प्रस, वीरगंज, २८ चैत/
नेशनल मेडिकल कलेजका सञ्चालक शाहनबाज अन्सारी र प्रयोगशाला प्रमुख डा सञ्जय साहलाई पर्सा जिल्ला अदालतले कालोबजारी मुद्दामा थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई म्याद दिएको छ ।

हिजो पर्सा जिल्ला अदालतले दुवैलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको थियो । प्रहरीले आज अदालतसँग थप समय माग गरेकोमा पाँच दिनको समय प्रदान गरेको हो । भोलि ईदको सार्वजनिक बिदा, पर्सि शुक्रवार आधा दिन अदालत सञ्चालन हुने र सोको भोलिपल्ट शनिवार परेकोले थप पाँच दिनको म्याद अदालतले थप गरेको बुझिएको छ । अब प्रहरीले आइतवार अभियुक्तद्वयविरुद्ध अदालतमा कालोबजारीमा मुद्दा दायर गर्ने देखिन्छ ।

वीरगंज महानगरको बजार व्यवस्थापन तथा अनुगमन समितिले गत सोमवार नेशनल मेडिकल कलेज एन्ड शिक्षण अस्पतालको प्रयोगशालामा छापामारी गरेपछि मिति गुज्रिएका केमिकलहरू बरामद भएको थियो । सोही अभियोगमा जिल्ला प्रहरी कार्यालय, पर्साले सञ्चालक अन्सारी र प्रयोगशाला प्रमुख डा साहलाई नियन्त्रणमा लिएर कालोबजारीमा मुद्दा चलाउन लागेको हो ।

सञ्चालक अन्सारी सोमवारदेखि वीरगंज हेल्थकेयर अस्पतालको आइसियूमा भर्ना छन् भने प्रयोगशाला प्रमुख डा साह प्रहरी हिरासतमा छन् । यसैबीच, नेपाल मेडिकल एशोसिएशन वीरगंज शाखाले विज्ञप्ति प्रकाशित गरी एशोसिएशनका आजीवन सदस्य डा साहलाई अविलम्ब रिहाइको माग गरेको छ ।

प्रक्रियागत त्रुटिका बारेमा सम्बन्धित निकायबाट कारबाही हुने घटनामा प्रहरीले नियन्त्रणमा लिएर कानूनविपरीत मुद्दा चलाउन खोजेको भन्दै रिहा नगरे सङ्घर्षमा उत्रने एशोसिएशनका सचिव डा नौशाद हकले विज्ञप्ति जारी गर्दै चेतावनी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here