वीरगंज महानगरपालिकाको सहकार्यमा बिहीवारदेखि वीरगंज महानगरपालिका–१० आदर्शनगरमा नयाँ वर्ष–२०८१ लाई लक्षित गरेर तीन दिनका लागि रात्रिकालीन बजार सञ्चालन गरिएको छ । गत वर्ष नयाँ वर्ष–२०८० लाई लक्षित गरेर महानगरपालिकाले सञ्चालन गरेको पाँच दिने रात्रिकालीन बजार औसतमा निकै लोकप्रिय भएको थियो । पाँच दिनमा रु सात करोडको व्यापार भएको र चार लाख मानिसले रात्रिकालीन बजार अवलोकन गरेको दाबी गरिएको थियो । तर यसको आधिकारिकरूपमा पुष्टि गर्ने स्रोत भने छैन । अनुमानका आधारमा गरिएको यो दाबीमा सत्यता पनि नभएको भने होइन । छिमेकी देश भारतको रक्सौल र आसपासबाट रात्रिकालीन बजारको अवलोकन गर्न आउनेहरूको ताती देखिएको थियो । खासगरी बिहारमा लगभग तीन दशकदेखि मदिरा प्रतिबन्धित छ । रात्रिकालीन बजार गुलजार हुनुका अनेक कारणमध्ये एक यो पनि हुन सक्छ । यसका साथै महानगरका विभिन्न वडा, छिमेकी बारा र मकवानपुरबाट पनि मानिसहरू रात्रिकालीन बजार अवलोकन गर्न आएका थिए ।
रात्रिकालीन बजारको लोकप्रियता देखेरै महानगरपालिकाले मासिकरूपमा महीनाको अन्तिम शुक्रवार र शनिवार रात्रिकालीन बजार लगाउन हौसिएको थियो । दुई/तीन पटक रात्रिकालीन बजार मासिकरूपमा लाग्यो पनि तर त्यसपछिका दिनमा रात्रिकालीन बजारको नाममा स्थानीय संस्कृतिमाथि प्रहार भएको, अश्लीलता प्रदर्शन हुने गरी सांस्कृतिक कार्यक्रममा नृत्य गराइएको जस्ता आरोपहरू लागे र केही राजनीतिक दलबाट यसको चर्को आलोचना पनि भयो । त्यसपछि वर्षाको कारण जनाउँदै रात्रिकालीन बजार मासिकरूपमा लाग्न सकेन । दशैं, तिहार लक्षित रात्रिकालीन बजार पनि लाग्यो गत वर्ष । वीरगंजको व्यापारिक सुस्ततालाई गति प्रदान गर्न रात्रिकालीन बजार सहायक भएको ठानेर यसको नेतृत्व वीरगंज उद्योग वाणिज्य सङ्घले गरोस् भन्ने नगरप्रमुखको चाहना सार्थक हुन सकेन । वीउवासङ्घ, उद्योगी–व्यापारीहरूको प्रतिनिधिमूलक संस्था हो । उसले रात्रिकालीन बजारको नेतृत्व लिनुपर्ने हो । महानगरपालिका सबै कार्यमा अगाडि सरेर सफलता हासिल हुँदैन । सीमित साधनस्रोतमा महानगरपालिकाले गर्ने सबैखाले विकासमा सरोकारवालाहरूको पनि साथ र सहयोग भएको खण्डमा मात्र विकासले गति लिने हो ।
सबै थोकको जिम्मेवारी वहन गर्दै जाँदा विभिन्नखाले समस्याहरू आइपर्छन् र सफलता क्रमशः नैराश्यतामा परिणत हुन सक्छ । महानगरले गर्ने कामहरूमा उसको सक्रियता बढाउन सबैको इमानदार पहल हुनुपर्छ । सौन्दर्यीकरण, उज्यालो वीरगंज, सरसफाइ, शिक्षा आदिमा महानगरको प्रयास देख्न सकिन्छ । तर राम्रो गर्दैमा सबै कामको जिम्मेवारी महानगरपालिकालाई दिनु मूर्खता हुन जान्छ । यो अभ्यासबाट पनि प्रमाणित हुँदै आएका कुरा हुन् । सर्वत्र महानगरपालिकाले नै हात हाल्दै आएको र जिम्मेवारी लिएका कतिपय कामहरू अहिले आधाअधूरा छन् । उसले लिएको र लिन सक्ने जिम्मेवारीका कार्यहरूमा उसलाई अघि सार्ने र आफूले गर्ने कामहरूमा सक्रियता देखाउने पहल गर्न जरुरी छ । यस्ता सहकार्यहरू गरिएका खण्डमा मात्र वीरगंजको विकास सम्भव हुन्छ नत्रभने महानगरको आसमा मात्र पर्ने हो भने आउँदा दिनहरूमा भएका विकासहरूलाई निरन्तरता दिन पनि नसकिने अवस्था सिर्जना हुन सक्छ ।