प्रस, जीतपुर, २५ चैत/
साविक विजेता चर्च ब्वाइज युनाइटेड क्लबलाई इन्ज्युरी समयमा स्तब्ध पार्दै सलहेश युवा क्लब सिराहा जगदम्बा स्टील १४औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतवार राति सिमरा रङ्गशालामा भएको प्रतिस्पर्धात्मक खेलको अन्तिम समयमा गोल गर्दै सिराहाले ‘ए’ डिभिजन क्लब चर्च ब्वाइजविरुद्ध रोमाञ्चक जीत दर्ता ग-यो । खेलको १४औं मिनेटमा सिराहाका लागि आशिष चापागाईंले गोल गर्दै अग्रता दिलाएका थिए ।

पहिलो हाफ आफ्नो पक्षमा पारेको सिराहाविरुद्ध चर्च ब्वाइजले खेलको ५१औं मिनेटमा बराबरी गोल ग-यो । चर्च ब्वाइजका राजेश परियारले बराबरी गोल गर्दै टीमलाई खेलमा फर्काए पनि केहीबेरमैं आत्मघाती गोलका कारण चर्च ब्वाइज पुनः २–१ गोलअन्तरले पछाडि प-यो । चर्च ब्वाइजका डिफेन्डर एकराज बुढाथोकीले बल क्लियर गर्न खोज्दा गरेको गलतीले बल गोलमा परिणत भएको थियो । खेलको ६३औं मिनेटमा आत्मघाती गोलका कारण चर्च ब्वाइज पुनः पछि परेको थियो ।

अनुभवी खेलाडीले भरिएको चर्च ब्वाइजले पनि आत्मघाती गोलको फाइदा लिंदै बराबरी ग-यो । खेलको ७३औं मिनेटमा सिराहाका कप्तान कुलदीप कार्कीले गोल लाइनबाट क्लियर गर्न खोजेको बल गोलमा परिणत हुँदा चर्च ब्वाइज खेलमा फर्किएको थियो । खेलको अन्तिम समयमा बराबरी गोल भएपछि चर्च ब्वाइजको समर्थनमा रहेका दर्शकको हुटिङ स्मरणीय थियो ।

अन्तिम समयमा भएको बराबरीपछि निर्धारित समयमैं खेल आफ्नो पक्षमा पार्न दुवै टीमले आक्रामक खेल खेलेका थिए । तर इन्ज्युरी समयको अन्तिम मिनटमा गोल गर्दै सिराहाले चर्च ब्वाइजलाई स्तब्ध बनायो । सिराहाका लागि शिशिर लेखीले दोस्रो हाफको पाँच मिनेटको इन्जुरी समयको अन्तिम मिनेटमा गोल गरेका थिए । केही सेकेन्ड बाँकी छँदा गोल भएपछि सिराहाका प्रशिक्षक राजीवकुमार यादव उत्साहित हुँदै मैदानभित्रै प्रवेश गरेका थिए ।

खेलको ‘म्यान अफ दी म्याच’ सिराहाका शिशिर लेखी घोषित भए । उनले १० हजार नगदसहित ट्रफी प्राप्त गरे । शुभारम्भ कलेज अफ म्यानेज्मेन्ट सिमराका प्रमुख शम्भु मण्डलले उनलाई पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगिता अन्तर्गत सोमवार सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लब र मकवानपुर–११ हेटौंडाबीच खेल हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here