प्रस, सेढवा, २८ चैत /
पर्साको ग्रामीण भेगमा दोस्रो मुख्यबाली गहुँ भिœयाउने चटारो लागेको छ । यसैबीच हार्भेस्टर मेशीनका साहु तथा गहुँ खरीद गर्ने व्यापारीहरूले आफूहरूलाई खुलेआम ठगी गरिरहेका किसानहरूको आरोप छ ।
यस अघि हार्भेस्टर मेशीनले गहुँ कटानी गर्दा साहुले प्रतिबिघा तीन हजार आठ सय रुपैयाँ लिएका थिए । तर अहिले हार्भेस्टरका साहुहरूले एक बिघा गहुँ कटानी गर्न छ हजार चार सय रुपैयाँ वा चार मन (एक क्वीन्टल ६० किलो) गहुँ लिने गरेका जीराभवानी गाउँपालिका–१ का किसान धर्मराज महतोले बताए ।
गत आइतवार हार्भेस्टर मेशीनले गहुँ कटानी गरेबापत प्रतिबिघा एक क्वीन्टल २० किलो लिएका साहुहरूले अहिले प्रतिबिघा एक क्वीन्टल ६० किलो लिन थालेको उनले बताए । यसका साथै हार्भेस्टर मेशीनको भाडाबापत गहुँ लिंदा प्लास्टिकको बाल्टिन वा कठराबाट अनुमानितरूपले गहुँ असुली गरेको किसानहरूको भनाइ छ । १० किलो गहुँ अटाउने भाडो भनी १२–१३ किलो गहुँ लिई दिनदहाडै ठग्ने काम भएको उनले दुःखेसो पोखे ।
पटेर्वासुगौली गापा–४ उत्तर सुगौलीका प्रमोद गौरोले हार्भेस्टर मेशीनका साहुहरूले प्रतिबिघा दुई क्वीन्टल गहुँ लिएर कटानी गरिरहेको बताए । त्यसमा पनि मेशीनका साहुहरूले ढक–तराजुको प्रयोग गरी जोखेको गहुँ लिन नमानेको गौरोले बताए । उनीहरूले गहँु नाप्न छुट्टै भाँडो ल्याएर गहुँ नापेर लिने गरेको बताए ।
ठोरी गापा–५ सुवर्णपुरका हीरा योञ्जनले व्यापारीहरूले किसानको उत्पादन जोख्नमा पनि ठगी गरेको बताए । काठको डन्डो भएको तराजुबाट सामान जोख्दा पाँच किलोग्राममा कम्तीमा एक पाउ (२५० ग्राम) बढी व्यापारीहरूले लैजाने गरेको योञ्जनले बताए ।
त्यसमा पनि अन्न भएको पल्लालाई जोख्ने मानिसले हातले उचाल्ने गर्दा एकपटकमा आधा किलोसम्म बढी लैजाने गरेको उनले बताए । तौलभन्दा बढी जोख्नका लागि व्यापारीहरूले चोर्न सिपालु कामदारहरूलाई लगाएको किसानहरूले गुनासो गरेका छन् ।