ओमप्रकाश चौधरी, सेढवा, २५ चैत/
आदिवासी जनजाति थारू समुदायले मनाउने परम्परागत घाटो पर्व अहिले लोपोन्मुख हुन थालेको छ । चैत महीनाको शुक्लपक्षमा मनाइने यो पर्व संरक्षण अभावमा समुदायबाट हराउन थालेको छ ।
थारू समुदायका युवतीहरूले असल वर पाउनका लागि माता गौरी (पार्वती) लाई पूजाअर्चना गर्ने मान्यता रहेको छ । युवतीहरूले माटोबाट माता गौरीको मूर्ति बनाइ समुदायका कुनै एक घरको आँगनमा राखी बिहान–बेलुका पाठपूजा गर्ने गर्थे । युवतीहरूले सामूहिकरूपमा घाटोको गीत, चैतार गीत गाउँदै झमटा नाँच प्रदर्शन गर्ने परम्परा थियो । पर्वमा युवतीहरूको समूहले फूला लोरदै (गीत गाउँदै) आँपका बगैंचाबाट पात टिपेर ल्याउने तथा सोही पातमा खीर पकाइ माता गौरीलाई भोजन गराउने चलन रहेको थारू समुदायका महिलाहरूले बताए । युवतीहरूको समूहले माता गौरीको प्रसादलाई गाउँका ठूलाबडा तथा अगुवाहरूलाई दिई चन्दा सङ्कलन गर्ने गर्थे । सङ्कलित चन्दाबाट नाँच ल्याउने तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिन्थ्यो ।
माता गौरीको मूर्ति सेलाउने दिनमा सो नाँच चाउने तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिन्थ्यो । सो दिन समुदायका हरेक परिवारले आफ्ना छोरी, बहिनी तथा आफन्तहरूलाई निम्तो गरी बोलाउने चलन थियो । घरका छोरी, बहिनी तथा आफन्तहरू घरमा खेतीपातीको कार्यमा व्यस्त रहेकाले घाटोको अवसरमा भेटघाट गर्ने अवसरको रूपमा लिने गरेका थिए । घाटोको अवसरमा ठेकुवा, तेलही रोटी, दूधपुवालगायतका परिकार बनाएर आफन्तहरूलाई कोसेलीको रूपमा पठाउने चलन थियो । तर अहिले घाटोको नाममा नाँच नचाउने, सांस्कृतिक कार्यक्रमको आयोजना गरिने र अन्य परम्परागत क्रियाकलाप भने लोप हुँदै गएका छन् । अहिलेको अवस्थामा एकै दिनमा घाटो बनाउने र सोही दिन खोलामा सेलाउने नाँच नचाएर पर्व सकाउने गरिन्छ ।
पटेर्वासुगौली गाउँपालिकाका उपाध्यक्ष तथा थारू कल्याणकारी समितिका केन्द्रीय पार्षद् ममता महतोले अहिले सबैजना कार्य व्यस्तताका कारण परम्परागत घाटो पर्व मनाउन नसकिरहेको बताइन् । उनले समुदायका युवतीहरू शिक्षा प्राप्ति तथा रोजगारका लागि शहर केन्द्रित भएकाले पनि यो पर्व मनाउनेतर्फ खासै चासो नराखिएको बताइन् ।
एउटा थारू बस्तीमा पर्व मनाउँदा समुदायका परिवारबाट लाखौं रुपैयाँ खर्च हुने हुँदा यसलाई रोक्नु नै बेस हुने उनको सुझाव छ । यो पर्वको संरक्षणका लागि गाउँगाउँमा मनाउनुभन्दा थारू कल्याणकारी समिति पर्साले एक ठाउँमा मनाउने हो भने परम्परागत पर्वले दिगो रूप लिने उनको धारणा छ ।