• बैद्यनाथ श्रमजीवी
यतिबेला हाम्रो समाजमा सबैभन्दा चिन्ता र चासोको विषय भ्रष्टाचार रहेको छ । भ्रष्टाचार भन्ने चीज संसारको सबै देशमा व्याप्त छ । यसको अनुपात कहीं थोरै कहीं धेरै होला, तर भ्रष्टाचारशून्य संसारमा कुनै पनि देश छैन । जहाँसम्म नेपाली समाजको कुरो छ, जनताको इच्छा भ्रष्टाचारमुक्त शासन प्रशासन नै हो । यसका लागि जनताले सकेजति सबै प्रकारको त्याग बलिदान गरेकै हो । आपूmलाई असली, एक नम्बरी क्रान्तिकारी भन्नेहरूलाई पनि पटकपटक सत्तामा पु-याएकै हो ।
तर जनताको सुशासनको इच्छा सपना नै रह्यो । साँच्चै भन्ने हो भने जतिबेला नेपाली काङ्ग्रेस सामन्ती राणाशासनविरुद्ध क्रान्तिकारी भूमिकामा थियो जनताले काङ्ग्रेससँग विकास, समृद्धि र सुशासनको निकै अपेक्षा गरेका थिए । तर जसरी काङ्ग्रेसीहरूले पञ्चहरूसँग मिलेर जनतालाई धोका दिए, त्यसैगरी काङ्ग्रेससँग मिलेर यतिबेला कम्युनिस्टहरूले पटकपटक जनतालाई धोका दिएका छन् । अर्थात् भ्रष्टाचारको मामिलामा नेपालको संसद्मा भएका सबै पार्टी एउटै ड्याड्ढा मुलाजस्तै देखिएका छन् ।
एउटा पुरानो उखान छ – जसको लागि भिन्न भएँ त्यही प-यो अंशभागमा । अर्थात् आजका प्रतिष्ठित नेताहरू जो क्रान्तिकारी छवि भएका छन् तिनकै सन्तान अनेकौं भ्रष्टाचार, तस्करी तथा कमिशनजस्ता दुई नम्बरी कारोबारमा संलग्न भएको दुनियाँले देख्न पाउँदा, योभन्दा लज्जास्पद कुरा के होला, कथित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको लागि । जून व्यवस्थाको हाइ प्रोफाइल लिडरहरू र तिनका घरपरिवार भ्रष्टाचारमा संलग्न देखिन्छन् त्यो व्यवस्थाले कस्तो किसिमको सुशासन ल्याउला ? यो सबैले स्वतः बुझ्ने कुरा हो । पूँजीपतिहरूको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नारा नै छ – पूँजीले किन्न नसकिने के छ र ? संसारमा मान्छेको इमानदेखि सम्पूर्ण कुरा किनबेच भइरहेको हामी आप्mनै चारैतिर सजिलै देख्न सक्छौं । आउनुस् एकैछिन भ्रष्टाचारबारे चर्चा गरौं–
मानव समाजमा खासगरी जङ्गली अवस्थाको उत्तरार्धमा जब निजी सम्पत्तिको शुरूआत भयो तबदेखि नै व्यवहारमा भ्रष्टाचारको बीउ हालियो । त्यो बेला हालिएको बीउ चार चरण पार गरेर पूँजीवादसम्म आइपुग्दा भ्रष्टाचारको बिरुवा बाक्लो जङ्गलको रूपमा, आठ अर्ब मान्छेबीच डरलाग्दो अवस्थामा देखिएको छ । भ्रष्टाचार नामको अचार यति मीठो छ कि जोगी सन्न्यासीदेखि किसान, अदालत, मजदूर, सेना सबै वर्ग, तह, तप्काले औंला चाटीचाटी, जिब्रो पड्काइपड्काई खाने गरेको सजिलै देखिन्छ । वास्तवमा भ्रष्टाचार सार्वजनिक जीवनमा स्वीकृत मूल्यविरुद्धको आचरणलाई मानिन्छ । जनजीवनमा यसलाई आर्थिक अपराधसित जोडिन्छ । भ्रष्टाचार बेइमानी वा अपराधको एउटा रूप हो, जसमा एउटा व्यक्ति वा सङ्गठनले प्राप्त गरेको अधिकारबाट अवैध लाभहरू प्राप्त गर्न शक्तिको दुरुपयोग गर्दछ । यसरी हेर्दा भ्रष्टाचारमा धेरै गतिविधि समावेश हुन्छ, जसमा घूसखोरी, प्रभावको कारोबार र अपचलन आदि प्रमुख छन् ।
राजनीतिक भ्रष्टाचार, एउटा कार्यालय प्रमुख वा अन्य सरकारी कर्मचारीले व्यक्तिगत लाभको लागि काम गरिरहेका हुन्छन् । यसबारे संयुक्त राष्ट्रसङ्घको पनि अनुभव के छ भने भ्रष्टाचार र अपराध सामाजिक घटना हुन् जुन विश्वव्यापीरूपमा लगभग सबै देशमा विभिन्न अनुपातमा नियमित देखा पर्दछ । हालैका तथ्याङ्कले भ्रष्टाचार बढ्दै गएको देखाउँछ । प्रत्येक राष्ट्रले भ्रष्टाचारको नियन्त्रण र नियमन र अपराध रोकथामका लागि आन्तरिक स्रोत विनियोजन गर्दछ । भ्रष्टाचारविरुद्ध लड्नका लागि स्थापित रणनीतिहरूलाई प्रायः भ्रष्टाचार विरोधी शब्दको रूपमा प्रस्तुत गरिन्छ । तर भ्रष्टाचार घट्नुको सट्टा दिनानुदिन बढ्दै गएको देखिन्छ खासगरी गरीब, अशिक्षित तथा विकासोन्मुख देशहरूमा ।
भ्रष्टाचारलाई कसरी परिभाषित गर्ने भन्ने सवाल पनि महत्वपूर्ण छ । यस अर्थमा विभिन्न व्यक्ति तथा संस्थाहरूले भ्रष्टाचारलाई आआप्mनै किसिमले परिभाषित गर्ने गरेको देखिन्छ । कुनै पनि ब्याक्तिले आफ्नो पदीय मर्यादा विपरीत गर्ने सबै किसिमका गैरकानूनी र अनैतिक क्रियाकलापलाई भ्रष्टाचार भनिन्छ भने सार्वजनिक पदमा रहेका व्यक्तिले आपूmमा निहित शक्ति र अधिकार व्यक्तिगत हित वा फाइदाका लागि प्रयोग गर्नु पनि भ्रष्टाचार नै हो । विश्व बैंकका अनुसार व्यक्तिगत फाइदाको लागि सार्वजनिक ओहदा र शक्तिको दुरुपयोग गर्नु भ्रष्टाचार हो । ट्रान्सपरेन्सी इन्टरनेशनलका अनुसार सार्वजनिक क्षेत्रमा, राजनीतिक वा प्रशासनिक क्षेत्रमा नियुक्त व्यक्तिले विश्वास वा सुम्पिएको कार्यको गलत र गैरन्यायिक प्रयोग गर्नु पनि भ्रष्टाचार हो ।
नेपालको भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २(क)मा ‘भ्रष्टाचार’ भन्नाले परिच्छेद–२ अन्तर्गत सजाय हुने कसूर सम्झनुपर्छ भनी उल्लेख गरेको पाइन्छ । भ्रष्टाचारीहरूलाई कारबाई नगरिएको पनि होइन, तर भ्रष्टाचारमा ठूलो माछा र सानो माछाको चर्चा प्रायः चलिरहन्छ । जहिले पनि ठूलो माछा उम्किने र सानो माछा समातिने गरेको यथार्थ सबैलाई अनुभूत छ । यस्तोमा प्रश्न उठ्छ आखिर तलदेखि माथिसम्म भ्रष्टाचार मौलाउनुको मुख्य कारण के हो ? एउटा घरपरिवारदेखि, समाज, सरकारी कार्यालयसम्म पुग्दा भ्रष्टाचार कसरी हुन्छ ? यसको वातावरण कसरी मिल्छ ? कसरी यति सहज ढङ्गले सबैतिर भ्रष्टाचारको वातावरण तयार हुन्छ भन्ने प्रश्नमा घोत्लिंदा हामी के पाउँछौ भने कामकाजमा पारदर्शिताको अभाव नै मुख्य कारण हो । जसरी एउटा घरभित्र मुख्य गार्जियनले सबै आर्थिक कारोबार गर्ने गर्छ । उनले कहिले पनि परिवारको सदस्यसामु आर्थिक आय र व्यय के कस्तो भयो भन्ने कुराको वार्षिक वा आवधिक जानकारी दिन आवश्यक ठान्दैन । हो यही वातावरण हो, जसमा भ्रष्टाचार सजिलै हुर्किने र फैलने गर्छ । यही कुरा समाजभित्र समाजका अगुवाहरूले गरिरहेका हुन्छन् । उनीहरू पनि कहिले समाजलाई आयव्ययको हिसाब दिंदैनन् ।
ठीक त्यसैगरी सरकारी कार्यालयहरूमा हाकिम र एकाउन्टेन्टको मिलेमतोमा सबै भ्रष्टाचार भइरहेको हुन्छ । अन्य कर्मचारीले पत्तै पाउँदैनन् । त्यसैगरी मन्त्रालयहरूमा मन्त्री र सचिव स्तरमा यो कर्म सम्पन्न भइरहेको हुन्छ । यसर्थ हामी भन्न सक्छौ जबसम्म मानव जीवनमा आर्थिक कारोबार पारदर्शी रूपले गरिंदैन तबसम्म भ्रष्टाचार जन्मिने र झाँगिने वातावरण कायम रहन्छ । यसर्थ साँच्चै भ्रष्टाचार समाप्त गर्ने हो भने सबै आर्थिक कारोबार पूर्णतः पारदर्शी तरीकाले गर्ने बाध्यकारी अवस्था ल्याउनुपर्छ ।
अर्को प्रमुख कारणतिर विचार गर्दा हाम्रो समाजमा कोही पनि आफ्नो कामप्रति उत्तरदायित्व लिने तथा जवाफदेहिताको अभिभारा बुझ्ने देखिंदैन । सबैले आफ्नो जिम्माको कामकाज अर्काको टाउकोमा खन्याएर चोखिने गरेको देखिन्छ । यस्तोमा आपूmले जति जे गरे पनि आखिर जिम्मेवारी नलिने र अरूतिर औला तेस्र्याएर दोष देखाउँदै चोखिने प्रवृत्तिले पनि भ्रष्टाचारलाई बढावा दिइरहेको छ । त्यसैले आर्थिक जवाफदेहिता र उत्तरदायित्वको किटानी गर्न जति जरूरी छ त्यति नै जरूरी सो कार्य गरे नगरेको यकीन गर्न नियमित अनुगमन तथा सो अनुसार दण्ड पुरस्कार पारदर्शी किसिमले स्पष्ट मापदण्ड बनाएर गरिनुपर्छ ।
हाम्रो समाजमा सबैजना एकातर्फ पैसाको पछाडि भागेका छन् भने अर्कोतर्फ कुनै पनि व्यक्तिको समाजिक मूल्याङ्कनको आधार पैसा भएपछि समाजमा जसरी पनि पैसा कमाउने अस्वस्थ प्रतिस्पर्धा चल्नु स्वाभाविक छ । यसले गर्दा सबैजना पैसा कमाउने उपायलाई गोप्य राख्छन् । त्यसलाई खुला वा पारदर्शी बनाउँदैनन् । तसर्थ हामी के देख्छौं भने भ्रष्टाचारी हरूको सबै कामकुरा अति गोप्य हुन्छ । उनीहरू आप्mनो गोपनीयता खोल्दैनन् । भूटानी प्रक्रिया होस् वा पशुपतिको सुनको जलहरी अथवा ललिता निवास वा सुन तस्करी सबै कामकुरा अतिगोप्य ढङ्गले गरिएको देखिन्छ । तर जब कतैबाट भागबण्डा नमिलेर भ्रष्टाचारीहरूको बीचमा फाटो पर्छ अनि गोपनीयता भङ्ग हुन्छ र भ्रष्टाचार छताछुल्ल भएर सडकमा पोखिन पुग्छ ।
यस्तोमा सडकबाट न्यायालयसम्म कतिपय मामिलामा यस्ता भ्रष्टाचारका मुद्दाहरू पुगे पनि उच्च स्वविवेकीय अधिकारको कारणले यस्तो मुद्दाहरूले दोषीलाई मुक्ति दिने गरेको पनि देखिन्छ । वास्तवमा यो पनि एक प्रकारको भ्रष्टाचार नै हो । स्पष्ट ऐन तथा कानूनी व्यवस्थाको अभावले गर्दा भ्रष्टाचारीहरू कारबाईको घेराबाट सजिलै उम्कन्छन् । यसले गर्दा एकातर्फ देशको राजनीति, भागबण्डामा चल्ने, सहमतिमा हुर्कने र अनैतिक गठबन्धन बन्ने परम्पराले गर्दा विद्यमान कानूनी व्यवस्थाको प्रभावकारी प्रयोग समेत भ्रष्टाचारको मुद्दामा नभएको देखिन्छ । अर्कोतर्फ सम्पत्ति नै सबै कुरा हुने मनोविज्ञान समाजभित्र बलियो भएकोले भ्रष्टाचारीहरूलाई हाम्रो समाजले नराम्रो देख्ने, बहिष्कार गर्ने र तुच्छ बुझ्ने मनोविज्ञान अझै बनिसकेको छैन । अर्थात् यस्तोमा भ्रष्टाचारले सामाजिक संरक्षण एवं प्रोत्साहन सजिलै पाइरहेको छ ।
नियमित अनुगमनको अभाव र अनुगमन गर्ने संस्था स्वतन्त्र नभएको, माथिल्लो निकायबाट प्रभावितसमेत हुने गरेको आदि कारणले दण्ड र पुरस्कारको प्रणाली नै भ्रष्टाचारयुक्त भएर अनियमितता बढिरहेको सबैलाई अनुभूत भएकै कुरा हो । वास्तवमा निजी सम्पत्तिप्रति बढ्दै गएको खतरनाक लगाव नै भ्रष्टाचारको प्रमुख कारण हो भन्दा फरक नपर्ला । सबै तह, तप्का, वर्ग सम्पत्ति कमाउने धन्धामा लागेका छन् । भ्रष्टाचार नियन्त्रण गर्ने निकाय पनि सबैभित्र पर्छ र त्यो पनि सम्पत्ति कमाउनेमैं व्यस्त भएपछि कसले कसलाई कसरी कारबाई गर्ने ? यो नै आजको यक्ष प्रश्न हो ।
संशोधन (गत शनिवारको वैद्यनाथ श्रमजीवीको लेख ‘२३ मार्च : अन्तर्राष्ट्रिय नास्तिक दिवस…’ मा कुन देशमा कति नास्तिक छन् भन्ने परिच्छेदमा सङ्ख्या प्रतिशतमा हुनुपर्नेमा ५ हुन गएको छ –सम्पादक)