प्रमोद यादव, पंचगावाँ, २५ चैत/
गणेश उज्जन भुवन स्मृति प्रतिष्ठान, काठमाडौंले पर्सा जिल्लाका सखुवाप्रसौनी र पटेर्वासुगौली गाउँपालिकाका अतिविपन्न, मुसहर, दुसाद र चमार जातिका बालबालिकाहरूलाई शैक्षिक सामग्री र खाद्यान्न सहयोग गरेको छ । संस्थाकी अध्यक्ष सावित्री श्रेष्ठ लामाले पटेर्वासुगौली गापा–४ पथलवाघटका ८० जना र सखुवाप्रसौनी गापा–१ सीधपुरका ८० जना गरी १६० जना दलित विद्यार्थीहरूलाई स्टेशनरी, जुत्ता, चप्पल, फलफूल, बिस्कुटलगायतका सामानहरू वितरण गरेको संस्थाका पर्सा संयोजक हरिप्रसाद यादवले बताए ।

कार्यक्रममा संस्थाका सदस्य गणेशमान लामा र जापानको चाइल्ड सपोर्ट अर्गनाइजेशनका अध्यक्ष स्युन, सदस्यहरू युहो, आचुसी, वडा प्रतिनिधि शिवशङ्कर यादव अनुगमनमा सहभागी रहेको संस्थाका पर्सा संयोजक यादवले बताए ।

पटेर्वासुगौली गापा–४ स्थित वनदेवी आधारभूत विद्यालय भतौडा पुगेर अमा अनुगमन गर्दा विद्यालय दुईजना शिक्षकको भरमा सञ्चालित रहेको पाएका थिए । करीब तीन सय विद्यार्थी अध्ययनरत सो विद्यालयमा दुईजना शिक्षकले सञ्चालन गरेको देखेर टोलीका सदस्यहरू आश्चर्यचकित भएका थिए । अनुगमन टोलीले विद्यालयमा प्रविधिमैत्री वातावरणमा अध्ययन गराउनका लागि र विद्यालयको अन्य शैक्षिक क्रियाकलाप अनलाइन गर्न कम्प्युटर, ल्यापटप, प्रिन्टर आवश्यक रहेको जनाएको वडा प्रतिनिधि शिवशङ्कर यादवले बताए ।

प्रधानाध्यापक सुवास दासले शिक्षक अभाव, प्रविधिमैत्री शिक्षणको वातावरण र भौतिक सामग्रीहरू नभएका तथा यसबारेमा सरोकारवाला निकायको बारम्बार ध्यानाकर्षण गराएको तर अहिलेसम्म सुनवाइ नभएको गुनासो पोखेका थिए । जापानको चाइल्ड सपोर्ट अर्गनाइजेशनका अध्यक्ष स्युन, सदस्यहरू युहो, आचुसीले वास्तविक आवश्यकता पहिचान गरी जापानबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । सहयोगी संस्थाका प्रतिनिधिहरूलाई स्थानीय स्वयंसेवक शिक्षिका सुस्मिता चौधरीले फूलमाला र गम्छा ओढार सम्मान गरेकी थिइन् । अनुगमन टोलीले आइतवार वीरगंज महानगरपालिका–२३ प्रसौनी, वडा नं २२ इटियाही, वडा नं २० मनियारी, हरपतगंज र वडा नं ३१ लक्ष्मीपुरमा रहेका दलितबस्तीहरूको अनुगमन गरेका थिए ।

दलित विद्यार्थीहरूको शिक्षामा पहुँच बढाउनका लागि हिजोदेखि गणेश उज्जन भुवन स्मृति प्रतिष्ठान, काठमाडौंले चाइल्ड सपोर्ट अर्गनाइजेशन जापानका प्रतिनिधिहरूलाई लिएर पर्सा जिल्लाका दलित विद्यार्थीहरू अध्ययनरत सामुदायिक विद्यालयहरू र उनीहरू बसोबास गर्ने बस्तीको अनुगमन गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here