प्रस, वीरगंज, २४ चैत/
राष्ट्रिय खोप कार्यक्रमको समीक्षा तथा सूक्ष्म योजना अद्यावधिक पूर्ण खोप घोषणा र दिगोपनसम्बन्धी दुई दिने अभिमुखीकरण गोष्ठी शनिवार सम्पन्न भएको छ । पटेर्वासुगौली गाउँपालिकामा पर्सा जिल्लाका चारवटा पालिकाको सहभागितामा आयोजित राष्ट्रिय खोप कार्यक्रमको समीक्षा तथा सूक्ष्म योजना अद्यावधिक पूर्ण खोप घोषणा र दिगोपन दुई दिने अभिमुखीकरण कार्यक्रमको समापन समारोहका प्रमुख अतिथि पटेर्वासुगौली गापा स्वास्थ्य शाखा संयोजक भुजेन्द्र यादवले जिल्ला स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्यकर्मी कर्मचारीहरू अहोरात्र खटेर स्वास्थ्य सेवामा राम्रो नतीजा आएको बताए ।
उनले आगामी २०८१ जेठ ३ गते पूर्ण खोप जिल्ला घोषणा कार्यक्रमलाई सफल बनाउन आग्रह गर्दै सरसफाइ प्रवर्धन कार्यक्रम खोप सेसन अनिवार्य सञ्चालन गर्नको अनुरोध गरे ।
सरसफाइको व्यवहार परिवर्तनले झाडापाखाला, टाइफाइड जस्ता रोगमा कमी हुने भएकोले प्रभावकारीरूपमा लाग्न सबैलाई सुझाव दिए । अहिले नेपालमा नियमित खोपमार्फत रोटा खोप र टाइफाइड खोप दिने गरेको छ । तर सरसफाइको व्यवहारमा परिवर्तन भयो भने खोप आवश्यक नपर्ने जसको लागि सरसफाइ प्रवर्धन कार्यक्रम खोप सेसनसँग जोडिएर सञ्चालन गर्न उनले मातहतका स्वास्थ्यकर्मीहरूलाई निर्देशन पनि दिए ।
कार्यक्रममा चारवटा पालिकाको स्वास्थ्य शाखा संयोजक तथा पालिकाका स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले बताए । कार्यक्रममा अधिकृत मल्लिका श्रेष्ठको सहयोगमा स्वास्थ्यकर्मीहरूलाई सरसफाइ व्यवहारबारे रमा र उमाको कथामा आधारित नाटकसमेत प्रदर्शन गरिएको थियो ।
स्वास्थ्य कार्यालय पर्साका प्रमुख डा मुक्तिनारायण साहको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले गरेका थिए ।
ठाकुरले शनिवार पहिलो चरणको गोष्ठी सम्पन्न भएको र यसपछि जिल्लाका ११२ वटा वडाका स्वास्थ्य संस्था प्रमुखसहित पालिका संयोजकको सहभागितामा कार्यक्रम चार चरणमा समापन गर्ने लक्ष्य रहेको जानकारी गराउँदै आज पहिलो चरणमा छिपहरमाई, जीराभवानी, पटेर्वासुगौली गाउँपालिका र पर्सागढी नपाका संयोजक र स्वास्थ्य संस्था प्रमुखको सहभागितामा कार्यक्रम गरेको बताए ।