नयाँ वर्ष–२०८१ शनिवारदेखि शुरू भएको छ । अघिल्लो वर्ष जेजस्तो भएपनि नयाँ वर्षमा राम्रो हुने चाहना सबैले गरेका हुन्छन् । यही आशा र विश्वासमा नयाँ वर्ष मनाइन्छ । यसपटक संयोगले नयाँ वर्ष २०८१ सँगै हिन्दू र मुस्लिमका पर्वहरू जोडिएका छन् । हिन्दूहरूको चैती दशैंको क्रममा अहिले नवरात्र चलिरहेको छ भने नयाँ वर्षकै दिन मुस्लिम समुदायले पवित्र रमजान महीनाको अन्तिम ईद मनाउँदैछन् । नयाँ वर्षकै दिन हिन्दूहरूको चैती छठ पूजा शुरू हुँदैछ । चैती छठ पूजा आगामी सोमवार र चैते रामनवमी वैशाख ५ गते छ । यस अर्थमा तराईमा नयाँ वर्ष शाकाहारी मनाउने सङ्केत देखा परेको छ । तराईवासीहरू नवरात्र र छठ पूजामा पूर्णरूपमा शाकाहारी हुन्छन् । यसले गर्दा यसपटकको नयाँ वर्षमा मासुजन्य परिकारको प्रयोग कम हुन्छ होला । अन्य समयमा भने नयाँ वर्षको अवसरमा मासुजन्य पदार्थको बढी प्रयोग हुन्थ्यो । मानिसहरू नयाँ वर्ष घर, समाज र पिकनिक स्थल तथा होटलहरूमा गएर मनाउँथे तर यसपटक यसमा कमी आउने देखिन्छ ।

यसो त हामी नेपालीहरू विक्रम संवत्सँगै अङ्ग्रेजी नयाँ वर्ष पनि त्यत्तिकै उत्साहका साथ मनाउँछौं । पछिल्लो समयमा अङ्ग्रेजी नयाँ वर्ष धूमधामले मनाइन थालिएको छ । छिमेकी भारतबाट पनि अङ्ग्रेजी नयाँ वर्ष मनाउनका लागि मानिसहरूको ओइरो लाग्ने गर्छ । पर्साको ठोरी, बाराको सिम्रौनगढ, मकवानपुरको शहीद स्मारक, भैसे, चितवनको सौराहा र कास्कीको पोखरा पर्यटकीय क्षेत्र अङ्ग्रेजी नयाँ वर्षमा गुलजार हुने गरेको छ । विक्रम संवत्को कुरा गर्दा बितेको वर्षमा नेपालको राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा धेरै उथलपुथलका घटना भए । नेका र माओवादी केन्द्रसहितको छ दलीय गठबन्धन टुट्यो र एमाले तथा माओवादीसहितको पाँच दलीय नयाँ समीकरणको सरकार बनेको छ । व्यापार, व्यवसायमा शिथिलता आएको छ । कतिपय सिमेन्ट, छड लगायतका उद्योगहरू बन्द भएका छन् भने सञ्चालनमा रहेका उद्योगहरूको उत्पादन क्षमता पनि आधाभन्दा कम भएका छन् । उद्योगहरूलाई विद्युत्को सहज उपलब्धता छैन । उद्योगहरू अघोषित लोडसेडिड्ढो शिकार भएका छन् । दैनिक तीन सिफ्टमा सञ्चालित उद्योगहरू एक सिफ्टमा सञ्चालन भइरहेका छन् र त्यसको पनि बजारीकरण छैन । पुरानो भुक्तानीका लागि नयाँ लगानी जोखिममा परिरहेको छ ।

बैंकहरूले ब्याज घटाउँदा पनि उद्योग–व्यापारले गति लिन सकेको छैन । राजनीतिक खिंचातानीमा परेको सरकार आफ्नो सिट जोगाउन जोडघटाउमा व्यस्त छ । कुन बेला कुन दल पोइल जाने हो र सरकार ढल्ने हो भन्न सकिने अवस्था छैन । २०७९ मा भएको आमनिर्वाचनले स्थायी सरकार बनाउन सकेन । नेका र एमाले मिलेर बनेको सरकार स्थायी हुनेमा आमविश्वास रहे पनि यी दुवै दल मिल्न नसक्दा राजनीतिक गन्जागोल विद्यमान छ । युवाहरू विदेशिने क्रम गत वर्ष पनि घट्न सकेन । यद्यपि स्वदेशमा रोजगार सृजना गराउने र वैदेशिक रोजगारमा जाने दर घटाउने सरकारको चाहना हुट्टिट्याउँले आकाश थामेझैं भएको छ । यस्तो बेथितिमा देश चलिरहे पनि मानिसमा आशा भने हराएको छैन । पुरानो कुरालाई सम्झेर बाँच्न सकिंदैन, मानवीय गुणकै यस आधारमा नयाँ वर्षलाई हामी नेपालीहरूले मनले स्वागत गर्दैछौं । नयाँ वर्ष २०८१ ले सबै नेपालीलाई सुखद सन्देश प्रवाह गर्न सकोस् सबैमा नववर्षको शुभकामना १

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here