्दा सुनकाण्ड र सहकारीकाण्ड र अनेक प्रकारका अनैतिक काण्डमा लिप्त हुन्छन् । न्ययालयमा पनि मलाई आत्मसात् गर्नेहरूको सङ्ख्या न्यून छ । कहीं पनि मलाई सुख छैन । म त एउटा मित्रको सन्देश लिएर अर्को मित्रकहाँ उसको सुख र समृद्धि होस् भनेर पुग्छु । तर मलाई आत्मसात गर्ने काम त ती व्यक्तिको हो । उनीहरू भने सन्देशको मर्मविरुद्ध कार्य गर्छन् र फसेपछि मलाई दोष दिन्छन् । त्यसैले म हिजोआज डराइरहेको छु । यद्यपि नववर्ष २०८१, चैती छठ, रामनवमी र इद–उल–फ्रित्रको अवसरमा यस वर्ष पनि घरघर पुगेकै छु । हे मानव ! मलाई आत्मसात् गर । शुभकामना !